विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) को प्राङ्गणमा शुक्रबारदेखि सुरु हुने पाँचदिवसीय बृहत् योग विज्ञान शिविरको पूर्वसन्ध्यामा बिहीबार निर्मित मञ्चमा योग प्रशिक्षक टोली ।
विराटनगर । स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती तथा मानसिक शान्तिको प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा शुक्रबारदेखि पाँचदिवसीय निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।
पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ, पतञ्जलि योग महानगर समिति विराटनगर र महिला पतञ्जलि योग महानगर समिति विराटनगरको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।
आयोजक समितिले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते शुक्रबारदेखि ८ गते मंगलबारसम्म विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) विद्यालयको प्राङ्गणमा शिविर आयोजना गरिने जानकारी दिएको छ।
दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने साे शिविरमा पतञ्जलि योग समिति नेपालकी महिला प्रमुख साध्वी देवदितीबाट योग, प्राणायाम तथा ध्यानको प्रशिक्षण प्रदान गरिनेछ।
सो अवसरमा रोगअनुसार योगाभ्यास, स्वास्थ्य तथा आयुर्वेदसम्बन्धी परामर्श र योग शिक्षाका कार्यक्रमहरूसमेत रहने आयोजकले जनाएको छ।
शिविर मूल व्यवस्थापन समितिका संयोजक तथा महिला पतञ्जलि योग समिति मोरङकी अध्यक्ष सूची चौधरी र सह–संयोजक तथा पतञ्जलि योग महानगर समिति विराटनगरका अध्यक्ष माधव अधिकारीद्वारा जारी विज्ञप्तिमा शिविरमा प्रवेश निःशुल्क रहेको जनाउँदै उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, युवा, ज्येष्ठ नागरिक तथा पत्रकारलगायत सम्पूर्ण नगरवासीलाई परिवारसहित उपस्थित भई लाभ लिन आग्रह गरिएको छ।
View : 83
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved