विराटनगर । नेकपा (एमाले) को संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवार बन्न आवश्यक समर्थक र प्रस्तावक जुटाउन नसकेपछि चर्चामा आएका इलाम २ का सांसद सुहाङ नेम्वाङले आफनो धारणा सार्वजनिक गरेका छन् ।
उनले बिहीबार फेसबुकमार्फत् लामो स्टाटस लेख्दै आफ्नो उम्मेदवारीको उद्देश्य, पार्टीभित्रको अवस्था र आगामी बाटोबारे आफ्नो धारणा राखेका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकपछि निर्वाचन प्रक्रियामार्फत् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दलको नेतामा निर्वाचित भएका थिए । सोही सन्दर्भमा नेम्वाङले उनलाई बधाई दिदै लेखेका छन्, उहाँलाई हार्दिक बधाई दिदै सफल कार्यकालको सुखद शुभकामना व्यक्त गर्दछु ।
तर, निर्वाचन प्रक्रियाका क्रममा आफूले उम्मेदवारी दिने प्रयास गरे पनि आवश्यक समर्थन नपाएको विषयले पार्टीभित्र र सामाजिक सञ्जालमा चर्चा पाएपछि उनले आफनो धारणा सार्वजनिक गर्नुपरेको बताएका छन् ।
‘बैठकपछि सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्त प्रतिक्रियाहरूलाई दृष्टिगत गर्दै थप प्रष्ट पार्नु म आफनो कर्तव्य ठान्दछु,’ उनले लेखेका छन् ।
नेम्वाङले आफ्नो उम्मेदवारीलाई हतारोको रूपमा व्याख्या गरिन सक्ने स्वीकार्दै वर्तमान राजनीतिक अवस्था असामान्य रहेको तर्क गरेका छन् । ‘हामी अहिले सामान्य अवस्थामा छैनौं । नेपाली राजनीतिमा ‘प्याराडाइम सिफट’ भएको छ,’ उनले भनेका छन् ।
उनका अनुसार पार्टी ७६ वर्षे कम्युनिष्ट इतिहासकै कठिन मोडमा उभिएको छ ।
‘सबथोक भएको हामीसँग अहिले के–के बाँकी छन् ? हाम्रो अगाडि असाधारण संकट छ,’ उनले उल्लेख गरेका छन् । पार्टीभित्र वैचारिक अन्योलता, कार्यकर्तामा निराशा र बाह्य घेराबन्दी बढिरहेको भन्दै उनले यी चुनौतीबाट भागेर समाधान सम्भव नभएको बताएका छन् ।
नेम्वाङले पार्टी पुनर्जीवनका लागि परम्परागत अभ्यास मात्र पर्याप्त नहुने बताएका छन् ।
‘हामीले आन्दोलनलाई पुनर्जीवन दिन अब नियमित कर्मकाण्डी संगठनात्मक अभ्यासले मात्र पुग्दैन, जङ्गी परिवर्तन जरुरी छ’ उनले लेखेका छन् ।
उनले विचार, संगठनात्मक अभ्यास र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको औंल्याउँदै युवापुस्ताको भूमिकालाई केन्द्रमा राखेका छन् ।
‘अग्रजहरूको अनुभव र ज्ञान एवं युवाहरूको ऊर्जा नै पार्टी निर्माणको मुख्य आधार हो,’ उनको भनाइ छ ।
आफ्नो उम्मेदवारीबारे उठेका प्रश्नको जवाफ दिंदै नेम्वाङले त्यसलाई पदलोलुपता नभएको दाबी गरेका छन् ।
‘मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्वाकांक्षा थिएन, बरु पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो,’ उनले स्पष्ट पारेका छन् । उनले आफूले उठाएको कदम व्यक्तिगत रूपमा फाइदाजनक नहुन सक्ने स्वीकार गर्दै पनि त्यसलाई आवश्यक ‘जोखिम’ को रूपमा व्याख्या गरेका छन् ।
‘बाक्लो अध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयं मैनबत्ती बनेर जल्नैपर्छ,’ उनले रूपक प्रयोग गर्दै भनेका छन् ।
साथै, ‘मजस्तै हजारौं युवाहरूको मनमा सल्किएको चिन्ताको आधीबेहरी देखेर मैले ‘कालकूट विष’ पिएको हुँ,’ भन्दै उनले आफनो निर्णयलाई बलिदानी भावनासँग जोडेका छन् ।
नेम्वाङले सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन् ।
‘सामाजिक सञ्जालमा एकअर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ,’ उनले उल्लेख गरेका छन् । उनले पार्टी नेतृत्व र नेताहरूप्रति आवेगपूर्ण टिप्पणी नगर्न समर्थकलाई आग्रह गर्दै भनेका छन्, ‘उत्तेजना वा आवेगबाट होइन विवेक, संयम र जिम्मेवारीबोधका साथ प्रस्तुत हुन बिनम्र अनुरोध गर्दछु ।’
आफ्नो प्रयास असफल भए पनि त्यसलाई अन्त्यको रूपमा नलिन उनले आग्रह गरेका छन् ।
‘पार्टीलाई नयाँ जीवन दिने अभियान अन्त्य भएको होइन, सुरु मात्रै भएको हो,’ उनले स्टाटसको अन्त्यमा लेखेका छन् ।
नेकपा (एमाले) भित्र पछिल्लो समय नेतृत्व, पुस्तान्तरण र कार्यशैलीबारे बहस तीव्र बन्दै गएको छ । संसदीय दलको नेताको चयन प्रक्रियामा समेत त्यसको झल्को देखिएको थियो ।
यद्यपि, अन्ततः पार्टीको स्थापित नेतृत्वकै प्रतिनिधित्व गर्दै रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् ।
View : 144
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved