सन्दर्भ : सीता जयन्ती
पौराणिक ग्रन्थ तथा शास्त्रहरूका अनुसार चैत्र शुक्ल नवमीमा राम नवमी (राम जयन्ती) मनाइन्छ भने वैशाख शुक्ल नवमीमा सीता जयन्ती अर्थात् सीता नवमी मनाइन्छ। जसरी भाद्र कृष्ण अष्टमीमा कृष्ण जयन्ती र भाद्र शुक्ल अष्टमीमा राधा अष्टमी मनाउने परम्परा छ, त्यसैगरी यी प्राकट्य तिथिहरूलाई अत्यन्त पवित्र मानिन्छ।
यी पावन तिथिहरूमा आफ्नो शक्ति र गच्छे अनुसार विधि-विधानले पूजा-वन्दना गरी व्रत बस्ने मनुष्यले पृथ्वी दान गरे बराबरको फल, अविरल तीर्थ यात्राको पुण्य र सर्वभूत दयाको फल सहजै प्राप्त गर्दछन्।
भगवती सीताको प्रसन्नता नै समस्त मङ्गलको मूल आधार हो। त्यसैले, आफ्नो र जगतको कल्याण चाहनेहरूका लागि सीता नवमीको व्रत सर्वथा आदरणीय र फलदायी छ।
शास्त्र अनुसार, वैशाख शुक्ल नवमीका दिन पुष्य नक्षत्र र मङ्गलबारको शुभ संयोगमा सन्तान प्राप्तिको कामनाले राजा जनकले सुवर्ण (सुन) को हलोले खेत जोत्दै गर्दा पृथ्वीबाट माता सीताको प्राकट्य भएको थियो।
हलोको अग्रभाग (टुप्पो) लाई संस्कृतमा 'सीता' भनिन्छ। हलोको टुप्पोबाट प्रकट भएको हुनाले नै उहाँको नाम 'सीता' रहन गएको र संसारभर सोही नामले प्रख्यात हुनुभएको हो।
यस दिन मध्याह्न कालमा व्रत बसी राजा जनक, माता सुनयना, कुल पुरोहित शतानन्दका साथै हलो र पृथ्वी माताको पनि विशेष पूजा गर्नुपर्दछ। पूजा गर्दा 'श्री सीतायै नमः' मन्त्रको उच्चारण गर्दै श्रद्धा अर्पण गर्नुपर्दछ।
जगतजननी माता सीताको महिमा झल्काउने एउटा प्राचीन कथा छ। धेरै समय पहिले दक्षिण भारतमा देवदत्त नामका एक वेदपाठी र धर्मपरायण ब्राह्मण थिए।
उनकी पत्नी शोभना अत्यन्त सुन्दरी थिइन्। जीविकोपार्जनका लागि देवदत्त बारम्बार भिक्षाटनमा जाने गर्दथे। पति घरमा नभएको बेला शोभना कुसङ्गतमा लागेर व्यभिचारिणी भइन् र आफ्नो धर्म अनि पतिलाई त्यागी दिइन्। उनको रूपको जालमा परेर गाउँका अन्य पुरुषहरू पनि मार्गभ्रष्ट भए, जसले गर्दा पूरै गाउँ नै दूषित हुन पुग्यो।
पापकर्ममा लिप्त शोभनाको मृत्युपछि उनले आफ्नो दुष्कर्मका कारण चाण्डालको घरमा जन्म लिनुपर्यो। पूर्वजन्मको पापको फलस्वरुप उनले वर्षौंसम्म दारुण दुःख भोगिन् र भोकप्यासले व्याकुल भई गाउँ-सहर भौँतारिन थालिन्।
भौँतारिने क्रममा एक दिन उनी कौशलपुरी (अयोध्या) आइपुगिन्। संयोगवश त्यो दिन वैशाख शुक्ल नवमी अर्थात् सीता नवमीको पवित्र तिथि थियो, जसले समस्त पापको नाश गर्ने सामर्थ्य राख्छ।
अयोध्यावासीहरू कनक भवन अगाडि भव्य मण्डप बनाएर सीता जयन्ती मनाइरहेका थिए। भोकले छटपटिएकी ती महिलाले 'मलाई केही खान देऊ' भन्दै याचना गरिन्।
भक्तहरूले भने, "आज सीता नवमीको व्रत हो, आज अन्न दिन मिल्दैन, भोलि आउनू, हामी तिमीलाई प्रसादी दिनेछौँ।" तर उनले भोक सहन नसकी विलाप गरिरहिन्। उनको अवस्था देखेर एक भक्तले तुलसी र जल मात्र उनको मुखमा हालिदिए। सोही समयमा उनले प्राण त्याग गरिन्।
अन्जानमै भए पनि सीता नवमीका दिन तुलसी र जल ग्रहण गरेकाले उनको व्रत पूर्ण भयो। दयाकी प्रतिमूर्ति माता सीता ती पापिनीमाथि प्रसन्न हुनुभयो र उनलाई सम्पूर्ण पापबाट मुक्त गरिदिनुभयो।
तत्कालै स्वर्गबाट एउटा दिव्य विमान आयो र उनलाई सम्मानका साथ लिएर गयो। सीता नवमीको व्रतको प्रभावले उनी निर्मल भएर लामो समयसम्म स्वर्गमा रहिन्।
कालान्तरमा उनी कामरूप देशका महाराज जयसिंहकी महारानी 'कामकला' का रूपमा जन्मिन। आफ्नो पूर्वजन्मको पुन्यको प्रभावले उनले त्यहाँ अनेकौँ देवालयहरू निर्माण गरी सीतारामको प्रतिमा प्रतिष्ठापन गरिन्।
जसले सीता नवमीको यो महिमा सुन्छ, पढ्छ वा सुनाउँछ, उनीप्रति माता सीता सदैव प्रसन्न हुनुहुन्छ र अन्त्यमा वैकुण्ठ वास प्राप्त हुन्छ।
सीताया जननी मातर्महिषी जनमस्य च। पूजां गृहाण मद्दत्तां महाबुद्धे नमोस्तुते।।
(अर्थ: हे माता सीता, तपाईं राजा जनककी पुत्री र यो धर्तीकी सन्तान हुनुहुन्छ। मेरो यो श्रद्धापूर्वक अर्पण गरिएको पूजालाई स्वीकार गर्नुहोस्। हे महाबुद्धि र ज्ञानकी खानी, तपाईंलाई मेरो बारम्बार नमस्कार छ।)
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved