Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीप कलेजमा जलवायु सम्मेलन

मिचाहा प्रजातिका बनष्पतिदेखि अम्ल बर्षा र तापमान बृद्धिको जोखिमसम्म चर्चा
उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले शुक्रबार जलवायु सम्मेलनको आयोजना गरेको छ । 

दोस्रो पटक आयोजित सम्मेलनमा विद्यार्थीहरूले मिचाहा प्रजातिका वनस्पतिदेखि अम्ल वर्षा, तापमान वृद्धि, प्लास्टिक प्रदुषण, खाद्य सुरक्षादेखि ओजन तहको विनाश लगायतका विषयमा खोजमूलक प्रस्तुतिकरण गरेका हुन् ।

वातावरण क्षेत्रमा ‘स्मल एक्ट, बिग इम्प्याक्ट’ अर्थात सानो प्रयासबाट ठुलो प्रभाव पार्न सकिने मुख्य नाराका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा कलेजका विज्ञान सङ्कायका विद्यार्थीहरूले गहिरो अनुसन्धान र खोजबाट विषयहरू छनौट गरेर आठवटा प्रस्तुतिकरण गरेका हुन् ।

सम्मेलनकी प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की सह–प्राज्ञ डा. इन्द्रमणि भगतले शिक्षादीपले आफ्नो कलेजका विद्यार्थीहरूलाई सहभागी गराएर उत्कृष्ट सम्मेलन आयोजना गरेको बताइन् । 

उनले विद्यार्थीहरूले खोज अनुसन्धानबाट वातावरण क्षेत्रका समस्या र समाधानका उपायहरू समेत आफ्नो प्रस्तुतिकरणमा समावेश गरेर वातावरण संरक्षणमा योगदान गरेको बताइन् ।

‘विद्यार्थीहरूले राम्रो तरिकाहरू सुझाव दिएका छन्, कन्फ्रेन्सले उनीहरूको मनोबल पनि बढाएको छ’ उनले भनिन्, ‘वातावरणमा परिवर्तन आइरहेको छ, ग्लोबल वार्मिङप्रति विद्यार्थीहरूको सोचले भविष्यमा आउन सक्ने वातावरणीय जोखिमबारे अहिलेदेखि नै गर्नुपर्ने कामबारे जानकारी गराएका छन् ।’

कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले विद्यार्थीहरूलाई वातावरणको क्षेत्रमा धेरै ठुलो चासो रहेको बताए । उनले त्यसका लागि खोज अनुसन्धान समेत गरेर प्रस्तुतिकरण तयार पारेको जानकारी दिए । 

‘विद्यार्थीहरूले खोजमूलक रुपमा काम गरेका छन्, वातावरणीय संरक्षणका क्षेत्रमा विद्यार्थीहरूले नै अभियान सुरु गरेका छन्, उनीहरूले नै त्यसको नेतृत्व पनि गरेका छन्’ उनले भने ।

सम्मेलनमा शिक्षादीप कलेजका अध्यक्ष भीम पराजुली, कलेजका सह प्राध्यापक शैलेन्द्र शिवाकोटी, चिफ डाइरेक्टर रमेश कुमार मण्डल, कन्भेनर डा. ललित नारायण मण्डर, एलिजा आचार्य शिवाकोटी, विज्ञान सङ्काय प्रमुख नविन कुमार राय लगायत विभिन्न सङ्कायका प्रमुखहरु, सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको कलेजका सञ्चालक रामचन्द्र अधिकारीले जानकारी दिए ।

 

View : 557

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved