Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, प्रदेश सभामा पुगे तीन विधेयक (कार्यसूचीसहित)

उद्‌घोष सम्वाददाता
७ माघ २०८१, सोमवार

विराटनगर  । आज सोमबार दिउँसो २ बजेदेखि कोशी प्रदेश सभाको छैठौं तथा हिउँदे अधिवेशन सुरु हुँदैछ ।

विधेयक अधिवेशनका रुपमा सुरु हुन लागेको अधिवेशनमा सरकारले बिजनेस अभाव हुन नदिने दाबी गर्दै आएको छ ।

छैठौं अधिवेशन सुरु हुन लाग्दा सरकारले प्रदेशसभामा पठाएका तीनवटा विधेयक संसद सचिवालयमा दर्ता भएका छन् । एउटा संशोधन विधेयक र दुईवटा नयाँ विधेयक हुन् ।

सरकारले प्रदेशसभामा पठाएको प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक पुस २९ गते दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए ।

त्यस्तै पुस २६ मै दर्ता भएको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विधेयकलाई भने सोमबारको बैठकमा टेबुल गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति बनेको जनाइएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सोमबारको बैठकमा छैठौं अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख परशुराम खापुङले पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले दलको तर्फबाट बोल्ने सहमति भएको बताए ।

त्यसैगरी कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको २०८१ कात्तिक २ गतेको सिफारिस अनुसार प्रदेश प्रमुखद्वारा कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि छैठौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा सहमति भएको जनाइएको छ ।

View : 292

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved