Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

काठमाडौं बाहिरको पहिलो विद्युतगृह ‘शिखरवास’ बारे पुस्तक लोकार्पण

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

विराटनगर । काठमाडौं उपत्यका बाहिर मोरङको लेटाङस्थित शिखरवासमा निर्माण गरिएको पहिलो जलविद्युत केन्द्रबारे जानकारी दिने महत्वपूर्ण पुस्तक ‘शिखरवास’ लोकार्पण गरिएको छ । 

नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाज कोशी प्रदेश समितिले प्रकाशन गरेको सो पुस्तकको सोमबार एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले विराटनगरमा लोकार्पण गरेका हुन् ।

समाजका कोशी प्रदेश अध्यक्ष प्रकाशनारायण सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समाजकै केन्द्रीय अध्यक्ष डा सन्तोषानन्द मिश्र, महासचिव गोविन्द्रप्रसाद पौडेल, लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र लावती, नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजीव सिंह, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, प्राधिकरणका पूर्व क्षेत्रीय निर्देशक सतिषकुमार कर्ण, महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिना लगायतले पुस्तकको महत्वबारे चर्चा गर्दै शुभकामना दिएका थिए ।

विसं २००० बैशाख ६ गते शिखरवासमा निर्मित विद्युत गृहबाट एक हजार ६०० किलोवाट क्षमताको विद्युत उत्पादन गरी विराटनगरको रानीस्थित जुटमिल क्षेत्रसम्म विद्युत विस्तार गरी पहिलो पटक बालिएको थियो । 

उक्त विद्युत आयोजना तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरको जन्मदिनको दिन औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

१९९६ सालमा मोरङ हाइड्रो इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड स्थापना गरी सोही कम्पनीमार्फत निजी क्षेत्रको समेत सहभागीतामा उपत्यका बाहिर विद्युत उत्पादन, प्रशारण र वितरण गरिएको दाबी छ । 

त्यस्तै पहिलो पटक यही विद्युत आयोजनाबाट जनताले समेत विद्युत उपभोग गरेको जनाइएको छ । 

वि.सं. २०१९ र २०२१ सालको बाढीले आयोजनामा क्षति पुगेपछि अलपत्र बनेको आयोजनालाई २०३१ सालमा तत्कालिन सरकारले नै खारेज गरेको थियो । 

पुस्तक विमोचन कार्यक्रमको  सञ्चालन समाजका सचिव हरि अधिकारीले गरेका थिए भने उपाध्यक्ष नेत्र घिमिरेले कार्यक्रममा उपस्थित पूर्व कर्मचारीसहितका आमन्त्रितलाई स्वागत गरेका थिए ।

View : 406

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved