Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ग्रामथानका अध्यक्षले फरक मत राख्ने उपाध्यक्ष र वडाध्यक्षको गाडीको चाबी खोसे

उद्‌घोष सम्वाददाता
२० फागुन २०८१, मङ्गलवार

विराटनगर । आफूले अघि सारेको प्रस्तावमा असहमति जनाएको भन्दै मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र एक जना वडाध्यक्षको गाडीको चाबी खोसेका छन् । 

मङ्गलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । 

"दुइटा प्रस्तावमा हामीले असहमति जनाएपछि अध्यक्षले प्रस्तावमा सहमती नजनाउने भए गाडी खोस्छु भनेर धम्की दिदै चाबी खोसेका हुन्" उनले भनिन् "अब हामी गाडी चढ्दैनौं, अब अध्यक्षलाई पनि गाडी चढन दिदैनौं ।" 

उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा  एमालेर काङ्ग्रेसका जनप्रतिनिधिले असहमति जनाएका थिए । 

अध्यक्ष माझी मङ्सिरको उपनिर्वाचनबाट माओवादी केन्द्रबाट उमेदवार बनेर जितेका थिए । माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको बाइकको चाबी पनि खोसेका छन् । 

ग्रामथानमा कांग्रेस र एमाले निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् । गाउँ कार्यपालिकामा कांग्रेस–एमालेको बहुमत छ ।

बक्राहासहितका खोलाबाट अवैध उत्खनन् गराउन अध्यक्षको मिलेमतो रहेको उनीहरुको आरोप छ। 

उपाध्यक्ष चौधरीले भने अध्यक्षको मनोमानी बढेको बताएकी छन् । 

"उहाँ गाउँपालिका मेरो हो भन्नुहुन्छ, म चुनावबाट आएको तिमीहरु झ्यालबाट आएको भन्नुहुन्छ", उपाध्यक्ष चौधरीले भनिन् "उहाँको दादागिरी धेरै भयो।" 

अध्यक्ष माझीले यस अघि अबैध उत्खनन् रोक्न भन्ने प्रमुख प्रशासकीय अधिकृतलाई  स्पष्टीकरण सोधेका थिए भने केही दिन अघि मात्रै आफूखुसी कार्यपालिका बैठक गरेर निर्णय गरेका थिए । उपाध्यक्ष चौधरी अदालत गएपछि उनको निर्णय कार्यान्वयन नगर्न आदेश भएको थियो ।

अध्यक्ष माझीलाई यसबारे सोध्न फोन गर्दा उनले कुरा गर्न चाहेनन् ।

View : 466

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved