विराटनगर । विराटनगरमा नक्कली नागरिकता बनाएर सर्वसाधारणलाई बिक्री गरी ठगी गरिरहेको समूह नै पक्राउ परेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा विराटनगर–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ र विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशीलाई पक्राउ गरेको हो ।
विराटनगरमै मजदुरी गर्दै आएकी ३० वर्षीया मनिषा कामतले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेपछि यो घटनाभित्र अनुसन्धान सोझिएको थियो ।
नागरिकता बनाउने प्रक्रिया नै थाहा नभएकी मनिषालाई आफूलाई प्रशासनसँग पहुँच भएको बताउने श्रेष्ठले नागरिकता बनाइदिने भन्दै प्रलोभन देखाएका थिए ।
उनले मनिषा र उनका मामाको नागरिकता बनाइदिने भन्दै एक लाख ३० हजार रुपैयाँ, आवश्यक कागजात र फोटो पनि लिएका थिए । तीन दिनपछि महेन्द्रचोकमा बोलाएर उनले मनिषालाई नागरिकता पनि दिए ।
सोही नागरिकता लिएर लिएर राष्ट्रिय परिचयपत्र बनाउन पुगेकी मनिषालाई प्रशासनका कर्मचारीले नागरिकता नक्कली भएको बताएका थिए । सुरुमा उनले विश्वास नगरी ‘तपाईँहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् ।
त्यही बेला कार्यालय निरीक्षणमा रहेका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सोधपुछ गर्दा नागरिकता नक्कली भएको भेउ पाए, उनकै माध्यमबाट अनुसन्धानको प्रक्रिया अघि बढाउन प्रहरी परिचालन गरेका थिए ।
अनुसन्धानकै क्रममा पक्राउ परेका श्रेष्ठको साथबाट थप १० थान नागरिकता बरामद भएको छ ।
श्रेष्ठ पक्राउ परेलगत्तै अन्य दुई व्यक्तिले पनि आफ्नो नागरिकता उनैले बनाइदिएको भन्दै प्रशासनको सम्पर्कमा पुगेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएको नागरिकतामा नेपाल सरकारको होलोग्राम, प्रशासनको छाप, जारी गर्ने अधिकृतको हस्ताक्षर तथा लेमिनेसनसमेत सक्कलीसरह रहेको पाइएको छ ।
२०६८ देखि २०८२ सालसम्मको मितिमा जारी भएका नागरिकता नम्बर उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा श्रेष्ठसँगको सम्बन्ध खुलेपछि विराटनगर–५ स्थित न्यू डोली फोटो सर्भिसेज सञ्चालन गर्दै आएका धनदेव राजवंशी पनि पक्राउ परेका छन् । राजवंशीकै स्टुडियोमा नक्कली नागरिकता छाप्ने गरिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको जनाएको छ ।
साथै जन्मदर्ता फाराम, नागरिकता आवेदन, राष्ट्रिय परिचयपत्रका फाराम तथा वडा कार्यालयमा नागरिकता सिफारिसका लागि लेखिएका निवेदनलगायतका सरकारी कागजातसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved