जेन्जी विद्रोह पश्चातदेखि नै देशको राजनीतिले कोल्टे फेर्ने संकेत दिइरहेको थियो । तत्कालीन सरकार अपदस्थ भएपछि नयाँ अनुहारप्रति जनताको अत्यधिक चाहना थियो । आशा पनि उस्तै थियो र आकर्षणले शिखर चुमेको थियो । तर, लोकतान्त्रिक व्यवस्थामा अडिएको देशमा भावनात्मक रुपमा सरकारी अंगमा प्रतिनिधि राख्नु उचित नभएको हुनाले अन्तरिम सरकार गठन गरेर चुनाव गराउने म्यानडेट दिइयो । र, सरकारको अथक प्रयास, दृढ संकल्पका साथ चुनाव सम्पन्न भयो । शान्तिपूर्ण र निस्पक्ष तवरले देशमा चुनाव सम्पन्न भयो ।
वास्तवमा भन्नुपर्दा देशले राजनीतिक चरित्र, इतिहास र संस्कार बोकेका राजनीतिक दलका प्रतिनिधिहरु कम संख्यामा पायो । तर, सो विशेषता भएका दलका नेताहरुमा भने विकासको न्यून सम्भावना, अमानवीय व्यवहार गर्ने प्रवृत्ति ज्यादै थियो । त्यसैले पुराना र इतिहास बोकेका दलहरु पनि झिनो मतमा सीमित हुन पुगे ।
२०१५ मा भएको आमनिर्वाचन जुन २००७ सालमा १०४ वर्षे जहानीय राणा शासन फालेपछि भएको थियो सो चुनावको परिणाम यसपालि फेरि दोहोरिएर आएको छ । इतिहास दोहोरिंदैन, तर घटना भने दोहोरिएको हो । तत्कालीन बीपी कोइरालाको नेतृत्व रहेको नेपाली कांग्रेसले १०९ सिटमध्ये ७९ सिट जितेर दुई तिहाई बहुमत ल्याएको थियो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले पनि सोही इतिहासलाई अर्को पटक दोहो¥याउने भएको छ ।
यसपालिको चुनावमा मैले हार्छु र ? भन्ने कल्पनासमेत नगरेकाहरूले नमिठो हार चाखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा झापा–५ मा पराजीत भएका केपी शर्मा ओलीको यो नौलो हार भने होइन । उनले क्रान्तिपछि अर्थात २०६४ को चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग हार ब्यहोर्नु परेको थियो । तर, उनले पञ्चायती व्यवस्था फालिएपछिको चुनाव २०४८ मा तत्कालीन झापा–६ हुँदै २०५१, २०५६ मा पनि जीत हात पारे । तर, २०६४ मा भने उनको त्यो लामो जीतको क्रममा ब्रेक लागेको हो । त्यसपछि उनी संविधानसभाको चुनाव २०७० मा तत्कालीन झापा–७ बाट विजयी भए ।
नेपालको संविधान जारी भएयताका चुनावहरू २०७४, २०७९ मा पनि उनले जीत हात पारे । त्यो जीत असामान्य थियो– फराकिलो मतान्तरसहितको । र, उनको विगतका जीत इतिहासमा मात्रै सीमित भयो र यस निर्वाचनमा भने हार ब्यहोर्नु पर्यो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उर्फ बालेनसँग फराकिलो मतान्तरसहित पराजीत हुनुपर्ने अवस्था आयो ।
विद्यार्थी राजनीतिबाट उदाएका गगनकुमार नेविसंघको सदस्य हुँदै महामन्त्रीसम्म भए । पछि संसदीय राजनीतिमा आएर उनी महामन्त्री हुँदै पार्टीको सुधारकर्ता नामले परिचित सभापतिसम्म हुन पुगे । उनले २०६१÷०६२ को राजतन्त्रविरुद्धको आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरे । देशको व्यवस्थाविपरीत सडकमा गणतन्त्रको नारा लगाउने प्रमुख युवा नेताको रूपमा राष्ट्रिय चर्चामा आएका पनि उनी नै हुन् ।
गगनकुमार २०६४ को निर्वाचनबाट संसदीय राजनीतिमा प्रवेश गरेका पात्र हुन् । उनी २०६४ को चुनावमा समानुपातिकतर्फबाट सांसद बनेका थिए । त्यसपछि काठमाडांै क्षेत्र नम्बर–४ बाट २०७०, २०७४ र २०७९ सम्म उनले जीत हात पारे ।
यसपालिको चुनावमा उनले मधेसलाई देशसँग प्रत्यक्ष रूपमा जोड्ने हेतुले सर्लाही–४ झरेको बताएका थिए । जहाँ उनको टक्कर २०७० देखिनै जित्दै आएका अमरेशकुमार सिंहसँग प¥यो । अमरेशकुमारले २०७०, २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाटै टिकट पाएर जितेका थिए ।
२०७९ मा भने उनले नेपाली कांग्रेसबाट टिकट पाएनन् र स्वतन्त्र उठेका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र कुमारलाई पछि पार्दै जित्न सफल भए । यो उदाहरण हो मतदाताले पार्टी होइन व्यक्ति हेर्दा रहेछन् भन्ने । तर, यसपालि रासपाको उर्लिएर आएको भेलले न दल हे¥यो न त व्यक्ति नै र आखिरमा गगनकुमार थापाले पनि हार बेहोर्नु नै प¥यो, फराकिलो मतान्तरसहित ।
अमनलाल मोदी जो विद्यार्थी राजनीतिबाट उदाउँदै मोरङ–४ मा यसपालि पनि जित्ने दाउमा थिए, उनको सपना पनि उडाएको छ– रास्वपाको त्यो हुरीले । २०७४ यता निरन्तर मोरङ–४ मा जित्दै आएका मोदीले यसपालि नमिठो हार व्यहोरेका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी र एमालेले चुनावी गठबन्धन) बाट उम्मेदवार बनेर जितेका थिए । फराकिलो मतान्तरसहित उनका प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका महेश आचार्यलाई पराजीत गरेका थिए । उनले २०७९ को निर्वाचनमा पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विनोद ढकाललाई पराजीत गरेका हुन् ।
कता कता ग्रामथान (जो उपनिर्वाचनपछि विवादरहित गाउँपालिका बन्न सकेको छैन) त्यहाँको उपनिर्वाचनमा वर्तमान मेयर नमोनारायण माझीलाई जिताउन ‘म नै उम्मेदवार हुँ’ भनेर भोट मागेको चर्को आलोचना छ । त्यही विश्वासमा जनताले पनि माओवादीमा भोट हालेर जिताएका थिए । तर, आज आफ्नै लागि भोट माग्दासमेत अमनलाल मोदीले भोट नपाएर ठूलो मतान्तरले हार्नु प¥यो । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार सन्तोष राजवंशीले हार चखाएका हुन् ।
मोरङ–६ ले देशको राजनीतिमा तरंग ल्याएको छ । त्यस्तै सोही ठाउँका नेताहरुले देशको संकटकाल होस् या संयमकाल जहिल्यै नेतृत्वको भूमिकाले देशलाई सही दिशामा डो¥याउनसकेको इतिहास छ । विशेषतः विराटनगर शहरका कोइराला परिवारका चारजना प्रधानमन्त्री बनिसकेका छन् । र, दशकौं लामो नेपाली कँंग्रेसको इतिहास अमर राख्नेसमेत यिनै हुन् ।
तर, पनि यस क्षेत्रमा भने शेखर कोइरालाले आफ्नो जीत सधैंका लागि सुनिश्चित गर्न सकेका छैनन् । कहिले एमाले, कहिले नेपाली कांग्रेस, कहिले अन्य दललाई यहाँका मतदाताले जिताउँदै उनीहरूको व्यवहार र काम चाख्दै आएका छन् ।
मतदाताले मत परिवर्तन गर्दै फरक निर्वाचनमा फरक दलका उम्मेदवारलाई भोट हाल्ने बानीले २०७० सालयता मोरङ–६ बाट निरन्तर चुनाव लड्दै आएका डा. शेखर कोइराला तीन पटक मात्रै विजयी भएका छन् ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विजयकुमार गच्छदारले आफूले चुनाव लडेका दुबै क्षेत्रबाट जितेर तत्कालीन मोरङ–७ रिक्त भएर उपनिर्वाचन भयो र कोइरालाले सो चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
त्यसयता उनले संविधानसभाको २०७० मा भएको चुनावमा जीत हात पारेका थिए भने नेपालको संविधान जारी भएपश्चातको प्रतिनिधिसभा सदस्य २०७२ को चुनावमा लालबाबु पण्डितले उनलाई पराजीत गरेका थिए ।
त्यस्तै २०७९ को प्रतिनिधिसभा सदस्य पदको चुनावमा सोही क्षेत्रबाट लालबाबु पण्डितलाई नै हराएर जीत हात पारे । र, यसपालिको चुनावमा भने रास्वपाको त्यो उर्लिएर आएको बढीले न कोइरालाको विरासत हेर्यो न त हार्ने र जित्नेको चरण नै, स्वतः बगाए अर्को हार चखायो । यहाँबाट रुबिना आचार्यले भारी मतसहित जीत हात पारिन् ।
यो चुनाव इतिहासलाई हल्लाउने मात्रै नभएर निकै समयसम्मका लागि चिरस्मरणीय र दलले आत्मबोध गर्ने चुनाव बनेको छ । वर्चश्व बनाएकादेखि लिएर बनाउने दाउमा रहेकाहरुले समेत यसपालि नपत्याउँदो तरिकाले हार ब्यहोर्नु परेको हो । यसको कारण हो रास्वपाको जनलहर । जुन लहर पुराना भनिएका दलले सत्तामा पुग्नकै खातिर मतदातालाई झुक्याउँदै आएका कारणले आएको हो ।
दल नयाँ भएर मात्रै होइन आशासमेत देखेर उनीहरुले नयाँलाई चुनेका हुन् । मतदाताले सही सोचका साथ कि आवेग र उत्तेजनासहित मतदान गरे भन्ने कुरामा पनि हामी सबै जानकार छौं । यस चुनावमा हुनुपर्ने र नहुनुपर्ने दुबै भयो । यसपटकको चुनावले सायद हारेका उम्मेदवार र राजनीतिक दलको समेत चेतना खोलेको छ । हार व्यहोर्नेले आत्ममूल्यांकन गर्ने, सच्चिने र सुध्रिने बेलाको स्थिति पनि यही चुनावले सिर्जना गरेको हो ।
राणाशासनको अन्त्यपछि भएको २०१५ को चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतसहित सरकार गठन गरेको थियो । तर, राजनीतिक खिचलो कै कारण राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेका हुन् । त्यतिबेला नेपालको भूगोलमा राजनीति नफाप्ने र’छ भनेर राजाले पञ्चायती व्यवस्था लागू गर्नु परेको हो ।
इतिहासमा नेपाली कांग्रेसले झैं आज रास्वपाले पनि जितेको छ । भोलिका दिनमा आज पत्ता साफ हुन पुगेका दलको जस्तै नयाँमा पनि उस्तै चरित्र र क्रुर व्यवहार आयो भने साँच्चै देशमा राजनीति नफाप्ने रहेछ भनेर दलीय राजनीतिमा नै प्रतिबन्ध लगाउनु पर्ने अवस्था आउन सक्छ । सो कुराको हेक्का रहोस् जित्नेहरुलाई ।
र, जित्नेले पनि म मात्रै ठीक छु भन्ने दम्भ पाल्नु खतरनाक हो भने हार्नेले सर्वस्व सकिएको ठान्नु अनुचित हो । देशको वास्तविक समस्या के हो ? जनताको आशा के थियो ? मलाई जनताले किन भोट दिएर जिताए ? जस्ता कुरालाई नयाँ र जीतेका दलले बेपत्ता पार्नु हुँदैन ।
अब पनि जित्नेले आफ्नो स्वार्थानुकूल काम गर्दै जानेलाई एकदमै खराब स्थितिको सामना गर्नुपर्ने हुन्छ भन्ने कुरा निकै कम समयको अन्तरले देखँइसकेको छ । विगतमा जनताले निकै मृगतृष्णाको सामना गरेर यसपालि नयाँ दललाई चुनेका हुन् । र, यसपालि पनि जनताको परिवर्तनको तृष्णालाई मृगतृष्णा बनाउने काम नहोस् ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved