Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

उद्‌घोष संवाददाता
२३ जेठ २०८३, शनिवार

खोटाङ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ ।

शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका बस, सुमो र मोटरसाइकल यात्री समस्यामा परेका छन् ।

नगर उपप्रमुख विशन राईले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरूलाई आग्रह गरिएको बताए ।

सडक खुलाउन नगरपालिकाले डोजर तथा स्काभेटरसहित कामदार परिचालन गरेको उहाँले जानकारी दिए ।

नगरपालिका–९ का वडाध्यक्ष दिनेश कठायतले बाढीले पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५÷३० मिटर सडक अवरुद्ध बनाएको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले अवरुद्ध सडक खुलाउन प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको बताए ।

पङ्खुखोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी ठेकेदारले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।

पङ्खुखोला मोटरेबल पक्की पुल अलपत्र भएको अवस्थामा श्रम संस्कृति पार्टीमा आबद्ध श्रमदाताले यही जेठ १७ गते अटो तथा मोटरसाइकल वारपार गराउने मिल्नेगरी पार्टी काठे पुल निर्माण गरेका थिए ।

बाढीले उक्त पुलसमेत बगाएपछि पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।

गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले ‘ब्रेकर’ बगाएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडको सीमानामा पर्ने साप्सुखोला किनारमा निर्माण व्यवसायीले ढु‌ंगा फुटाउन प्रयोग गर्दै आएको ‘ब्रेकर’ बगाएको हो ।

भीषण वर्षपछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

विसं २०६४ मा यहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सेवा सुरु गरिएको थियो ।

हाल जिल्लाका सबैजसो ठाउँमा यातायात सेवा विस्तार भएको छ, तर दश स्थानीय तह रहेको यस जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिना मात्रै सञ्चालन हुने गरेका छन् ।

यहाँ हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म समस्या हुने गरेको खोटाङ यातायात प्रालिका महासचिव हिङमाङले बताए ।

View : 61

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved