Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

माछाको अचारबाट उद्यमी बन्दै कविता, सुरु गरिन् ‘चिकेन अचार’ पनि

उद्‌घोष सम्वाददाता
१२ पुष २०८०, बिहिवार

विराटनगर । गत वर्षको सीएनआई कोशी एक्स्पोमा माछाको अचार चखाउँदै अचार उद्योगतिर मोडिएकी विराटनगर-३ की कविता कार्की यतिबेला उद्यमी बनेकी छन् । उनले माछाको अचारमा प्राप्त गरेको सफलता अहिले कुखुराको मासुबाट तयार पारिएको ‘चिकेन अचार’ सम्म फैलिइसकेको छ ।

उनले यसपटक मोरङ व्यापार संघ एक्स्पो-२०२३ मा आफ्नै स्टल राखेर माछा र चिकेन अचारको स्वाद उपभोक्ताहरुलाई चखाउँदैछिन् । एक वर्षको अवधिमा उनले सीया फुड उद्योग प्रालिको नामबाट अचार लगायतका खाद्यवस्तु उत्पादन गर्ने उद्योग समेत दर्ता गरिसकेकी छन् । उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराएर प्रमाणपत्र पनि प्राप्त गरेकी छन् ।

आफूले मिहिनेतले सुरु गरेको माछाको अचार लोकप्रिय भएपछि उनले एक साता लामो अचार बनाउने तालिम समेत लिएर उद्यमी बन्ने बाटो समातेकी हुन् । आफ्नो अचार उद्योगमा अहिले एक जनालाई अल्पकालीन रोजगारी समेत दिइरहेको उनले बताइन् ।

कविताले अचार बेच्नका लागि अहिलेसम्म बाहिर आफ्नै पसल भने चलाएकी छैनन् । उनले आफ्नो सबै उत्पादनलाई अनलाइनबाट बिक्री गर्दै आएको बताइन् ।

‘अघिल्लो मेलाबाट केही गर्न सकिने रहेछ भन्ने विश्वास आयो । अहिले अचार बनाउने तालिम लिएर माछाको साथै चिकेन अचार पनि उत्पादन गरिरहेकी छु,’ कविताले भनिन्, ‘एक्स्पोमा पनि राम्रो बिक्री भइरहेको छ, बजारबाट आएको मागलाई दराज डटकम लगायतका अनलाइनबाट उपभोक्ताको घरमा पुर्‍याइरहेकी छु ।’

आफ्नो उद्योगबाट अहिले माछा र चिकेन अचार बाहेक आँप, खोर्सानी र लप्सीको अचार पनि उत्पादन गर्न सुरु गरेको उनले सुनाइन् ।

View : 309

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved