Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

खानेपानीको चुनावमै हामी रुमल्लियौं : महासचिव पोखरेल

उद्‌घोष सम्वाददाता
४ फागुन २०८१, आइतवार

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र गुटगत नेतृत्वको आकांक्षा बढेका कारण आफ्नो मत रक्षा गर्न नसकेको बताएका छन् । 

शनिबार नेकपा एमाले विराटनगर महानगर कमिटीले सुरु गरेको जरा केन्द्रित अभियानको उद्घाटन गर्न विराटनगर आएका महासचिव पोखरेलले पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिएर सफलता हासिल गरे पनि स्थानीय नेता कार्यकर्तामा आकांक्षा बढेका कारण पार्टी नीतिको कार्यन्वयनमा एकता नदेखिएको बताए ।

उनले एमाले मोरङ जिल्ला कमिटीले पार्टीले यसअघि संचालन गरेको मिसन ग्रासरुट अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको गुनासो गरे । उनले अघिल्लो निर्वाचनमा पार्टीको मत रक्षा गर्नुपर्ने जिम्मेवारी मोरङको नेतृत्वबाट नभएको बताए । 

पार्टीका नेताहरू कोशी प्रदेश अधिवेशन र खानेपानी (मानगढ खानेपानी) को चुनावतिर लाग्दा पार्टी नै आपसी समस्यामा रुमल्लिएको बताए ।

‘यसरी त गुटको नेता बन्न सकिएला, देश र पार्टीको नेता बन्न सक्दैनौं’ महासचिव पोखरेलले भने, ‘पार्टीमा नीति र नेतृत्वको कुनै पनि समस्या छैन तर खानेपानी चुनावमा हामी रुमल्लियौं ।’ 

मोरङमा मिसन ग्रासरुट अभियान समेत एक महिनापछि सुरु भएको भन्दै असन्तुष्टि जनाए । विराटनगर एमालेका लागि प्रतिष्पर्धी बलियो भएको ठाउँ भएकोले सवैजना पार्टी निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

महासचिव पोखरेलले नेकपा कालमा पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई अन्तरविरोधमा प्रवेश गराएर माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोजेका कारण बामपन्थीहरूको एकता हुन नसकेको बताए । 

त्यही अन्तरविरोधलाई टेकेर झलनाथ खनाल र माधव नेपालले षडयन्त्रपूर्वक पार्टी विभाजन गरेको आरोप लगाए । उनले एमालेलाई जनताको रोजाईको पहिलो पार्टीका रुपमा स्थापित गराउन जरा केन्द्रित अभियानमा सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा आयोजित अभियानको उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, जिल्ला कमिटीका सचिव रविन थापा, प्रदेश कमिटी सदस्य एवं महानगर कमिटीका इन्चार्ज पर्शुराम बस्नेत लगायतले शुभकामना दिएका थिए ।

View : 236

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved