Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

बालेनमार्फत तिब्बतीलाई नागरिकता दिन खोजियो : एमाले उपाध्यक्ष बराल

उद्‌घोष संवाददाता
२ मंसिर २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमार्फत तिब्बतीहरूलाई नागरिकता दिन खोजिएको आरोप लगाएका छन् । उनले अराजकताको प्रमुख कारक बालेन शाह भएको र त्यसको प्रमाण नै सार्वजनिक भइसकेको दाबी गरेका हुन् ।

सोमबार विराटनगरमा आयोजित नेकपा एमाले कोशी प्रदेश कमिटीको नवौं बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले जेनजी समुहको नाममा लोकतन्त्र, राष्ट्र र राष्ट्रियतामाथि संगठित रुपमा हमला भएको टिप्पणी गरेका हुन् ।

यस्तो अवस्थामा पार्टीभित्र कसलाई नेता बनाउने भन्ने लडाईं भन्दा देश निर्माणको लडाईंका लागि जुट्नुपर्ने बताए ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले अहिलेको राजनीतिक मैदानमा एमालेमात्रै बलियो गरी उपस्थित भएको बताए । 

‘अहिले मैदानमा एमाले मात्रै छ, यो बेलामा हामी सबै जोडिएर अघि बढ्नुपर्छ, हामी लागि ठुलो अवसर छ’ उनले भने, ‘जेनजी आन्दोलन एकथान सरकार बनाउन भएको घटना होइन, लोकतन्त्र खत्तम पार्न चालिएको कदम हो ।’

उनले हुँदै नहुने चुनावको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । साथै मदन भण्डारीको हत्या र एमाले विभाजन हुँदै यहाँसम्म आउँदा पनि पटक–पटक एमालेले उठ्दै आएको दृष्टान्त प्रस्तुत गरे ।

राईले एमालेलाई कमजोर बनाउने र सिध्याउने उद्देश्य राखेर गतिविधि हुन थालेको भन्दै टोलटोलमा नागरिक दस्ता बनाएर गलत कार्यलाई निस्तेज पारिने घोषणा गरे । 

उनले ओलीकै नेतृत्वमा एमाले फेरि उठेको जिकिर गरे । पार्टीलाई आगामी महाधिवेशनबाट अझ सुदृढ र बलियो गरी रिफर्म गर्न नेता कार्यकर्ता तयार रहेकोले पुराना आन्तरिक झमेलामा नफस्न आग्रह गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले कोशी प्रदेशमा एमालेका सबै कार्यकर्ता एकठाउँमा भएको जिकिर गर्दै त्यसको शक्ति कात्तिक २९ गते हरेक जिल्लामा देखाइसकेको बताए ।

प्रदेश कमिटी अध्यक्ष धनश्याम खतिवडाले मंगलबार संगठन कमिटीको बैठक बसेर प्रदेश कमिटीले गरेको निर्णय कार्यन्वयनका लागि अघि बढाउने बताए ।

एसका नेता एमालेमा

एमालेले जारी राखेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तरगत नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित करिव ५० जना एमालेमा फर्किएका छन् । 

एमाले फर्किनेहरूमा नेकपा एसका पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. उद्वव पोखरेल, पूर्व केन्द्रीय परिषद् सदस्य विरेन्द्र यादव, खेलकुद महासंघ (समाजवादी) का केन्द्रीय सल्लाहकार किशोर शाही, प्रदेश कमिटी सदस्यहरू नौसा परवेज, योगेशराज भण्डारी, जुनु पोखरेल लगायत छन् । 

त्यसैगरी नेकपा एसको मोरङ जिल्ला कमिटी सदस्यहरूसहित ५० भन्दा बढीको संख्यामा नेता कार्यकर्ता एमालेमा फर्किएको केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले जानकारी दिए ।

उनीहरूलाई प्रदेश कमिटीको बैठकमा एमाले नेता कार्यकर्ताहरूले अबिर र खादा लगाएर स्वागत गरेका थिए । 

पार्टीमा फर्किएका नेता कार्यकर्ताहरूलाई केन्द्रीय संगठन कमिटीसँगको परामर्शमा उचित जिम्मेवारी दिइने प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

View : 316

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved