मेयर कोइरालाद्वारा उद्घाटन
विराटनगर । सहरमा सुरक्षाको अनुभूति गराउने र आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले विराटनगरका दुई वडाका विभिन्न १८ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ११ र १२ का मुख्य चोक तथा संवदेनशील क्षेत्रहरूमा प्रविधिमार्फत निगरानी बढाउन यी क्यामेराहरू जडान गरिएका हुन्।
विराटनगर–१२ स्थित पञ्चमुखी युवा समाजको सक्रियतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी र महानगरपालिकाबीचको त्रिपक्षीय सहकार्यमा यो सुरक्षा पूर्वाधार तयार पारिएको हो।
आइतबार बखरी प्रहरी चौकीमा आयोजित एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले सीसी क्यामेरा निगरानी प्रणालीको औपचारिक उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुरक्षित सहर निर्माणका लागि प्रविधिको प्रयोग अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको उल्लेख गरे।
अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र आकस्मिक घटनाको तत्काल जानकारी पाउन सीसी क्यामेरा प्रभावकारी माध्यम भएको उनको भनाइ थियो। मेयर कोइरालाले निजी क्षेत्र, सामाजिक संघसंस्था र स्थानीय समुदायको सक्रिय सहकार्य बिना दिगो सुरक्षा प्रणाली सम्भव नहुने धारणा समेत राखे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बढ्दो सहरीकरणसँगै अपराधका स्वरूप पनि बदलिएको बताउँदै प्रविधिमा आधारित अनुसन्धानको आवश्यकतामा जोड दिए।
लागूऔषध कारोबार, सवारी दुर्घटना र चोरी जस्ता घटनामा सीसी क्यामेराले प्रमाण संकलन र अपराधी पहिचानलाई छिटो र विश्वसनीय बनाउने विश्वास उनले व्यक्त गरे।
वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले मुख्य भीडभाड हुने स्थानमा राखिएका यी क्यामेराले आपराधिक मनोवृत्ति भएकाहरूमा मनोवैज्ञानिक डर पैदा गर्ने बताए। साथै उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएकोमा जोड दिए।
पञ्चमुखी युवा समाजका अध्यक्ष लाक्पा लामाले महानगरको वडा नम्बर ११, १२ र स्थानीय समाजसेवीहरूको सहयोगमा यो अभियान सफल भएको जानकारी दिए।
समाजले सुरक्षा मात्र नभई सरसफाइ, विपद् व्यवस्थापन र बाढी प्रभावितको राहतमा पनि निरन्तर काम गरिरहेको उनले बताए। कार्यक्रममा समाजका उपाध्यक्ष रितेश मैनाली र कोषाध्यक्ष रमिला कोइरालाले समाज परिवर्तनका लागि युवाहरूको सक्रियता अपरिहार्य रहेको उल्लेख गरे।
यो प्रविधिको विस्तारसँगै विराटनगर–११ र १२ का बासिन्दाले थप सुरक्षित महसुस गर्ने अपेक्षा गरिएको छ।
View : 217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved