Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कटहरीमा लोकसेवा तयारी कक्षा सम्पन्न

उद्‌घोष संवाददाता
२ वैशाख २०८३, बुधवार

कटहरी गाउँपालिकाद्वारा आयोजित ४५ दिने लोकसेवा तयारी कक्षाको समापन कार्यक्रममा सहभागी युवाहरूका साथ गाउँपालिका अध्यक्ष देवराज चौधरीलगायत । तस्वीर : नवीन/उद्घोष

कटहरी । कटहरी गाउँपालिकाका युवाहरूलाई लक्षित गरी सञ्चालित ४५ दिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा एक विशेष समारोहका साथ समापन गरिएको छ । 

गाउँपालिकाको लगानी र विराटनगरस्थित एमिटी इन्स्टिच्युटको प्राविधिक सहकार्यमा सञ्चालित सो कक्षामा ३० जना शिक्षित युवायुवतीहरूको उत्साहजनक सहभागिता थियो ।

गाउँपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले युवाहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न र उनीहरूलाई रोजगारीका अवसरमा सहज पहुँच पुर्याउन सो लगानी गरिएको बताए । 

उनले भने, ‘हामीले स्रोत र साधनको लगानी युवाहरूको भविष्यका लागि गरेका हौं । जब तपाईंहरू लोकसेवाको विज्ञापनमा सफल भएर सरकारी सेवामा प्रवेश गर्नुहुनेछ, तब मात्र गाउँपालिकाको यो प्रयास र लगानी सार्थक हुनेछ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले एसईई र सोभन्दा माथिको शैक्षिक योग्यता भएका विद्यार्थीहरूलाई छनोट गरी सहायक स्तरको तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए । 

स्थानीयस्तरमै दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण पाउँदा युवाहरूमा नयाँ आत्मविश्वास पलाएको अधिकृत चौधरीले बताए ।

प्राविधिक साझेदार एमिटी इन्स्टिच्युटका सञ्चालक रामनरेश यादवले सहभागी युवाहरूलाई ४५ दिनको अवधिमा लोकसेवाका आधारभूत र महत्वपूर्ण पक्षबारे जानकारी गराइएको बताए । 

उनले कक्षा सकिए पनि भविष्यमा आवश्यक पर्ने प्राविधिक तथा शैक्षिक सहयोगका लागि इन्स्टिच्युट सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अवसरमा सहभागी सबै ३० जना युवायुवतीहरूलाई लोकसेवा परीक्षाका लागि निकै उपयोगी मानिने सामान्य ज्ञानको पुस्तकसमेत निःशुल्क वितरण गरिएको थियो । 

गाउँपालिकाको यो कदमले निजी स्तरमा चर्को शुल्क तिरेर तयारी गर्न नसक्ने जेहेन्दार विद्यार्थीहरूका लागि निकै ठूलो राहत मिलेको सहभागी विद्यार्थीहरूले बताएका छन् ।

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved