Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

क्यान्सरसँग जुधिरहेका शिक्षक एवं राजनीतिक व्यक्तित्व राम ढकालको निधन

उद्‌घोष संवाददाता
२७ चैत २०८२, शुक्रवार

Advertisement

विराटनगर । विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित मोरङ रतुवामाई निवासी  प्रतिष्ठित व्यक्तित्व एवं कुशल शिक्षक रामप्रसाद ढकालको ५२ वर्षको उमेरमा असामयिक निधन भएको छ।

रोगलाई जितेर जीवन जिउने तीव्र इच्छाशक्ति हुँदाहुँदै पनि ढकालको बिहीबार अपराह्न २:०३ बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो।

वि.सं. २०२९ असोज २२ गते जन्मिएका ढकालको पार्थिव शरीरको आज शुक्रबार स्थानीय बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ। बिहान १० बजे रतुवामाई–१० (साविक इटहरा–१, सोमबारे) स्थित राष्ट्रनिर्माण मावि अगाडिको उनको निवासबाट शवयात्रा सुरु भई स्थानीय लक्ष्मीचोक पश्चिमको घाटमा अन्तिम संस्कार गरिएको प्रेस चौतारी कोशीका पूर्व अध्यक्ष अबिजाल विष्टले जानकारी दिए।

राजनीतिक र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान

स्वर्गीय ढकाल विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए। महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययनरत रहँदा अनेरास्ववियुमा संलग्न भई उनले  संविधानसभा सदस्य एवं सार्वजनिक लेखा समितिका पूर्व सभापति ऋषिकेश पोखरेललाई स्ववियु सभापतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पचासको दशकमा अनेरास्ववियुलाई चुस्त दुरुस्त राख्न अग्रणी भूमिका खेलेका ढकाल आफ्नो कर्मठ र इमान्दार स्वभावका कारण विद्यार्थीमाझ अत्यन्तै लोकप्रिय थिए ।

पार्टी विभाजनका बेला तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठनमा समेत सक्रिय रहेका ढकाल पछिल्लो समय सक्रिय राजनीतिबाट केही टाढा रहँदै अध्यापन पेशामा समर्पित  भएका थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि  तेह्रथुम ओयाकजुङकाे  सिद्धकाली माविमाअध्यापन गरिरहेका उनी  उच्च माध्यमिक शिक्षक संघ (हिस्टुन) का पूर्व केन्द्रीय सचिव भई  शिक्षकहरूको हकहित र माग पूरा गराउने आन्दोलनमा सदैव अग्रपंक्तिमा रहेको हिस्टुनका केन्द्रीय पूर्व सहअध्यक्ष याेगेन्द्र  बस्नेतले  बताए ।

विभिन्न व्यक्तित्वद्वारा दुःख व्यक्त

ढकालको निधनप्रति राजनीतिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सांसद ऋषिकेश पोखरेलले उनलाई 'जीवनको कठिन समयको अत्यन्तै विश्वासिलो मित्र' का रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

यस्तै, प्रेस चौतारीका पूर्व अध्यक्ष अबिजाल विष्टले अन्तिम समयमा अक्सिजनको व्यवस्था गर्दागर्दै पनि मित्रलाई बचाउन नसकिएकोमा मार्मिक पीडा व्यक्त गरेका छन् ।

शिक्षक नीलकुमार राई, उपप्राध्यापक नन्द न्यौपाने, सहपाठी दीपक राई, खेम प्रधान र योगेश राजभण्डारी लगायतले उनलाई एक कुशल शिक्षक र मिलनसार मित्रको रूपमा स्मरण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्। स्वर्गीय ढकालका आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

View : 687

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved