विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ र ७ को सीमानामा पर्ने बोरिङ टोलमा मंगलवार भएको आगलागीबाट पीडित परिवारलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाले राहत सामग्री उपलब्ध गराएको छ ।
बुधबार विराटनगरबाट गएको संघको पदाधिकारीसहितको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा भुजा, चाउचाउ, बिस्कुट, झुललगायतका राहत सामग्री वितरण गरेको हो ।
संघले विद्यालय जाने विद्यार्थीलाई कपी, डटपेन, पेन्सिलजस्ता शैक्षिक सामग्री समेत उपलब्ध गराएको छ ।
नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत अग्निपीडित परिवारहरूलाई राहत सामग्री उपलब्ध गराइएको बताए ।
संघले उक्त राहात सामग्री कोशी प्रदेशसभाका सदस्य गयानन्द मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार, ६ नम्बर वडाध्यक्ष मो.हुसेनलाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।
एनसीडीए मोरङले हस्तान्तरण गरेको राहत सामग्री बुझ्दै धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले दुखको घडीमा अग्निपीडितहरूलाई राहत सामग्री सहयोग गरेकोमा धन्यवाद दिंदै विपत्तिको समयमा सबै नेपाली एक हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।
विभिन्न संघसंस्था, सामाजसेवी र सरकारी निकायबाट उपलब्ध हुने राहत सामाग्रीहरू अग्निपीडित परिवारलाई उनीहरूको परिवार संख्याका आधारमा आवश्यकता हेरेर समान रुपले वितरण गरिने उनले प्रतिबद्धता जनाए ।
अग्निपीडित इर्साद मियाले आगलागीबाट आफूहरूको घर, गोठसँगै सम्पूर्ण सम्पत्ति नष्ट भएको र अहिले आश्रयको लागि मस्जिदमा बसिरहेको जानकारी दिदै अग्निपीडितको वासस्थानका साथै खाने लाउने सामाग्री सहयोग गरिदिन आग्रह गरे ।
आगलागीबाट स्थानिय मो. हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको मृत्यु हुनाको साथै १२ घर परिवारका १६ वटा घर र छाप्रा जलेर नष्ट भएका थिए । जसबाट ४० जना भन्दा बढी विस्थापित हुन पुगेका छन् ।
View : 562
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved