Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

योग र साधनाले गुञ्जियो विराटनगर

उद्‌घोष संवाददाता
१५ चैत २०८२, आइतवार

Advertisement

विराटनगर । विश्वभर योग, ध्यान र आयुर्वेदको क्रान्ति ल्याउने अभियानका प्रणेता स्वामी रामदेवको सन्यास दिवसको अवसरमा विराटनगरका विभिन्न योग साधना केन्द्रहरूमा विविध कार्यक्रम सम्पन्न भएका छन्।

मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव (राम नवमी) को पावन दिनमा स्वामी रामदेवले सन्यास लिएको पुण्य तिथिलाई स्मरण गर्दै साधकहरूले गुरु महिमा र भक्तिगानका साथ यो दिवस मनाएका हुन्।

स्वामीजीको योगदान अतुलनीय: शोभा कोइराला

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति योग ध्यान केन्द्रमा आयोजित विशेष समारोहमा स्वामी रामदेवको विश्वव्यापी योगदानबारे चर्चा गरियो।

कार्यक्रममा पतञ्जली योग समिति कोशी प्रदेशका सचिव शोभा कोइरालाले भनिन्, "नेपाल, भारत लगायत विश्वभर सभ्य र स्वस्थ समाज निर्माणमा स्वामीजीले पुर्‍याउनुभएको योगदान अतुलनीय छ।"

सो अवसरमा पतञ्जली योग समिति विराटनगरका महानगर अध्यक्ष माधव अधिकारी, महिला जिल्ला सदस्य निलम आचार्य र महानगर सदस्य राम कोइराला लगायत योग शिक्षक तथा साधकहरूको उपस्थिति थियो। कार्यक्रममा श्रद्धापूर्वक गुरुभक्ति भजनहरू समेत प्रस्तुत गरिएको थियो।

हरिद्वारको अनुभव: योगको वैश्विक प्रभाव

हालै हरिद्वारमा सम्पन्न सप्ताहव्यापी मुख्य योग प्रशिक्षक तालिम पूरा गरी फर्किएका प्रशिक्षकहरू लक्ष्मी अधिकारी, जमुना लुइँटेल र यमुना कोइरालाले कार्यक्रममा आफ्ना अनुभव सुनाएका थिए।

स्वामी रामदेव र आचार्य बालकृष्णको संकल्पले हरिद्वारमा भएको अभूतपूर्व विकास र योगको वैश्विक प्रभाव देखेर आफूहरू चकित परेको उनीहरूले बताए।

विभिन्न केन्द्रहरूमा उत्सव

त्यसैगरी, विराटनगर–१ स्थित महेन्देश्वर शिवालय योग साधना केन्द्रमा पनि स्वामी रामदेवको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी सन्यास दिवस मनाइयो।

योग शिक्षक माया भट्टराईले गुरुभक्ति भजन प्रस्तुत गरिएकाे सो कार्यक्रममा पतञ्जली योग समिति विराटनगरका महासचिव धनबहादुर (डीबी) बस्नेत लगायत अन्य शिक्षक एवं साधकहरूको उपस्थिति थियो।

विराटनगरका अन्य विभिन्न साधना केन्द्रहरूमा पनि बाबा रामदेवको सन्यासले विश्वमा पारेको सकारात्मक प्रभाव र योगको महत्त्वबारे चर्चा गर्दै दिवस मनाइएको पतञ्जली योग समिति महिला महानगर अध्यक्ष कुमारी तामाङले जानकारी दिइन् ।

View : 419

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved