Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

माओवादी महानगर सम्मेलन

चुनाव रोक्ने प्रचण्ड इच्छामा जनार्दन चुनौती

उद्‌घोष सम्वाददाता
१० वैशाख २०८२, बुधवार

विराटनगर । चुनाव हुनै नदिने नियत राखेर नेताहरूले अधिवेशन स्थगित गरे पनि माओवादी विराटनगर महानगरमा गुटगत प्रतिष्पर्धा पेचिलो बनेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा समूहबीचको तीव्र टकरावकै कारण महानगरको पदाधिकारी नछानी सोमबार साँझ अधिवेशन स्थगित भएको हो ।

आइतबार सुरू भएको अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘गुटबन्दी गरे त्यो घातक हुने’ चेतावनी दिँदै सहमतिमा नेतृत्व छान्न निर्देशन दिएर गएका थिए । 

प्रचण्ड समूहले महानगर अध्यक्षका लागि अहिलेकी पार्टी सचिव नमिता न्यौपानेलाई अघि सारेको छ । उनकै नाममा सहमति जुटाउन भन्दै प्रचण्ड पक्षका नेताहरू जोडबल गरिरहेका छन् । 

तर, अधिवेशनको अध्यक्ष मण्डलको नेतृत्व गरिरहेका शिवकुमार मण्डल आफै भने जनार्दन समूहका नेता हुन् । मण्डलसहितका जनार्दन समूहका नेताहरू हालका उपाध्यक्ष दिनेश राजवंशी देवलाई महानगरको अध्यक्ष बनाउन बल गरिरहेका छन् । 

यसरी नेताहरूबीचको गुटगत टकरावले ८१ सदस्यीय महानगर कमिटी छानिइसकेका बेला पनि पदाधिकारी नछानी अधिवेशनको बन्दसत्र स्थगित भएको हो । 

‘सकेसम्म चुनाव नगर्नु भन्ने निर्देशन पालना गर्ने काम भइरहेको छ, सहमति खोज्ने प्रयासमा लागेका छौं’, माओवादीका एक केन्द्रीय सदस्यले भने ‘यदि सहमति हुनै नसक्ने अवस्था भयो भने चुनाव हुन पनि सक्छ । के गर्ने भन्ने निर्णय सम्भवतः बुधबार दिनभरीमा हुनसक्छ ।’ 

३५६ जना प्रतिनिधिहरूबीचबाट चुनाव नगराई सहमतिमा माओवादीले ८१ जना नगर सदस्य छानिसकेको छ । तिनै ८१ जनाले मात्रै पदाधिकारी छान्ने छन् । तर, नगर सदस्यहरूलाईसमेत पदाधिकारी छान्न नदिने बरू नेताहरू बसेर सहमति खोज्ने प्रयास माओवादीभित्र भइरहेको छ । 

नेताहरूले यस्तो प्रयास गरे पनि जनार्दन समूहले भने प्यानलको नाम सूची तयार पारेर भोट माग्न थालिसकेको छ । 

‘हामी सहमतिका बाधक होइनौं तर संस्थापन पक्षले जबरजस्ती गर्न खोजे मान्दैनौ, हामी प्यानल बनाएर सदस्यहरू माझ मत माग्दै हिँड्न थालिसक्यौं’ जनार्दन समूहका एक उम्मेदवारले भने ‘हाम्रो अध्यक्षको उम्मेदवार दिनेशजी हो, सचिवमा आजम परवेज उम्मेद्वार हो ।’

अर्को समूहले प्यानल नै बनाएर सदस्यहरूसँग मत माग्न थालेपछि अध्यक्ष प्रचण्ड समूहका उम्मेदवारहरूले पनि घरदैलो थालेका छन् । यो समूहले अध्यक्षमा नमिता न्यौपाने र सचिवमा केपी चौलागाईँलाई अगाडि सारेको छ । 

अध्यक्षका अर्का आकांक्षी ज्ञानु भट्टराईलाई भने नमिता न्यौपानेको दाबी बलियो पार्न संस्थापन पक्षले अघि सारेको नेताहरूले बताएका छन् । 

‘ज्ञानुजीको उम्मेदवारी नमिताजीको पल्ला भारी पार्नलाई मात्रै हो, सहमति हुने भए उहाँले नमिताजीलाई छाड्नुहुन्छ । चुनाव नै हुने भए पनि त्यही टिमलाई सघाउनु हुन्छ ।’ 

यसरी महानगरको सदस्यमा छानिएर पदाधिकारी दाबी गरिरहेका कार्यकर्ताहरूले चुनावी तयारी गरिरहँदा नेताहरू भने सहमतिकै प्रयास गरिरहेका छन् । 

विराटनगर महानगर अधिवेशनमा आफ्नो समूहको वर्चश्व स्थापित गराउन प्रचण्ड पक्षका नेताहरू अमनलाल मोदी, जीवन आचार्य, विजय विश्वासहरू एकातिर अनि जनार्दन समूहका शिवकुमार मण्डल, भोगेन्द्र यादव लगायतका नेताहरू अर्कातिर भएका छन् । 

जनार्दन समूहकै नेता इन्द्र आङ्बो भने महानगरको नेतृत्व छान्ने सवालमा अहिलेसम्म मौन रहेको नेताहरू बताउँछन् ।

विराटनगर महानगरभित्रको संगठनमा जनार्दन पक्षीय नेता शिवकुमार मण्डल राम्रै प्रभाव राख्ने नेता मानिन्छन् । महानगरमा मण्डलको होल्ड राम्रो भएको भन्दै चुनाव भए जितिने आंकलनमा यो समूह छ । 

उता प्रचण्ड पक्षका नेताहरू चुनाव भए पनि आफ्नै पक्षको जीत हुने निश्चित भएको दाबी गरिरहेको छ । दुवै समूहले जित्ने दाबी गरिरहे पनि चुनावमा जाने हिम्मत भने दुवै पक्षले गरिहालेका छैनन् ।

पार्टीको अधिवेशन पदाधिकारी नछानी स्थगित भए पनि खुला रूपमा त्यसबारे माओवादी कार्यकर्ताहरू बोल्नसक्ने अवस्थामा छैनन् ।

अध्यक्षमा मुख्यतः राजवंशी र न्यौपानेले दाबेदारी पेश गरिरहँदा तीन उपाध्यक्ष पदका लागि धेरै जनाको दाबी छ । 

सरस्वती ओझा, शारदा मैनाली, दिनेश कामत, बद्री दाहाल, सनोज यादव, शिवराम थन्दार, पुष्पा गौतम, रामवती कामत र धर्मलाल माझी उपाध्यक्षका आकांक्षी हुन् । सहसचिवमा चम्पा कार्की र भरत यादवको दाबी छ ।  

एकातिर आकांक्षीको लर्को अनि अर्कातिर चुनाव हुनै नदिने नेताहरूको इच्छाका कारण सजिलै पदाधिकारी छनोट हुन नसकेपछि विराटनगर–४ स्थित शुभ ब्याङ्क्वेटबाट नेतृत्व चयनको सवै प्रक्रिया पार्टी कार्यालयमा सारिएको छ । 

महानगर कोषाध्यक्षमा भने मनिष सोनीको मात्रै दाबी परेको छ । यद्यपि उनी निर्विरोध चयन भएको घोषणा भने भएको छैन । माओवादीको विधान अनुसार महानगर कमिटी ९९ जनाको हुनेछ । 

जसमध्ये अधिवेशनबाट ८१ जना निर्वाचित हुनेछन् भने १८ जना कार्यसमितिले मनोनित गर्नेछ ।

View : 991

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved