Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

छ दिनमा सात धामको तीर्थाटन

कङ्कालिनी, सुपा देउराली, स्वर्गद्वारी, पाण्डवेश्वर महादेव, लुम्बिनी, मौलाकाली र देवघाटको भ्रमण गर्ने निर्णय भयो।
राजन श्रेष्ठ कटहरी
६ वैशाख २०८३, आइतवार

Advertisement

विराटनगरको सीमावर्ती क्षेत्र कटहरी गाउँपालिका वडा नं. १, जमटोकीमा अवस्थित रामजानकी टोल विकास संस्था आजभन्दा १४ वर्षअघि एउटा पवित्र उद्देश्यका साथ स्थापना भएको हो। स्थापनाको छोटो समयमै यस संस्थाले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ।

यो केवल एउटा टोलको समूह मात्र नभएर सामाजिक एकता, धार्मिक सहिष्णुता र विकासको एउटा बलियो खम्बा बनेको छ।

यस संस्थाको आयस्रोतको मुख्य माध्यम प्रत्येक वर्ष खेलिने देउसी–भैलो हो। सोही भैलोबाट संकलित रकमलाई संस्थाले व्यक्तिगत स्वार्थमा नलगाई टोलको साझा हितमा प्रयोग गर्दै आएको छ।

टोलमा हुने विवाह, व्रतबन्ध वा अन्य सामाजिक कार्यमा कसैले बाहिरबाट महँगोमा सामान भाडामा ल्याउनु नपरोस् भन्ने उद्देश्यले संस्थाले आफ्नै भाँडाकुँडा, कुर्सी, साउन्ड सिस्टम र मादलजस्ता अति उपयोगी सामग्रीहरू खरिद गरेको छ।

साथै, प्रत्येक वर्ष संविधान दिवसको अवसरमा आयोजना गरिने बृहत्तर शैक्षिक तथा खेलकुद प्रतियोगिताले यहाँका बालबालिका र युवाहरूको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुर्‍याएको छ। यिनै क्रियाकलापका कारण यो संस्था कटहरी गाउँपालिकाकै सर्वाेत्कृष्ट टोल विकास संस्थाको रूपमा सम्मानित छ।

 

यसै संस्थाको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा रामजानकी भजन कीर्तन मण्डली क्रियाशील छ। यस मण्डलीले प्रत्येक एकादशीका दिन पालैपालो सदस्यहरूको घरमा पुगेर राति ८ देखि १० बजेसम्म भजन कीर्तन गर्ने गर्दछ।

यसका साथै प्रत्येक सोमबार साँझ रामजानकी मन्दिरमा भजनको धुन गुञ्जायमान हुन्छ। यसरी संकलित भेटी र भैलोको केही रकम छुट्याएर संस्थाले प्रत्येक वर्ष तीर्थयात्राको कार्यक्रम तय गर्दछ।

यसले टोलवासीहरूमा धार्मिक सद्भाव र सामाजिक एकताको भावनालाई अझ प्रगाढ बनाएको छ। यसै सिलसिलामा, २०८२ फागुन १९ गते बसेको बैठकले यस वर्षको ६ दिने तीर्थयात्रा तय गर्‍यो, जसअन्तर्गत कङ्कालिनी, सुपा देउराली, स्वर्गद्वारी, पाण्डवेश्वर महादेव, लुम्बिनी, मौलाकाली र देवघाटको भ्रमण गर्ने निर्णय भयो।

पहिलो दिन : विराटनगरदेखि नारायणगढसम्मको यात्रा

२०८२ साल चैत २३ गते, सोमबारको बिहान। विराटनगरमा मिरमिरे उज्यालोसँगै ३५ जना तीर्थयात्रीहरूको मनमा उत्साह थियो। बिहान ठिक ७:३० बजे हाम्रो गाडी ‘महारानी’ विराटनगरबाट प्रस्थान गर्‍यो। यात्राको पहिलो गन्तव्य थियो— सप्तरीको भारदहमा अवस्थित माता कङ्कालिनी भगवतीको मन्दिर।

गाडीमा भजन गाउँदै र भगवानको जयजयकार गर्दै हामी भारदह पुग्यौँ। मन्दिरको दर्शन गरी सबैले आशीर्वाद लियौँ। कङ्कालिनी माताको दर्शनले यात्राको सुरुवातमा थप ऊर्जा थप्यो। त्यसपछि हाम्रो गाडी पूर्व–पश्चिम राजमार्गमा हुइँकियो। बाटोमा पर्ने हरियाली र तराईका सुन्दर बस्तीहरू नियाल्दै हामी अघि बढ्यौँ।

मध्याह्नतिर धनुषाको लालगढमा पुगेर हामीले खाजापानी गर्‍यौँ। राजमार्गको यात्रामा साथीभाइहरूसँगको ठट्टा र रमाइलोले समय बितेको पत्तै भएन।

साँझ पर्दै जाँदा मौसम अलिक बदली भयो र सिमसिम पानी पर्न थाल्यो। रातको करिब ९ बजे हामी चितवनको व्यस्त सहर नारायणगढ पुग्यौँ। वर्षा भइरहेकाले हामीले तुरुन्तै बासको खोजी गर्‍यौँ। नारायणगढको ‘डाइमन्ड होटल एण्ड लज’ मा बस्ने निधो भयो। पहिलो दिनको लामो यात्राले सबै थकित त थिए, तर भोलिको गन्तव्य सुपा देउराली र पहाडको यात्रा सम्झेर सबैको मन प्रफुल्लित थियो।

दोस्रो दिन : पहाडको सुसेली र सुपा देउरालीको महिमा

दोस्रो दिन बिहान ७ बजे चियानास्ता गरी हाम्रो टोली अर्घाखाँचीको प्रसिद्ध शक्तिपीठ सुपा देउरालीतर्फ सोझियो। नारायणगढबाट गैँडाकोट, दाउन्नेको घुम्ती सडक, बुटवल हुँदै हामी गोरुसिंगे पुग्यौँ। त्यहाँबाट पहाडतर्फको यात्रा सुरु भयो। तराईको तातो हावालाई छाडेर पहाडको चिसो र स्वच्छ हावामा प्रवेश गर्दा सबैलाई निकै आनन्द महसुस भयो।

दिउँसो १ बजेतिर हिलेखोलाको एउटा होटलमा पुरी–तरकारी र चियानास्ता गरेपछि हामी अघि बढ्यौँ। करिब २ बजेतिर हामी सुपा देउराली भगवतीको मन्दिर पुग्यौँ। यो मन्दिर महाभारत शृङ्खलाको नरपानी र सुपाको बीचमा पर्ने एउटा भीमकाय खोँचमा अवस्थित छ। सुपा देउरालीको महिमा नेपालभर फैलिएको छ। त्यहाँको एउटा प्रसिद्ध किंवदन्तीले सबैलाई सोच्न बाध्य बनाउँछ। भनिन्छ, एक व्यक्तिले भाकल गरेर लाहुर गएका थिए र मनग्गे सम्पत्ति कमाएर फर्के। तर, घर फर्कँदा भगवतीलाई भाकल चढाउनुको सट्टा बाटो छलेर जान खोज्दा भगवतीको शक्तिले उनलाई पहरामा शिला बनाएर टाँसिदिनुभएको थियो। आज पनि मन्दिरभन्दा ५०० मिटर पश्चिमको पहरामा सो प्रतिबिम्ब स्पष्ट देख्न सकिन्छ।

करिब २ घण्टासम्म मन्दिर दर्शन र फोटो सेसन गरेपछि हामी ४ बजे अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कतर्फ लाग्यौँ। पहाडको घुमाउरो बाटो र साँझको चिसो बतास निकै मनमोहक थियो। सन्धिखर्क पुग्दा साँझको ५ बजेको थियो। उज्यालो छँदै अलिक अघि बढ्ने निर्णयका साथ हामी उकालो बाटो नुवाकोटे डाँडा हुँदै अघि बढ्यौँ र साँझ ७ बजे खिल्जी बेल्बोट पुग्यौँ।

त्यहाँ हामीले ‘राँगु होटल एण्ड लज’ भेट्यौँ। त्यो होटलको विशेषता के थियो भने त्यहाँ आफैँले खाना पकाएर खान मिल्ने सुविधा थियो। हामी सबै तीर्थयात्रीहरू मिलेर दाउराको आगोमा स्वादिलो भोजन तयार पार्‍यौँ। होटलका मालिक दीपक राँगु मगर र उनकी श्रीमती सेते मगरले हामीलाई गरेको सत्कार र सेवा साँच्चै नै लोभलाग्दो थियो। उहाँहरूको व्यवहारले हामीलाई बुझायो कि दुर्गम पहाडमा अझै पनि मानवता र आत्मीयता जीवितै छ।

तेस्रो दिन : स्वर्गद्वारीको दिव्य आभा र रोल्पाको लालीगुराँस

तेस्रो दिनको यात्रा अझ विशेष थियो। बिहान ६ बजे हामी खिल्जी बेल्बोटबाट स्वर्गद्वारी धामका लागि प्रस्थान गर्‍यौँ। गाडी प्युठानको रमाइलो खलङ्गा बजार हुँदै अघि बढ्यो। बाटोभरि सिन्दुरे, काफल र उत्तिसका रूखहरू थिए। चैतको महिना भएकाले राताम्मे लालीगुराँसले डाँडापाखा दुलही झैँ सजिएका थिए। झिमरुक नदीको किनारै–किनार अघि बढ्दै गर्दा गाडीभित्रै साथीहरूले दोहोरी गीत गाउन थाले। बाहिर सिमसिम पानी परिरहेको थियो, भित्र हाम्रो मनमा धार्मिक उत्साह थियो।

बिहान १० बजेतिर पश्चिम राप्ती नदी तरेर चकचके पुगेपछि गाडी स्वर्गद्वारीतर्फ मोडियो। ११ बजे हामी स्वर्गद्वारीको मूल प्रवेशद्वारमा पुग्यौँ। त्यहाँ निकै जाडो र ठूलो हावा चलिरहेको थियो। पानी नरोकिएकाले हामीले १०० रुपैयाँका प्लास्टिकका ‘घुम’ किनेर ओढ्यौँ र मन्दिरको खुड्किलाहरू चढ्न थाल्यौँ।

दिउँसो १२ बजे हामी मन्दिर परिसरमा पुग्यौँ। चिसो पानीको धारामा स्नान गर्दा ‘आच्छु–आच्छु’ त भयो, तर मनमा असीम शान्ति मिल्यो। स्वर्गद्वारीमा तीन महाप्रभुको मूर्ति र पहेँलो कपडाले छोपिएको ऐतिहासिक रथ देख्न सकिन्छ। मन्दिर अगाडिका दुई ठूला शिवलिङ्गमा हामीले पूजा गर्‍यौँ। त्यहाँको यज्ञशालामा पण्डितहरूले निरन्तर हवन गरिरहेका थिए। दिउँसो ठिक १ बजेको आरतीमा सहभागी हुन पाउनु हाम्रो अहोभाग्य थियो। आरतीको त्यो पावन दृश्यले आँखा र मन दुवै तृप्त भए।

स्वर्गद्वारीबाट ओरालो लाग्दा पानी रोकिएर आकाश खुलीसकेको थियो। चारैतिरको दृश्य झनै सुन्दर देखिन्थ्यो। त्यसपछि हाम्रो यात्रा रोल्पातर्फ सोझियो। बाटो कच्ची र हिलो भए पनि चालक जगदीश बस्नेतको कुशलताले हामी ढुक्क थियौँ। रोल्पाको रुन्टीगढी र सुर्पालमा ओर्लिएर हामीले त्यहाँको प्राकृतिक सौन्दर्य र लालीगुराँसको आनन्द लियौँ। होलेरी उपत्यका हुँदै साँझ ७ बजे हामी दाङको घोराही पुग्यौँ। गाडीको चक्का पञ्चर भएकाले केही समय मर्मतमा लाग्यो र त्यस रात हामीले घोराहीको ‘रोल्पा रुकुम होटल’ मा विश्राम गर्‍यौँ।

चौथो दिन: विश्वकै सबैभन्दा अग्लो त्रिशूलस्थल पाण्डवेश्वर

चौथो दिन बिहान ६ बजे नै उठेर हामी दाङको प्रसिद्ध पाण्डवेश्वर महादेव (धारापानी) तर्फ लाग्यौँ। बबई नदी तरेर करिब ८:३० बजे मन्दिर पुग्दा हाम्रो खुसीको सीमा रहेन। त्यहाँ मुक्तिनाथको झल्को दिने १०८ धाराहरू छन्। मन्दिरको मुख्य आकर्षण भनेको पञ्चधातुबाट निर्मित साढे ५५ फिट अग्लो त्रिशूल हो, जसलाई विश्वकै सबैभन्दा अग्लो त्रिशूल मानिन्छ।

किंवदन्ती अनुसार पाण्डवहरू स्वर्ग जानुअघि यो स्थानमा बसेर तपस्या गरेका थिए। त्यहाँको २०० वर्ष पुरानो साजको रूखको पनि आफ्नै कथा छ। स्थानीयले जति प्रयास गर्दा पनि यो रूख काट्न नसकिएको विश्वास गरिन्छ। हामीले त्यहाँको पार्क र मन्दिर परिसरमा ३ घण्टा बितायौँ र आफैँले भोजन बनाएर खायौँ।

दिउँसो १ बजेतिर हामी लुम्बिनीतर्फ प्रस्थान गर्‍यौँ। लमही देउखुरीको कृषियोग्य फाँट र कपिलवस्तुको तातो हावा झेल्दै साँझ ५ बजे लुम्बिनी पुग्यौँ। समय अभावले त्यस दिन मायादेवी मन्दिर जान भ्याइएन। लुम्बिनी सेन्टर लजमा बास बसी हामीले भोलिको लुम्बिनी भ्रमणको योजना बनायौँ।

पाँचौँ दिन : बुद्धको शान्ति सन्देश र मौलाकालीको उचाइ

बिहानै ६ बजे हामी ७ वटा सिटी रिक्सा भाडामा लिएर मायादेवी मन्दिरतर्फ लाग्यौँ। लुम्बिनीको बिहानी चिसो हावा र हरियाली निकै शान्त थियो। मायादेवी मन्दिरको दर्शन गर्दा बुद्धको जन्मस्थलमा हुनुको गौरव महसुस भयो। त्यसपछि हामीले म्यानमार, क्याम्बोडिया, थाइल्याण्ड र नेपालका विभिन्न शैलीका बौद्ध विहार तथा शान्ति दीपको भ्रमण गर्‍यौँ।

बिहान १० बजे चिनो–कोसेली खरिद गरी ११ बजे लुम्बिनीबाट प्रस्थान गर्‍यौँ। भैरहवा र रामग्राम हुँदै दिउँसो ३ बजे हामी नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकार स्टेशन पुग्यौँ। केबलकार चढेर उचाइमा पुग्दा तल देखिने नारायणी नदी र चितवनको दृश्य अद्भुत थियो। मौलाकाली भगवतीको दर्शन गरी पूजाआजा गर्‍यौँ। २०३२ सालमा काशीनाथ पौडेलको सपनापछि पत्ता लगाइएको यो मन्दिरको आफ्नै धार्मिक महत्त्व छ।

त्यसपछि साँझ ५:३० बजे हामी देवघाटतर्फ लाग्यौँ। आधा घण्टाको यात्रापछि देवघाट पुग्यौँ। त्रिशूली र कालीगण्डकीको संगम यो ठाउँ ऋषिमुनिहरूको तपोभूमि हो। रातको समयमा देवघाटको शान्ति निकै गहिरो थियो। हामी ‘मुक्तिनाथ धर्मशाला’ मा बास बस्यौँ।

छैटौँ दिन : देवघाटको पवित्र स्नान र घरफिर्ती

यात्राको अन्तिम दिन बिहान ५ बजे नै उठेर हामी दोभानमा गयौँ। पवित्र जलमा स्नान गरी हरिहर मन्दिर, सिद्धेश्वर महादेव र सीता गुफाको दर्शन गर्‍यौँ। देवघाटको आध्यात्मिक वातावरणमा मण्डलीका साथीहरू भजनमा नाच्दा वातावरण नै भक्तिमय बनेको थियो।

बिहान ८:३० बजे हामी विराटनगरको अन्तिम गन्तव्यतर्फ लाग्यौँ। गाडी अब पूर्वतर्फ ननस्टप हुइँकियो। निजगढमा खाना खाएर र कञ्चनपुरमा कोसेलीको रूपमा पेडा किनेर हामी अघि बढ्यौँ। राति ८:३० बजे हामी सकुशल विराटनगर आइपुग्यौँ। तीर्थयात्रीहरूले धड्कन ओखलढुङ्गाका गाडीचालक जगदीश बस्नेत र सह–चालकको सेवाप्रति आभार प्रकट गरे। ६ दिनको यो यात्रा केवल एक भ्रमण मात्र थिएन, यो त आत्मिक शान्ति र एकताको एउटा महोत्सव थियो।

View : 598

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved