विराटनगर । ‘विराटनगरलाई योग नगरी घोषणा गर्ने’ उद्देश्यसहित आयोजित पाँचदिने वृहत् योग विज्ञान शिविरले नगरमा व्यापक योग जागरण ल्याएको आयोजकले निष्कर्ष निकालेका छन् ।
यही मंसिर ४ देखि ८ गतेसम्म विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिरमा सम्पन्न उक्त शिविर ऐतिहासिक रूपमा सफल भएपछि पतञ्जलि योग समिति विराटनगर महानगर र मोरङ जिल्ला समितिका नेतृत्वहरू थप उत्साहित बनेका छन् ।
शिविरको सफलतापछि शनिबार आयोजित समीक्षा बैठकका वक्ताहरूले यसले नगरवासीमा स्वास्थ्य र योगप्रति गहिरो सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रमको समीक्षा गर्दै मोरङ र विराटनगर समितिले व्यवस्थापनमा खटिने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा शिक्षाविज्ञ राजेन्द्र बुढाथोकी, पतञ्जलि मोरङका पूर्वअध्यक्षद्वय सुरेश अग्रवाल र ध्रुव तामाङ, मोरङका सल्लाहकार प्राध्यापक डा. तुलसी निरौला, अशोक भट्टराई, धनबहादुर (डीबी) बस्नेत, पुष्प प्रसाईं, प्रचार–प्रसार समितिका संयोजक महेन्द्र वस्ती र तेजराज कोइरालाले शिविरको भव्यता र उत्कृष्ट व्यवस्थापनको प्रशंसा गरे ।
सोही अवसरमा महिला जिल्ला अध्यक्ष सूची चौधरी, महानगर अध्यक्ष माधव अधिकारी र महिला महानगर अध्यक्ष कुमारी तामाङले विराटनगरलाई योग नगरी बनाउने अभियानमा शिविरले महत्त्वपूर्ण इँटा थपेको धारणा राखे ।
बैठकमा उपस्थित अन्य पदाधिकारी तथा सदस्यहरूले समेत शिविरका क्रममा प्राप्त आफ्ना प्रेरणादायी अनुभवहरू साटासाट गरेका थिए ।
View : 77
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved