Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशको बैठकबाट कारवाही गर्न नसकेपछि काठमाडौंबाटै निर्णय गरेर रास्वपा कोशी अध्यक्ष तिम्सिना निलम्बित (पत्रसहित)

उद्‌घोष सम्वाददाता
४ माघ २०८१, शुक्रवार

विराटनगर । पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीमा फर्काउने पक्षमा बोलेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

उनलाई कारवाही गर्न भन्दै सुनसरीको इटहरीमा बैठक बोलाइएको प्रदेश समितिको बैठकको तयारी बिफल भएपछि रास्वपाको अनुशासन समितिका संयोजक डा. भरत मणि देवकोटाले काठमाडौं पुगेर तिम्सिनालाई निलम्बनको पत्र थमाएका हुन् ।

तिम्सिनाले साधारण सदस्यबाटै निकालिएका पुर्व महामन्त्री ढकाललाई पुर्ववत् जिम्मेवारीमा फर्काउन माग गरेका थिए । त्यसबारे उनले पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र समेत लेखेका थिए । सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले कारवाहीको प्रक्रिया अघि बढाएको थियो ।

अनुशासन आयोगका संयोजक देवकोटाले नै प्रदेश सभापति तिम्सिनामाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको निलम्बनसम्बन्धि पत्रमा उल्लेख गरेका छन् । आफुलाई निलम्बन गरिएको जानकारीयुक्त पत्र शुक्रबार प्राप्त गरेको तिमिल्सिनाले बताए । 

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरु, पदाधिकारीहरु तथा जिल्ला सभापतिहरुले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मुल्यांकन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ’ तिमिल्सिनालाई निलम्बनसम्बन्धि थमाइएको पत्रमा उल्लेख छ ।

यसअघि तिम्सिनामाथि बैठकबाटै कारवाही गर्ने गरी अनुशासन समितिका संयोजक देवकोटा इटहरी आएका थिए । तर रास्वपाका दुई तिहाई प्रदेश सदस्यहरूले त्यसमा असहमति जनाउँदै बैठकमा अनुपस्थिति जनाएका थिए । तिम्सिनामाथि कारवाही गर्न नसकिने भएपछि देवकोटा काठमाडौं फर्किएका थिए ।

रास्वपा स्रोतका अनुसार उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका १३ जना मात्रै सहभागी भएपछि कोरम नपुगेर कोशी प्रदेश समितिको बैठक नै रोकिएको थियो ।

 

View : 527

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved