Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मालपोत र नापीमा विचौलिया निषेध,  लेखापढी कानुन व्यवसायीहरुको विरोध

उद्‌घोष संवाददाता
२१ चैत २०८२, शनिवार

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएलगत्तै केही जिल्लामा त्यस्ता विचौलिया पक्राउ गर्न थालिएको छ । 

तर ती कार्यालयहरुमा सेवाग्राहीलाई सहजीकरण गर्दै आएका लेखापढी व्यवसायीहरुले भने सरकारको सो निर्णयप्रति आपत्ति जनाएका छन् ।

मन्त्री प्रतिभा रावलको निर्देशनमा बुधबार सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको थियो ।

कार्यालयहरूमा विभिन्न बहानामा अनधिकृत व्यक्ति प्रवेश गरी कार्यालयका महत्वपूर्ण कागजात र स्रेस्तामा पहुंच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ ।

मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातमा अनधिकृत व्यक्तिको अनियन्त्रित पहुंच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।

निर्देशनमा कार्यालयका विभिन्न फाँटमा हुने भीडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने बताएको छ । 

अनधिकृत व्यक्तिलाई निषेध गरेपछि सेवाग्राहीले निवेदन र कागजात देखाएर सहजै सेवा पाउने विश्वास मन्त्रालयको विश्वास छ ।

सुनसरीमा १८ पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले त्यहाँका दुई सरकारी कार्यालयबाट बुधबार १८ जना बिचौलियालाई नियन्त्रणमा लिएको थियो । 

सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट १८ जना बिचौलियालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिएका छन् ।

मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको र यातायात कार्यालयबाट ५ जना गरेर १८ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मालपोत कार्यालय सुनसरीबाट पक्राउ पर्नेमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीय आयसाँमोते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताए । 

यस्तै, यातायात कार्यालयबाट  इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ । 

लेखापढी व्यवसायीको विरोध

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इनरुवाले प्रहरीको सो कार्यप्रति आपत्ति जनाउ“दै विज्ञप्ति जारी गरेको छ । 

एशोसिएसनले मालपोत कार्यलयको परिसरबाट लेखापढी कानून व्यवसायी र सेवाग्रहीसमेतलाई कार्यालयको प्राङ्गणबाट र सडकबाट विनाकसुर करिब २०–२५ जनालाई धरपकड गरिएकोमा बिनासर्त रिहाइको माग गरेको छ । 

एसोसिएसन निर्दोष लेखापढी व्यवसायीलाई बिनासर्त तत्काल रिहाई गर्ने माग गरेको छ । संघले राज्य आतङ्क मच्चाउने अभिप्रायप्रति खेदसमेत व्यक्त गरेको छ । 

कानुन वमोजिम लेखापढी गर्न पाउने गरी प्रमाणपत्र प्राप्त गरेकाहरुलाई पनि लेखापढी व्यवसायी गर्नबाट वर्जित गर्ने कदमप्रति  सहमत हुन नसक्ने एसोसिएसनले बताएको छ ।

‘अड्डा अदालतबाट कानून वमोजिम लेखापढी गर्न पाउने गरी प्रमाणपत्र प्राप्त गरी लेखापढी व्यवसायी गर्न पाउने हाम्रो हकलाई निस्तेज गर्ने यस्तो कार्यप्रति हामी कदापी सहमत हुन सक्दैनौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरी प्रशासनको सोे कार्य अविलम्ब वन्द गरी विनासर्त रिहाइको माग गरेको नेपाल कानुन व्यवसायी एसोसिएसन इनरुवा इकाई समितिका सचिव प्रताप भट्टराईको जानकारी दिएका छन् ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved