Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्री फेर्न कांग्रेस–एमालेभित्र तीव्र दबाब

आ–आफ्नो दलभित्र यसअघि भएको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने भन्दै मन्त्रीका आकांंक्षीहरू दौडधुपमा छन् ।
उद्‌घोष संवाददाता
३२ असार २०८२, बुधवार

विराटनगर । कम्तीमा एउटा आर्थिक वर्षको बजेट ल्याएपछि प्रदेशमा मन्त्री परिवर्तन गर्ने कांग्रेस–एमालेभित्रको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने दबाब कोशीमा तीव्र भएको छ । 

सत्ता साझेदार दुई दल कांग्रेस र एमालेका प्रदेशस्थित सांसदहरू सोही सहमति कार्यान्वयन हुनुपर्ने भन्दै मन्त्रीका आकांक्षीहरू काठमाडौंको दौडधुपमा छन् । 

कांग्रेस संसदीय दलका एक पदाधिकारीले दिएको जानकारी अनुसार संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू मानबहादुर लिम्बू, इन्दिरा थापा, प्रदिपकुमार सुनुवार, भीम पराजुली ,इस्राइल मन्सुरीलगायतका नेताहरू काठमाडौंमा दौडधुप गरेर कोशीमा मन्त्री फेर्नुपर्ने दबाब दिइरहेका छन् । 

केन्द्रीय सदस्यसमेत रहेका कोशीका सांसद भीम पराजुलीले अघिल्लो साता सम्पन्न केन्द्रीय समिति बैठकमै कमजोर कार्यसम्पादन गरिरहेका संघका मन्त्रीहरू तथा पूर्व सहमति अनुसार  प्रदेशका मन्त्रीहरू फेर्नुपर्ने विषयमा कुरा उठेको बताए । 

‘केन्द्रीय समिति बैठकमा मन्त्रीहरू फेर्नुपर्ने आवाज जोडदार रूपमा उठेको छ’, आफै पनि मन्त्री बन्ने लाइनमा उभिएका पराजुलीले भने ‘गत वर्ष भदौमा सरकारमा जाने बेलामै कांग्रेसबाट मन्त्री बनेकाहरू १३–१३ महिनापछि फेरिने सहमति नै भएको थियो । सोही अनुसार दलभित्र, नेताहरूसँगको छलफलमा यो विषय निरन्तर उठिरहेको छ ।’ 

कांग्रेस केन्द्रीय समितिका एक पदाधिकारीका अनुसार कोशीमा मन्त्रीहरू फेर्नुपर्ने दबाब प्रदेशबाट तीव्र भइरहेको छ । 

‘प्रदेशको नेतृत्व आफैले यो निर्णय गर्न सक्दैनौं, केन्द्रले गरिदिनु पर्‍यो भनेर सभापतिजीलाई अनुरोध आइरहेको छ’ ती पदाधिकारीले भने ‘आउँदो भदौमा कांग्रेसका मन्त्रीहरू फेरिएलान् । सभापतिले सायद त्यही निर्णय लिनुहुन्छ होला ।’ 

कांग्रेस कोशीमा संस्थापनका दुई गुट र संस्थापनइतर गरी तीन गुटलाई भाग मिलाएर नयाँ मन्त्री पठाउनुपर्ने बाध्यता छ । सभापति शेरबहादुर देउवा समूहबाट प्रदीपकुमार सुनुवार, ज्ञानेन्द्र कार्कीको दबाबमा सोही समूहबाट इस्राइल मन्सुरी मन्त्री बन्न दौडधुपमा छन् । 

त्यस्तै संस्थापन इतर (शेखर कोइराला) समूहबाट मानबहादुर लिम्बू, गोविन्द गिरी, इन्दिरा थापालगायतका सांसद मन्त्री बन्ने दौडमा छन् । 

संस्थापनकै कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र गोपाल तामाङ मन्त्री बन्ने आकांक्षामा छन् । 

‘दलको नेतासहित यीमध्ये सबैजसो हाम्रा  केही सांसद अहिले काठमाडौंमा नेताका घरदैलो गरिरहेका छन्’, कांग्रेसका एक नेताले भने ‘शेरबहादुर देउवाको इशारा बिना कांग्रेस कोशीमा पात पनि हल्लिने सम्भावना छैन । 
सभापतिले के भन्नुहोला वा के निर्देशन आउला भनेर सबैजना उतै धुइरिएका हुन् ।’

कांग्रेसका सांसदहरूले केन्द्रमा मन्त्री फेर्न दबाब दिँदा मुख्यतः दुईटा विषयलाई आधार बनाउने गरेका छन् । पहिलो, १३ महिने कार्यकालको भद्र सहमति कार्यान्वयन हो । 

दोस्रो, कोशीका मन्त्रीहरू विवादमा मुछिएको प्रसंग । 

‘पर्यटन मन्त्री सदानन्द मण्डललाई अवैध असुली भन्दा चलाएको संगीन आरोप लागेको छ, कृषिमन्त्री खगेनसिं हाङ्गामलाई मान्छे कुटेको आरोप लागेको छ । 

भौतिक मन्त्री भूपेन्द्र राईमाथि पनि बजेटमा मनपरी गरेको गम्भीर आरोप लागेको अवस्था छ’ कांग्रेस नेताहरू भन्छन् ‘त्यसैले सकेसम्म छिटो उनीहरूलाई बिदा गरेर नयाँलाई सरकारमा पठाउन दबाब बढेको छ ।’

कांग्रेसका मन्त्रीहरूभन्दा झण्डै चार महिना अघि नै प्रदेश सरकारमा सामेल भएका एमालेका मन्त्रीहरू धेरै छन् । 

आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीबाहेकका मन्त्रीहरू सरकारमा सहभागी भएको वर्षदिन पुगिसकेको छ । 

एमालेभित्र कम्तीमा मन्त्रीहरूलाई एउटा बजेट ल्याउने अवसर दिने अनौपचारिक सहमति भएको थियो । 

‘लिखित सहमति भएको थिएन तर भद्र सहमति पार्टीभित्र थियो’ एमाले कोशीका एक सांसदले भने ‘त्यसैले अहिले पार्टीभित्र मन्त्रीहरू फेर्नुपर्ने विषय तीव्र रूपले उठिरहेको छ ।’

मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेस नेताहरूसँग छलफल गर्ने क्रममा आफू एमालेकै मन्त्रीहरू फेर्ने तयारीमा लागेको बताएका थिए । 

‘म हाम्रै पार्टीका मन्त्रीहरू फेर्ने तयारीमा लागेको छु, तपाइ्ँहरू के गर्नुहुन्छ त्यो कांग्रेसको कुरा हो’ मुख्यमन्त्री कार्कीले कांग्रेस नेताहरूसँग भनेका थिए । 

मुख्यमन्त्रीले एमालेकै केही मन्त्रीहरूको कार्यसम्पादन कमजोर रहेको गुनासो पनि गर्दै आएका छन् । 

यद्यपि उनले अनियमितताको आरोप लागेका मन्त्री हुन् वा कमजोर कार्यक्षमता भएका नै किन नहुन्, न कारबाही गर्न सकेका छन् न कुनै अर्को निर्णय लिन नै । 

यसअघि लीलाबल्लभ अधिकारी प्रकरणमा पनि दोहोरो भूमिका गरेर रहस्यमय मौनता देखाएका मुख्यमन्त्रीले अहिले पनि उही शैली दोहोर्‍याइरहेका छन् । 

उनी प्रधानमन्त्री ओलीको निर्देशन कुरेर बसेको सांसदहरू बताउँछन् । 

‘मुख्यमन्त्रीले पनि माथिकै आदेश कुर्ने हो, उहाँ त्यसैको पर्खाइमा छु भन्नुहुन्छ’ मन्त्री बन्ने दौडमा रहेका एमालेका एक सांसदले भने ‘माथिबाट आदेश आउनासाथ मन्त्री फेरिहाल्छु भन्ने उहाँको कुरा छ ।’

कोशीमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी छन् ।

सिर्जना राई राज्यमन्त्रीको भूमिकामा छिन् । एमालेमा पनि मन्त्री बन्न चाहनेको सूची लामै छ ।

एमाले स्रोतका अनुसार संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बो, सांसदहरू चिन्तन पाठक, बुद्धिकुमार राजभण्डारी, विदुर लिंथेपलगायतका नेताहरू मन्त्री बन्ने लविङमा छन् । 

‘एमालेमा यसपटक धेरैजसोले मन्त्री हुने चाहना राखेको देखिन्छ’ एमाले स्रोतको भनाइ छ ‘यसपटकको बजेटमा मन्त्रीहरूले आफ्नो क्षेत्रमा बजेट खन्याएको देखेर पनि मन्त्री हुन खोज्नेहरूको लर्को लाग्ने देखिन्छ ।’

View : 632

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved