विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन भएसँगै अब पार्टीभित्र प्रदेश र जिल्ला तहको नेतृत्व चयनको तयारी सुरु भएको छ ।
दाबेदारहरु धेरै भएका कारण यसपटक कोशी प्रदेशको पार्टी नेतृत्वको होड रोचक बन्ने देखिएको छ ।
कोशी प्रदेशमा प्रदेश सभापति र महामन्त्री बन्न चाहने नेताहरूले आ–आफ्नो दाबी अघि सार्न थालिसकेका छन् ।
यद्यपि अहिलेसम्म प्रदेश अधिवेशनको मिति भने तोकिएको छैन । नेताहरुका अनुसार मंसिर दोस्रो या तेस्रो सातातिर प्रदेश अधिवेशन आयोजना हुने सम्भावना छ ।
कोशी प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापादेखि प्रदेश उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, प्रदेश सांसद मानबहादुर लिम्बू, प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो र धनकुटा कांग्रेसका सभापति दिनेश राईसम्मका नेताहरूको नाम चर्चामा छ ।
महामन्त्रीका लागि पनि प्रदेशका वर्तमान सहमहामन्त्री विनोद बस्नेत, कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य शमशेर राई र मोरङका नेता मदन संग्रौलालगायतले आकांक्षा राखेका छन् ।
अहिलेसम्म सबै आकांक्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । कतिपयले आफ्नो दाबी सार्वजनिक गरिसकेका छन् भने केही नेताको नाम पार्टीभित्रको छलफलमा आएको छ ।
वर्तमान सभापति थापाले आफू दोहोरिने वा नदोहोरिनेबारे सार्वजनिक रूपमा धारणा राखेका छैनन् । तर उनका निकटस्थहरू भने उनी अर्को कार्यकाल पनि नेतृत्वमा रहन इच्छुक रहेको बताउँछन् ।
प्रदेश सभापतिका आकांक्षीमध्ये उपसभापति रायमाझीले आफ्नो दाबीलाई स्वाभाविक भएको बताएका छन् । प्रदेश कार्यसमितिमा उपसभापतिको जिम्मेवारी सम्हालिसकेकाले अब नेतृत्वमा आफ्नो दाबी रहने उनको भनाइ छ ।
‘म त निर्विरोध हुनुपर्छ भन्नेमा छु । उपसभापतिका रूपमा जिम्मेवारी निर्वाह गरेको छु । अब स्वाभाविक रूपमा प्रदेश पार्टीको नेतृत्वमा मेरो दाबी छ,’ राष्ट्रियसभामा दलको नेतासमेत रहिसकेका रायमाझीले भने ।
मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले पनि प्रदेश सभापतिका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन् । मोरङमा दुई कार्यकाल जिल्ला सभापति भइसकेका र संघीय सांसद र मन्त्रीसमेत भइसकेका लिम्बूले अब प्रदेश तहमा काम गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
जिल्ला सभापतिका रूपमा थप कार्यकालका लागि बाटो नरहेपछि प्रदेश नेतृत्व आफ्नो स्वाभाविक कार्यक्षेत्र भएको उनको भनाइ छ ।
‘अब जिल्ला सभापति बन्न नपाउने अवस्था भएपछि मेरो जाने ठाउँ प्रदेश हो भनेको छु ,’ उनले भने ‘भूगोलका हिसाबले पनि यो जिम्मेवारी उपयुक्त भएकाले पहिलो प्राथमिकता संगठन सुदृढीकरणलाई दिनेछु ।’
पार्टीको केन्द्रीय नेतृत्वले पारित गरेका नीति तथा कार्यक्रम तल्लो तहसम्म पु¥याउन नसक्दा कार्यकर्ता र आमनागरिकबीच कांग्रेसका नीति तथा अभियानबारे पर्याप्त जानकारी पुग्न नसकेको उनको भनाइ छ ।
‘केन्द्रबाट पारित भएका नीति तथा कार्यक्रम तल्लो तहसम्म पुगेनन् भने जनताले कांग्रेसको नीति के हो, अभियान के हो भन्ने थाहा पाउँदैनन् । त्यसैले केन्द्रले तय गरेका नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउनु मेरो प्राथमिकता हुनेछ,’ उनले भने । लिम्बूले कोशी प्रदेशको राजनीतिक परिवेशमा समावेशिता र पहिचानका विषयलाई पनि संगठनको कामसँगै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
सभापतिका आकांक्षी रहेका हालका महामन्त्री उमेश थापा आफ्नो कार्यकालमा प्रदेश पार्टीको संगठन विस्तार, कार्यालय व्यवस्थापन र निर्वाचनमा कांग्रेसको अवस्था सुधारका लागि काम गरेको दाबी गर्छन् ।
‘म साढे चार– पाँच वर्षदेखि महामन्त्रीका रूपमा काम गरिरहेको छु । प्रदेश कार्यसमिति पहिलोपटक गठन हुँदा हामीले आफ्नै जग्गा किनेर भवन बनायौँ । त्यसपछि प्रदेशभर संगठन विस्तार गर्यौँ । कांग्रेसलाई प्रदेशमा दोस्रो ठूलो दल बनाउन सफल भयौँ,’ थापाले भने ‘त्यसैले मेरो नेतृत्वमा स्वाभाविक रुपमा दाबी रहनेछ ।’
सभापतिका अर्का आकांक्षी खड्ग फागोले पनि आफू लामो समयदेखि प्रदेश नेतृत्वका लागि तयारीमा रहेको बताएका छन् ।
उर्लाबारी नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका फागो कोशी प्रदेश कांग्रेसका सहमहामन्त्री हुन् । उनले प्रदेश सभापतिका लागि आफ्नो दाबी नयाँ नभएको बताएका छन् ।
‘मैले प्रदेश सभापतिमा लड्छु भनेर पहिल्यै भनिसकेको हुँ,’ उनको भनाइ छ ‘हाम्रो कुरा पहिलेदेखि नै यही हो ।’
प्रदेश सभापतिका लागि चर्चामा रहेका अर्का नेता मानबहादुर लिम्बू मोरङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । प्रदेश मन्त्री बनिसकेका र सांसदका रूपमा सक्रिय उनी पनि प्रदेश पार्टीको नेतृत्वका आकांक्षी हुन् । त्यस्तै, धनकुटा कांग्रेसका सभापति दिनेश राई जिल्ला नेतृत्वको अनुभवसहित प्रदेश सभापतिका दाबेदारका रूपमा चर्चामा छन् ।
प्रदेश सभापतिमा दाबी गर्ने नेताहरूको संख्या बढिरहँदा महामन्त्रीका लागि पनि कांग्रेस नेताहरूले धमाधम दाबी सार्वजनिक गरिरहेका छन् । प्रदेशमा दुई जना महामन्त्री रहने व्यवस्था छ ।
महामन्त्रीका लागि वर्तमान सहमहामन्त्री उदयपुरका विनोद बस्नेत, प्रदेश संसदीय दलका प्रमुख सचेतक झापाका गोपाल तामाङ, पूर्वमन्त्री एवं इलामका प्रदेशसभा सदस्य शमशेर राई र मोरङका नेता मदन संग्रौलाको नाम महामन्त्रीका आकांक्षीका रूपमा चर्चामा छ ।
सुनसरीका सुजेन्द्र तामाङ पनि महामन्त्रीको दौडमा छन् । उनी यसअघि पार्टीको क्षेत्रीय सभापति रहिसकेका नेता हुन् ।
View : 22
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved