Biratnagar, Morang, Nepal
२५ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

फारबीसगञ्जमा बन्ने भयो अर्को विमानस्थल

उद्‌घोष संवाददाता
२५ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगरको रानी सीमानाका भन्दा १३ किलोमिटर दक्षिणमा पर्ने फारवीसगञ्जमा विमानस्थल बन्ने भएको छ ।

भारतको बिहार प्रान्तअन्तर्गत अररिया जिल्लामा पर्ने पुरानो शहर फारवीसगञ्जमा अर्धनिर्मित अवस्थामा पुरानै विमानस्थल थियो । सो विमानस्थललाई अब पूर्णरुपमा निर्माण गरिने भएको छ ।

विहारका मुख्यमन्त्री सम्राट चौधरीले सो विमानस्थल बन्ने कुराको घोषणा मंगलबार फारवीसगञ्जको हरिपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा गरेका हुन् ।

उनले विमानस्थल निर्माणको सम्पूर्ण कागजात जिल्ला प्रशासनले प्रदेश सरकारलाई सुम्पिसकेको हुँदा आगामी आर्थिक वर्षबाट विमानस्थल निर्माण कार्य थालिने जानकारी दिए ।

अंग्रेज सरकारकै पालामा निर्मित फारवीसगञ्ज विमानस्थल सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतीय सैनिकले प्रयोगमा ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकको नोट बोकेर काठमाडौं उड्ने तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज अपहरण गरी २०३० सालमा सोही विमानस्थलमा उतारिएको थियो ।

विमान अपहरण गर्नेमा नेपाली कांग्रेसका दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेललगायत थिए ।

भारत सरकारले विमानस्थल र सडक निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

फारवीसगञ्ज नजिकै पूर्णिया जिल्लामा भरखरै मात्र विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । अर्धनिर्मित अवस्थामा रहेको वीरपुरको विमानस्थलको पनि निर्माण गरिने भएको छ ।

View : 57

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved