विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरोले माध्यमिक विद्यालय र स्वास्थ्य केन्द्रसहित आधा दर्जन घरका करीव २८ घर परिवार विस्थापित भएका छन् ।
पहिरोले एउटा माध्यमिक विद्यालय क्षतिग्रस्त बनेको छ । त्यस्तै दुईवटा माइक्रोहाइड्रो (लघु जलविद्युत) मा पूर्ण रुपमा क्षति पुगेको जनाइएको छ ।
संखुवासभा प्रहरीका अनुसार पहिरोका कारण तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको परिवार विस्थापित भएको छ ।
त्यस्तै, पहिरो कै कारण सिलिचोङ–१ की कुन्ती राई, धनपूर्ण राई, मंगलबहादुर राई, सुकप्रसाद राई, मीरा राई, धनमान राईको परिवार समेत विस्थापित भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी र नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
विद्यालयको करीव तीन सय मिटर माथिबाट खसेको पहिरोले छानासहित पर्खाल भत्काएको छ ।
विद्यालयमा क्षति पुग्दा पठनपाठन बन्द भएको छ । पहिरोले थप क्षति पुग्न सक्ने भन्दै विद्यालयभित्र कागजात र कम्प्युटर लगायतका सामग्रीहरू भने नेपाली सेनाले सुरक्षित स्थानमा सारेको छ ।
सिलिचोङ–४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्री क्षति भएको छ ।
पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि विस्थापित भएका स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको जनाइएको छ । प्रभावित क्षेत्रमा जिल्ला जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरी सुरक्षा सतर्कताको काम गरिरहेको छ ।
ठूलो संख्यामा मानिस विस्थापित हुनुका साथै विद्यालय, स्वास्थ्य संस्था र स्थानीय माइक्रोहाइड्रोमा क्ष्ति पुगेपछि सिलिचोङ गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । पहिरोले माइक्रोहाइड्रोमा क्षति पुग्दा विद्युत र संचार सेवा समेत अवरुद्ध भएको जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले क्षति पुगेका क्षेत्रको अनुगमन गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरेका छन् ।
उनले सिसुवास्थित ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुग्दा करीव ६ सय घरपरिवार अन्धकार भएको बताए ।
शनिबार रातिदेखि नै परेको अविरल वर्षाका कारण पहाडी क्षेत्रमा बाढीपहिरोको क्षति बढेको छ ।
तेन्छोङ र नेवाटारसहित होयेङ्ला, चेप्चेवा, याङ्सिम र गोगानेमा समेत पहिरोको जोखिम रहेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । केही स्थानीय भने सुरक्षित स्थानमा रहेका आफ्नको घरमा आश्रय लिएका छन् ।
बर्षात नरोकिएका कारण अधिकांश ग्रामीण सडक र गोरेटो बाटो अवरुद्ध भएकोले उद्दारमा समेत कठिनाई भएको जनाइएको छ ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved