विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले आगामी २०८३ मंसिरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष चन्द्रदेव जोशीको अध्यक्षतामा नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा बसेको बैठकले संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको हो।
पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रस्तुत गरेकाे आगामी कार्यभार, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र आर्थिक प्रतिवेदनलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। सम्मेलनअगावै आगामी असोजभित्र जिल्ला तहका संगठन विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य पार्टीले लिएको छ।
बैठकले देशमा व्याप्त भ्रष्टाचार र अनियमितता विरुद्ध कडा दृष्टिकोण सार्वजनिक गरेको छ।
नेकपा (संयुक्त) ले वि.सं. २०४८ सालदेखिका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी र सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको जोडदार माग गरेको छ।
मध्यपूर्वको द्वन्द्वका कारण बजारमा देखिएको ऊर्जा संकट र चर्को महँगी नियन्त्रणका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
ऊर्जा संकट समाधानका लागि ‘नेपालीको भान्सा विद्युतीकरण’ गरी आन्तरिक खपत बढाउने कार्ययोजना लागू गर्न र आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमूलक कृषि र उद्योग सञ्चालन गर्न समेत पार्टीले जोड दिएको नेकपा (संयुक्त) का मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले बताउनुभयो।
बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको निष्कर्ष निकाल्दै बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेको छ।
साथै, भदौ २४ र २५ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
नेकपा (संयुक्त) ले अन्तर्राष्ट्रिय विषयमा पनि आफ्नो धारणा राख्दै प्यालेस्टाइन, लेबनान र इराकमाथि भइरहेको आक्रमणको निन्दा गरेको छ। यस्तै, भेनेजुएलाका राष्ट्रपतिका दम्पतीको अपहरण प्रयासमा अमेरिकी सरकारको भूमिकाको आलोचना गर्दै निशर्त रिहाइको माग गरिएको काफ्लेले जानकारी दिए।
पार्टीले लोकतान्त्रिक प्रक्रिया र संवैधानिक निकायलाई नियन्त्रण गर्ने सरकारी कदम बन्द गर्न, असमान सन्धि–सम्झौताहरू खारेज गर्न र बहुध्रुवीय विश्व व्यवस्थाअनुसारको आर्थिक प्रणाली विकास गर्न सरकारसँग माग गरेको छ।
कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
View : 250
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved