Biratnagar, Morang, Nepal
२५ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अभिषेक गिरीको कालोधन्दा : अपराधबाट आर्जित धनले जग्गैजग्गा

भय, धम्की, असुली र जालसाजीको जगमा उभ्याइएको उनको यो विलासी आर्थिक जीवनको  ठूलो हिस्सा देशका विभिन्न सुविधायुक्त र व्यापारिक स्थानहरूमा जग्गा खरिद गर्न प्रयोग भएको पनि पाइएको छ ।
उद्‌घोष संवाददाता
२५ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । १० वर्षभन्दा लामो जेल जीवन अनि जेलबाट बाहिर निस्कनासाथ सानशौकतयुक्त दैनिकी । अघिपछि दर्जनौं युवाको लावालस्कर अनि हरेक दिनजसो विराटनगरका महंगा होटलहरूमा मस्ती । विराटनगर–८ का अभिषेक गिरीको यति ठूलो खर्चको स्रोत के थियो होला ? 

अहिले प्रहरी नियन्त्रणमा रहेका ४८ वर्षीय गिरीको यस्तो वैभवशाली दैनिकीको मुख्य स्रोत नै अपराधबाट आर्जित धन रहेको तथ्य खुलेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र मोरङ प्रहरी टोलीले गरिरहेको अनुसन्धानको प्रारम्भिक निचोडका अनुसार गिरीले अपराधको आडमा आर्जित पैसाले विराटनगरमा मात्रै होइन, काठमाडौंसम्मै जग्गैजग्गा जोडेको भेटिएको छ ।

भय, धम्की, असुली र जालसाजीको जगमा उभ्याइएको उनको यो विलासी आर्थिक जीवनको ठूलो हिस्सा देशका विभिन्न सुविधायुक्त र व्यापारिक स्थानहरूमा जग्गा खरिद गर्न प्रयोग भएको पनि पाइएको छ । 

मोरङ जिल्ला अदालतबाट थुनामुक्त हुनासाथ सीआईबीको विशेष टोलीले गिरीलाई काठमाडौं लगेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार गिरीको अपराध गर्ने र सम्पत्ति हडप्ने शैली परम्परागत गुन्डागर्दीभन्दा निकै भिन्न, परिष्कृत र योजनाबद्ध देखिन्छ । जसमा उनी पहिले ठूला व्यवसायीहरूसँग राजनीतिक पहुंच र उच्च नेतृत्वसँगको निकटताको धाक लगाउँदै सम्बन्ध स्थापित गर्थे । 

यसरी सुरूमा विश्वास जित्ने र पछि तिनै व्यवसायीहरूलाई चौतर्फी आर्थिक दबाब र मानसिक त्रासमा पारेर कंगाल बनाउँदै उनीहरूको जायजेथा आफ्नो कब्जामा लिने गिरीको मुख्य हतियार बनेको देखिन्छ ।

हेटौंडास्थित श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठ यसका प्रतिनिधि पीडित हुन्, जसलाई  हुलाकी राजमार्ग निर्माणका क्रममा गिरीले विभिन्न आयोजनाको ठेक्का मिलाइदिने प्रलोभन देखाएर आफ्नो सञ्जालमा पारेका थिए । 

गिरीले श्रेष्ठको एकल ठेक्कालाई रणनीतिक रूपमा टुक्रयाएर आफ्नो कम्पनी आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत पेटी ठेक्का घुसाए, तर काम अघि बढाउनुको साटो व्यवसायीलाई नै सिध्याउने धम्की दिन थाले ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपमशमशेर जबराका अनुसार गिरीले सडकका एक प्रतिष्ठित ठेकेदारलाई सरकारी ठेक्का पारिदिने बहानामा सुरूमा ठूलो रकम असुली गरेको र पछि कामै नगरिदिई उल्टै ज्यान मार्ने धम्की दिएर सम्पत्ति हडप्ने प्रपञ्च रचेका थिए ।

व्यवसायी श्रेष्ठको कम्पनीका महंगा उपकरण र सवारीसाधनहरू, जस्तै हिताची–११० एक्स्काभेटर र ना६ख १४०६, ना८ख ५९२७ तथा ना६ख ७४५७ नम्बरका टिपरहरू गिरीले नियन्त्रणमा लिएर कवाडीमा समेत बिक्री गरिदिएको जाहेरीमा उल्लेख छ । 

धम्की र त्रासको यो श्रृंखला यत्तिमै रोकिएन, गिरीले श्रेष्ठ र उनको परिवारलाई धम्की दिंदै काठमाडौंको अत्यन्तै महंगो र सुविधायुक्त क्षेत्र बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर–जग्गा आफ्नी श्रीमती सोनु आचार्यको नाममा जबर्जस्ती राजीनामा पास गराउन बाध्य पारेका थिए ।

अभिषेक गिरीको असुली धन्दा कारागारको चार पर्खालभित्र पनि उत्तिकै भयानक र संगठित रूपमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

मोरङ कारागारमा कैद रहदा उनले त्यहाँभित्रका कैदीबन्दीहरूले तयार पारेका मुढा र गलैंचाको कमाइमा समेत आफनो हिस्सा खोज्दै लामो समयसम्म असुली धन्दा चलाए । 

विगत चार वर्षको अवधिमा कैदीबन्दीको श्रम र उत्पादनबाट संकलन भएको कुल १ करोड ७ लाख रूपैयाँ गिरी र उनका सहयोगीहरूको बैंक खातामा सिधै पुग्ने गरेको बैंकिङ कारोबारको विवरणले पुष्टि गरेको छ ।

काठमाडौं र चितवनका ठूला व्यापारीहरूले कारागारबाट मुढा खरिद गरेबापतको भुक्तानी गिरीका खास सहयोगी एवं नेपाली कांग्रेस कटहरी–२ का वडा सभापति सञ्जयकुमार मण्डल र गिरीकै विभिन्न बैंक खाताहरूमा जम्मा गरिदिने गरेका थिए ।

प्रहरीले फेला पारेको बैंक भौचर र डिजिटल कारोबारको विवरणअनुसार सन् २०२६ को जुनसम्म मात्रै गिरी र उनका सहयोगीको खातामा २४ लाख रूपैयाँभन्दा बढी रकम जम्मा भएको देखिएको छ । कैदीबन्दीको कमाइ र उनीहरूका लागि आउने सरकारी गर्मी भत्ताबापतको रकम थियो त्यो ।

मोरङका एसपी कवित कटवालका अनुसार कारागारभित्रको यो अवैध रकम असुलीमा अभिषेक गिरी र उनको बाह्य सञ्जालको प्रत्यक्ष संलग्नता भेटिएको छ र यसमा संलग्न अन्य व्यक्ति तथा कारागारका केही कर्मचारीहरूमाथि समेत सुक्ष्म अनुसन्धान भइरहेको छ ।

कारागारको आन्तरिक प्रशासन र कैदीबन्दीहरूलाई नियन्त्रणमा लिएर महिनाको लाखौं रूपैयाँ असुल्ने यो गिरोहले संकलन गरेको रकम जग्गा खरिदकै लागि प्रयोग भएको प्रहरीको दाबी छ ।

प्रहरीले विक्रम संवत २०८० देखि २०८२ को छोटो अवधिमा गिरीको सम्पत्तिको स्रोत खोतल्दा उनले दुई वर्षभित्रै देशका नौ फरक–फरक रणनीतिक र व्यावसायिक स्थानमा जग्गा जोडेको रहस्य फेला पारेको छ ।

भविष्यमा हुन सक्ने कानुनी कारबाही, सम्पत्ति जफत र प्रहरीको नजरबाट बच्नका लागि गिरीले चलाखीपूर्वक यी सबै बहुमूल्य जग्गाहरू आफ्नी दोस्रो श्रीमती सोनु आचार्यको नाममा एकलौटी स्वामित्व रहने गरी दर्ता गराएको मालपोत कार्यालयको अभिलेखबाट स्पष्ट हुन्छ ।

मालपोत कार्यालयहरूको आधिकारिक लगतअनुसार काठमाडौंको बूढानीलकण्ठ–७ को कित्ता नम्बर १०३९ को घरजग्गा मात्र होइन, मोरङको कटहरी गाउँपालिका–४ मा रहेको १८२२.३७ वर्गमिटरको ठूलो प्लट र बबियाबिर्ता–३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा पनि सोनु आचार्यकै नाममा पास भएको छ । 

अझ चाखलाग्दो कुरा त के छ भने, बबियाबिर्ताकै कित्ता नम्बर १०८, १११, १०५ र १०६ का अन्य जग्गाहरू विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले तेस्रो पक्षबाट लिलाम सकार गरेपछि रणनीतिपूर्वक करोडौं रूपैयाँ खर्चेर आचार्यको नाममा ल्याइएको थियो । 

यसबाहेक विराटनगर–६ मा रहेको कित्ता नम्बर ६५८२ को बहुमूल्य जग्गा र धनकुटा नगरपालिका–५ मा रहेको ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गासमेत गिरीकै आर्थिक स्रोतबाट सोनुको नाममा दर्ता गरिएको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको लिलामी प्रक्रियामा पर्दापछाडि बसेर करोडौंको आर्थिक परिचालन गर्ने र यी सबै जग्गा साम्राज्य खरिद गर्ने मुख्य स्रोत गिरीले चलाएको संगठित ठगी र असुली धन्दा नै भएको प्रहरीको निष्कर्ष छ । 

‘विराटनगरमा के कता कस्तो कनेक्सन रहेछ, अहिले खोज्ने क्रम चलिरहेको छ,’ मोरङ प्रहरी स्रोतले भन्यो ।

View : 213

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved