Biratnagar, Morang, Nepal
२८ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

श्मशानघाट नपुगुञ्जेल पदको लालसा

अर्जुन निराैला
२८ साउन २०८३, बिहिवार

Advertisement

पूर्वीय दार्शनिक चार्वाकको एउटा भनाइ वा कहावत छ— ‘पित्वा–पित्वा पुनः पित्वा यावत पतति भूतले, उत्थाया च पुनः पित्वा पुनर्जन्म न विद्यते।’

अर्थात्— पिऊ, प्रशस्त पिऊ, पटक–पटक पिऊ, जबसम्म पिएर लडिंदैनौ तबसम्म पिऊ, उठेर फेरि पिऊ। पाप र पुनर्जन्म भन्ने मिथ्या कुरा हुन्, यसको कुनै प्रमाण छैन।

 

कतै यस्तै प्रकारको राजनीतिक निरन्तरता नेपालमा देखिन खोजिएको त होइन?

 

किनकि कार्यकर्तासँग लडेर भए पनि, सरकारसँग जुधेर भए पनि र केही नलाग्दा न्यायालयसँग गुहार मागेर भए पनि राजनीतिक सत्ता प्राप्त गर्नै पर्ने, अनि पद र प्रतिष्ठा जोगाउनै पर्ने! यसर्थ, पछिल्लो चरणका प्रायः सबै राजनीतिक दलका नेतृत्वकर्ताहरू हदैसम्मको पदीय निरन्तरता दिँदै, सकभर श्मशानघाट नपुगुञ्जेलसम्म पनि राजनीतिक पद, पैसा र शक्तिको पछि पागल भएर दौडिरहेका छन्।

 

उबेलाका नेताहरू (जो प्रायः दिवंगत भइसकेका छन्) नीति, नियम, देश र कालपरिस्थितिलाई दृष्टिगत गरेर मात्र कुनै पनि कार्य अगाडि बढाउँथे वा आवश्यक निर्णय लिन्थे।

चाहे त्यो २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश प्रवेश गर्ने निर्णय होस्, २०३६ सालको आन्दोलनबाट जनमतसङ्ग्रह घोषणा गराउने दबाब होस् वा २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनाार्थ गरिएको जनआन्दोलन होस्— सम्पूर्ण निर्णयहरू अत्यन्त सुझबुझ र दूरगामी प्रभाव पार्ने गरी लिएको देखिन्छ।

तर, केही वर्षयताका राजनीतिक निर्णयहरू विभिन्न प्रभावमा परी नितान्त आफू, आफ्ना परिवार र वरिपरि जयजयकार गर्ने आफन्त तथा कार्यकर्ताको हितलाई ध्यानमा राखेर गर्ने गरिएको छ।

जसले गर्दा पार्टीभित्रका आम कार्यकर्ता, शुभचिन्तक र शुभभावना राख्ने जनतामा चिन्ता र नैराश्य बढेको छ।

 

राजनीतिमा विकृति बढ्दो छ। छल, बल, साम, दाम, दण्ड र भेदनीतिसमेत प्रयोग गरेर जसरी पनि, कुनै पनि हालतमा पदमा पुगेर शक्ति प्रदर्शन गर्नै पर्ने प्रवृत्ति देखिएको छ।

वास्तवमा यो रोग हो, भोक हो वा कामइच्छा हो, पत्ता लगाउन गाह्रो भएको छ।

 

साँच्चै नै जनता, समाज र देशको विकासका लागि केही गर्ने नै इच्छा हो भने त अन्य विभिन्न माध्यमबाट पनि उल्लेखनीय कार्यहरू गर्न सकिन्छ।

फेरि पनि, कुनै व्यक्तिले राजनीतिका माध्यमबाट समाज र देशका लागि केही गर्न चाहँदा एक वा दुई पटकसम्म राज्यका विभिन्न अङ्ग वा पदमा पुगेर अझ बढी उदाहरणीय कार्य गर्ने इच्छा राख्नु नाजायज होइन।

तर, एउटै व्यक्ति पटक–पटक मेयर, सांसद, मन्त्री, प्रधानमन्त्रीलगायत राष्ट्रपतिसम्म बन्नु पर्ने?

 

त्यति मात्र कहाँ हो र, पार्टी नेतृत्वमा पनि बारम्बार सोही अनुहार दोहरिरहनु पर्ने! अनि, उदाहरणीय र दूरगामी कार्यभन्दा अनुदारणीय र अनुत्पादक कार्य दोहोरिरहने, पदको सदुपयोगभन्दा दुरुपयोग बढी हुने, फेरि पनि पदकै निम्ति सती जान तयार!

 

वास्तवमा, कुनै पनि व्यक्ति वा नेताको जोशिलो विचार, प्रभावकारी कार्यक्षमता, कार्यशैली र वितरण गर्ने तरिका एकदेखि दुई कार्यकालमा प्रस्ट थाहा हुन्छ।

यति हुँदाहुँदै पनि मिति सकिएको औषधि जबरजस्ती खुवाउन बाध्य पारिन्छ, जसको प्रभावले दुखाइ निको पार्नुको साट्टा घाउ झन् सङ्क्रामक भएर जान्छ। कमसेकम एउटा असल नेता वा नेतृत्वकर्तामा त्याग, तपस्या, बलिदान, समर्पण, सद् विचार, समभावना र सही निर्णय गर्ने क्षमता त हुनैपर्ने हो।

 

विभिन्न देशमा विगतमा घटेका घटना र दुर्घटनाहरूलाई पनि नियाल्नुपर्ने हो। धेरै टाढा पनि जानु पर्दैन— नजिकैको छिमेकी देश भारतमा अङ्ग्रेज शासनका विरुद्ध स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्ने महात्मा गान्धीले सन् १९४५ अगस्ट १५ मा भारत स्वतन्त्र भएपछि आफूले सरकारको नेतृत्व नगरी जवाहरलाल नेहरूलाई प्रधानमन्त्रीको प्रस्ताव गरे।

 

टाढा किन जाने, हाम्रो देश नेपालमै पनि २०४६ सालको जनआन्दोलन लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा सफल भएपछि राजाले उनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा, “म होइन, कृष्णप्रसाद भट्टराईलाई प्रम बनाउनुहोस्” भनी सिफारिस गरे।

त्यति मात्र कहाँ हो र?

दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी आन्दोलनका नेतृत्वकर्ता नेल्सन मण्डेलाले पनि आन्दोलन सफल भएपछि एक कार्यकालको लागि मात्र राष्ट्रपतिको नेतृत्व सम्हाले।

 

दक्षिण अफ्रिकाकै रङ्गभेदविरोधी अर्का नेता ओलिभर टाम्बोले त कुनै पनि पद नलिई त्याग र समर्पण गरे। यस्ता कैयौँ उदाहरण स्वदेश र विदेशमा पाइन्छन्।

अर्थात्, राजनीतिलाई विशुद्ध सेवा र समर्पणको भावले अगाडि बढाउँदा खासै समस्या आउँदैन।

यदि हालिमुहाली वा समस्या आए पनि बेलैमा समाधान खोज्न सकिन्छ। तर, यसलाई घमण्ड, क्रोध, ईर्ष्या र वादविवादको विषय बनायो भने न पार्टी मौलाउँछ, न नेता रहन्छन्, न त राजनीति नै अगाडि बढ्छ।

 

एक नेताले अर्को नेतामाथि विषवमन गर्न थाल्यो भने यसैको अग्निमा जलेर सबै भष्म हुन्छन्।

बाँस रहे बाँसुरी बन्छ र बच्छ; त्यसैगरी पार्टी रहे नेता–कार्यकर्ता बन्छन् र राजनीति अगाडि बढ्छ।

अन्त्यमा–

धैर्य गरेमा सुख पाइन्छ, क्रोध गरेमा ताप। मेल भएमा उन्नति हुन्छ, फुट भएमा नाश।।

 

 

 

                                                                                                                                                                                                                                                     (अर्जुन निरौला नेपाली कांग्रेस, मोरङका नेता हुन्।)

View : 80

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved