विराटनगर । पाथीभरा देवीको दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा जलेर चारजना यात्रुको मृत्यु भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि सोमबार विहान जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरोमा सडक छेउमा रहेको विद्युतको तार खसेर आगलागी भएको जनाइएको छ ।
सडक छेउमा लत्रिएर रहेको करेन्ट प्रवाह भइरहेको तारले विहान करिव साढे ५ बजेतिर जिपमा छुँदा आगलागी भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० का जिप चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया बालिका आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ की ६९ वर्षीया सरिता पौडेल र उनका पति ७० वर्षीय बृद्ध विनोद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
उक्त जिपमा ६ जना यात्रु चढेको खुलेको छ । ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जनाइएको छ ।
मृतक आध्या घाईते सविनाकी छोरी रहेको जनाइएको छ । सरिता र विनोद पौडेल सविनाका आमाबुबा रहेको खुलेको छ ।
View : 542
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved