विराटनगर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको घटनाले कोशी प्रदेशसभा बैठकमा महत्व पाएको छ । उनीहरू दुवै जना शनिबार पक्राउ परेका थिए ।
आइतबारको प्रदेशसभा बैठकमा बोल्दै नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले ओली, लेखकलगायतका नेताहरूको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका हुन् ।
उनीहरू पक्राउ परेको घटना ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै सांसदहरूले तत्काल रिहाइको माग पनि गरेका छन् ।
उनीहरूले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न बनेको आयोगको प्रतिवेदन नै पूर्वाग्रही रहेको दाबी गर्दै त्यसकै आधारमा गरिएको गिरफ्तारीलाई अस्वीकार्य हुने बताएका हुन् ।
बैठकमा सांसदहरूले नयाँ सरकार गठन भएको केही समय नबित्दै सुरू भएको धरपकडले विधिको शासनमाथि नै प्रश्न उठाएको टिप्पणी गरेका थिए ।
कांग्रेस सांसद डोल्मा तामाङ, एमालेका सांसदहरू सिर्जना राई, किशोरचन्द्र दुलाल, होमबहादुर थापा, मिना श्रेष्ठ लगायतले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै धरपकड सुरू गरेर विधिको शासनमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका थिए ।
राजनीतिक मतभेदका आधारमा शीर्ष नेताहरूमाथि कारबाही गर्नु लोकतान्त्रिक अभ्यास विपरित भएको उनीहरूको भनाइ छ ।
एमाले सांसद गीतादेवी रेग्मीले फरक विचार राख्ने नेताहरूलाई निशाना बनाउने प्रवृत्ति खतरनाक भएको उल्लेख गर्दै भनिन् ‘फरक विचार राख्ने नेताहरूप्रति राजनीतिक प्रतिशोध नसाध्नुस् यसले देशमा अस्थिरता ल्याउँछ ।’
विशेष समयमा नेकपा एमाले संसदीय दलको तर्फबाट बोल्दै उपनेता तिलकुमार मेन्याङ्बोले भने पक्राउको विषयप्रति कडा असन्तुष्टि जनाए ।
नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै उनले भने ‘ठूल्ठुला परिवर्तनपछि उठेका क्रिया–प्रतिक्रियालाई दलहरूले सधैं सावधानीपूर्वक हल गर्दै आएको इतिहास छ । अहिलेको अवस्थाले त्यस परम्परालाई चुनौती दिएको संकेत गर्छ ।’
शनिबार ओली र रमेश लेखक पक्राउ परेपछि राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ ।
भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको सरकारी दाबी छ ।
एमालेले भने प्रतिवेदनलाई पूर्वाग्रही भन्दै अस्वीकार गर्दै आएको छ ।
काठमाडौं जिल्ला अदालतले ओली र लेखक दुवैलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ओली भने स्वास्थ्यका कारण अस्पतालमा छन् ।
एमालेले कोशी प्रदेशसहित देशभरका जिल्ला प्रशासनहरूमा ओली लेखक पक्राउको विरोधमा आइतबार ज्ञापनपत्र बुझाएको छ ।
View : 167
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved