Biratnagar, Morang, Nepal
२६ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

अभिषेक गिरीविरुद्ध उजुरीको चाङ, आउन थाले पीडितहरू प्रहरी सम्पर्कमा

उद्‌घोष संवाददाता
२६ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । विभिन्न आपराधिक तथा आर्थिक मुद्दामा अनुसन्धान अघि बढेसँगै विराटनगरका अभिषेक गिरीबाट पीडित भएको दाबी गर्ने व्यक्तिहरू धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार गिरीसँग सम्बन्धित नयाँ सूचना, उजुरी तथा प्रमाणहरू निरन्तर प्राप्त भइरहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा कारागारभित्र भएका आर्थिक शोषणदेखि निर्माण व्यवसायसँग जोडिएका ठगी र आपराधिक विश्वासघातका घटनासम्म जोडिने आधारहरू भेटिएको उनले जानकारी दिए ।

कटवालका अनुसार अनुसन्धानका क्रममा प्राप्त विवरणले गिरीको गतिविधि कुनै एउटै घटनामा सीमित नरहेको संकेत गरेको छ । 

कारागारमा रहँदा होस् वा रिहापछि बाहिर रहेर होस्, विभिन्न माध्यमबाट आर्थिक प्रभाव कायम राखेको भन्ने विषयमा प्रहरीलाई निरन्तर सूचना प्राप्त भइरहेको उनले बताए । 

उनका अनुसार, प्राप्त सूचना र उजुरीका आधारमा प्रमाण संकलन तथा अनुसन्धानको दायरा फराकिलो हुँदै गएको छ ।

एक सातासम्म मोरङ प्रहरीको नियन्त्रणमा रहेका गिरी अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नियन्त्रणमा छन् । सीआईबीले उनीमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार गिरीविरुद्ध पछिल्ला दिनमा प्राप्त अधिकांश जानकारी मोरङ कारागारसँग सम्बन्धित छन् । 

कारागारमा उनी प्रभावशाली चौकिदारको भूमिकामा रहँदा कैदीबन्दीमाथि आर्थिक दबाब सिर्जना गरिएको, विभिन्न बहानामा रकम असुली गरिएको तथा कैदीबन्दीका परिवारलाई समेत रकम पठाउन बाध्य बनाइएको भन्ने विवरणहरू प्रहरीसमक्ष आएका छन् ।

प्रहरी स्रोतका अनुसार कैद भुक्तान गरेर बाहिरिएका केही व्यक्तिले गिरीले नयाँ आउने कैदीबन्दीलाई सुरुदेखि नै त्रसित बनाउने, पैसा नदिए शारीरिक तथा मानसिक दबाब दिने र परिवारबाट रकम मगाउन बाध्य पार्ने गरेको बताएका छन् । ती सबै दाबीको स्वतन्त्र पुष्टि गर्न प्रहरी थप प्रमाण संकलनमा जुटेको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार कारागारभित्र हुने यस्तो गतिविधि कुनै नयाँ विषय भने होइन । चौकिदार, नाइके र भाइनाइके प्रणालीको दुरुपयोग गर्दै कैदीबन्दीमाथि आर्थिक तथा अन्य प्रकारका दबाब सिर्जना हुने गुनासो विगतदेखि नै उठ्दै आएका छन् । 

अभिषेक गिरी प्रकरणपछि भने ती गुनासाहरू पुनः गम्भीर रूपमा अनुसन्धानको केन्द्रमा पुगेका छन् । प्रहरी उपरीक्षक कटवाल गिरी प्रकरणपछि देशैभरका कारागार ‘रिफर्म’ गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँछन् । 

‘यो घटनाले कारगारभित्र हुने डरलाग्दो अपराध देखाउँछ’ उनले भने, ‘सबै कारगारभित्रको आन्तरिक प्रशासनको शूक्ष्म निगरानी जरुरी देखिएको छ ।’

प्रहरी उपरीक्षक कटवालका अनुसार गिरी प्रकरणमा अनुसन्धान केवल व्यक्तिविशेषमा सीमित नराखी कारागारभित्रको समग्र प्रणाली, आर्थिक कारोबार र जिम्मेवार व्यक्तिहरूको भूमिकासमेत अध्ययन भइरहेको छ । प्राप्त प्रमाणका आधारमा आवश्यक परे थप व्यक्तिमाथि पनि अनुसन्धान अघि बढ्न सक्ने उनले संकेत गरे ।

अनुसन्धानमा प्राप्त सूचनाअनुसार कैदीबन्दीका लागि उपलब्ध गराइने दैनिक सुविधा, श्रमबाट प्राप्त आम्दानी तथा अन्य आर्थिक गतिविधिमा समेत अनियमितता भएको हुन सक्ने आशंकामा प्रहरीले अध्ययन गरिरहेको छ । 

कारागारभित्र सञ्चालित टेलिफोन सेवा, दैनिक उपभोग्य सामग्री तथा अन्य सेवामा अस्वाभाविक शुल्क असुलिएको भन्ने आरोपहरू पनि अनुसन्धानको विषय बनेको प्रहरी उपरीक्षक कटवालले बताए ।

यसैबीच निर्माण व्यवसायीसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघातको आरोपमा सीआईबीले छुट्टै अनुसन्धान अघि बढाएको छ । 

प्रहरीका अनुसार सरकारी आयोजना सम्पन्न गरिदिने आश्वासन, निर्माण उपकरण नियन्त्रणमा लिने, सवारीसाधन बिक्री गर्ने तथा सम्पत्ति हस्तान्तरण गराउनेजस्ता आरोपहरूको पनि प्रमाण संकलन भइरहेको छ ।

प्रहरीको भनाइअनुसार अनुसन्धानको क्रममा थप पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेकाले घटनाको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै जानेतर्फ अघि बढेको छ । 

आर्थिक कारोबार, बैंक विवरण, सम्पत्ति हस्तान्तरण, डिजिटल प्रमाण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा अनुसन्धानलाई निष्कर्षतर्फ लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर २०७९ सालमा कारागारमुक्त भएका थिए । रिहाइपछि उनले सामाजिक संस्था स्थापना गर्दै सार्वजनिक रूपमा समाजसेवामा सक्रिय देखिने प्रयास गरेका थिए ।

विद्यालय तथा विभिन्न सामाजिक कार्यक्रममा सहयोग गर्दै सार्वजनिक छवि सुधार्न खोजिएको देखिए पनि प्रहरीको दाबीअनुसार गिरीका आपराधिक गतिविधि भने पूर्ण रूपमा रोकिएका थिएनन् ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved