विराटनगर । मुलुकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबै खालका कम्युनिष्ट पार्टीहरूको नतिजा नाजुक हालतमा आएको छ । बलियो कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले त यो परिणामले निकै तिलमिलाएको छ । प्राप्त परिणामलाई एमाले नेतृत्वले अप्रत्यासित र निराशाजनक भनेको छ ।
आफूले आश गरेको र जित्ने भनेको ठाउँसहित देशभरिबाट बढारिनुपर्दा एमाले वृत्तमा वर्तमानको परिणामले मात्र होइन भविष्यको चिन्ताले पनि सताएको छ । यस प्रकारको चिन्ता एमालेबाहेक माओवादी र नेपाल मजदुर किसान पार्टीसम्मलाई परेको छ ।
उनीहरूलाई वर्तमानमा परिणाम शुन्य हुनु भनेको कतै भविष्यमा कहिल्यै उठ्न नसक्नेगरी पराजित भइएको त होइन भन्ने त्रास परेको छ । यद्यपि केही नेताहरू धुलो टक्टकाएर फेरि उठ्ने बताइरहेका छन् । तर, भुइँतहका कार्यकर्ताहरू अब त टक्टकाउनका लागि धुलो समेत बाँकी नरहेको भन्दै निराश देखिएका छन् । उनीहरू पार्टी सकिएको तर अन्त्येष्टि चाहिँ गर्न बाँकी रहेको हालतमा कम्युनिष्ट आन्दोलन पुगेको मनोदशा प्रकट गर्न थालेका छन् ।
जीवनका ऊर्जाशील समय पार्टी संगठन भनेर बिताएकाहरूलाई पार्टी फेरि जनतामा स्थापित होला कि नहोला संशय परेको छ । यस्तो संशयले अब बाँकी जीवन पनि कम्युनिष्ट पार्टी र संगठनका लागि नै समर्पित गर्ने कि बैकल्पिक राजनीतिको धुरी समाउने उनीहरू निकै दोधारमा परेका छन् ।
यसबाट के अनुमान लगाउन सकिन्छ भने यदि मौजुदा अवस्थामै कम्युनिष्ट पार्टीका दोस्रो वा तेस्रो पुस्ताका नेता कार्यकर्ताहरू चरम निराशामा परिरहे भने उनीहरूबाट कम्युनिष्ट पार्टी र संगठनको विस्तार र पुनर्गठन सम्भव छैन ।
पुरानो नेतृत्वलाई जनताले नपत्याउने र नयाँ पुस्ताले कुनै प्रकारको पहलकदमी गर्न रुचि नै नदेखाएको अवस्थामा नेपालमा कसले पो कम्युनिष्ट पार्टीको विस्तार गरिदेला ? भविष्यमा कोही तिलस्मी नेता प्रकट भए भने अलग कुरा होला तर वर्तमानमा कम्युनिष्ट पार्टीहरूमा त्यस्ता सम्भावना भएका नेताहरू देखिदैनन् ।
आश गरिएका दोस्रो तहका नेताहरूलाई विभिन्न तरिकाले पुरानो नेतृत्वले ‘ड्यामेज’ गरिसकेको छ । आफ्नै क्षतिग्रस्त व्यक्तित्व बोकेर उनीहरूले कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्ने सम्भावना न्यून छ । यदि अगाडि सरिहाले भने पनि जनताले पत्याउलान् भन्ने छैन ।
दिन प्रतिदिन नयाँ पुस्ता वयस्क हुँदैछ । यो पुस्ताको मन मस्तिष्कमा यसरी विष घोलिएको छ कि, कम्युनिष्टहरू भनेका हत्यारा हुन् । एक जना खास व्यक्तिलाई त हत्याराको नाइके भनेरै चिनाइएको छ । अनि यो पुस्ता र पुरानो पुस्ताबीच कुन हदसम्म दुरी बढाइएको छ भने पुराना पुस्ता भनेका सबै ‘आउट डेटेड भर्सन’ हुन् । मानौ पुरानो पुस्ता टिकटिके नोकिया मोवाइल हुन् भने नयाँ पुस्ता स्मार्ट एन्ड्रोइड मोवाइल । अब नया“ पुस्ताले कम्युनिष्टको नामै सुन्न चाहेन भने भविष्यका तिनै मतदातासम्म कम्युनिष्ट पार्टी पुग्न सक्दैन ।
हुन त वामपन्थीहरू समाजमा विभेद, गरिबी र वर्ग रहेसम्म कम्युनिष्ट पार्टीले काम पाइरहने दावी गर्छन् । एउटा चुनाव हार्दैमा कम्युनिष्टहरू अब बढारिए भन्नु हतारो हुने उनीहरूको दलिल छ ।
अहिले मुर्झाएको कम्युनिष्ट पार्टी मजदुर किसानबीच फेरि स्थापित हुने उनीहरूले आश गरिरहेका छन् । तर तथ्य र संसारका प्रचलित मानकले त्यसो भनिरहेको छैन । कि कम्युनिष्टहरू चीनमा जस्तो जरो गाडेर बसेका छन् कि त सोभियत युनियनमा झैं गल्र्यामगुर्लुम नै ढलेका छन् । कम्युनिष्टहरू सोभियत युनियनमा मात्र ढलेका होइनन्, पूर्वी युरोपका पोल्याण्ड, हंगेरी, रोमानिया, बुल्गरियामा पनि ढलेका छन् ।
हाम्रै छिमेकी मुलुक भारतमा कुनै बेला त्यहाँको केन्द्रीय सरकारमा बलियो साझेदारी गरेको र पश्चिम बंगालमा साढे तीन दशकसम्म एकमना सरकार चलाएको कम्युनिष्टहरूको नाम अहिले सुनिदैन । त्यहाँका लाखौं नेता कार्यकर्ताहरू तितरबितर भएका छन् ।
कम्युनिष्टहरूको सन्दर्भमा धरानतिरका एक जना वुद्धिजीवी भन्ने गर्थे–कम्युनिष्ट बिग्रिए भने कुराउनी जस्तै हुन्छन् रे । न तताएर खान मिल्ने न सुकाएर । उनले कांग्रेस र कम्युनिष्ट बिग्रिए भने कसरी बिग्रन्छन् भन्ने सन्दर्भमा त्यसो भनेका रहेछन् । उनको भनाइमा कांग्रेस बिग्रिए भने गुन्द्रुकझै बिग्रन्छन् रे, यसो दुई चार घाम सुकाइदियो भने फेरि खानयोग्य भइहाल्ने ।
हुन पनि कांग्रेसलाई आफ्नो मनोबल ऊँचो बनाउन वा खिस्रिक्क नै पर्न बाहिरी कारणले खासै फरक पार्दैन । तर कम्युनिष्टहरूलाई भारतको केरलामा एक सिट कम आयो भने पनि यहाँ असर पार्छ । केरला होस् वा त्रिपुरा त्यहाँ सरकार बनाउनेगरी बहुमत आयो भने नेपालका कम्युनिष्टहरू भोज गर्छन्, आएन भने छाक छाड्छन् । त्यही भएर नेपालका कम्युनिष्टहरू लोकतान्त्रिक प्रतिष्पर्धामा पछि पर्नसाथ पश्चिम बंगालको जस्तो हालत हुने हो कि भनेर आफै थर्कमान हुन थाल्छन् ।
पश्चिम बंगाल भारतको त्यो राज्य हो जहाँ कम्युनिष्ट पार्टीले ३४ वर्षसम्म शासन गरेको थियो । ज्योति बसु एक्लै त्यहाँ २३ वर्ष अविच्छिन्न मुख्यमन्त्री भएका थिए । त्यही राज्यमा सन् २०२१ मा भएको विधान सभा निर्वाचनमा वाम दलहरूले एक सिट पनि जित्न सकेनन् । त्यहाँ कम्युनिष्ट पार्टी ढलेको होइन मरेको अवस्थामा पुगेको छ । फेरि बौरिने छाँटकाँट छैन ।
हुन त अहिले नेपालमा भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ औंलामा गन्न मिल्ने सिट प्राप्त गरेको नेकपा एमाले २०६४ सालको संविधान सभा चुनावमा तेस्रो भएको थियो । तर त्यस बेला नेकपा माओवादी बलियो गरी उदाएको थियो । एउटा कम्युनिष्ट पार्टीले कम सिट ल्याए पनि त्यसको क्षतिपूर्ति अर्को कम्युनिष्ट पार्टीले गरेको थियो । तर अहिले के एमाले, के माओवादी, के क्रान्तिकारी के समाजवादी, सिद्धान्त र विचार पनि प्रष्ट नभएको शिशु दलबाटै पराजित हुन पुगेका छन् ।
नेपालमा एक समय कम्युनिष्टहरू अत्यन्त शक्तिशाली थिए । केही वर्षअगाडिमात्रै संसदमा झण्डै दुई तिहाई बहुमत नजिक पुगेका थिए । तर अहिलेको अवस्था त्यसको ठीक उल्टो देखिएको छ । उनीहरू परम्परागत प्रतिस्पर्धी दलहरूसँग होइन, वैचारिक रूपमा अस्पष्ट नयाँ राजनीतिक शक्तिहरूसँग पराजित भएका छन् ।
वाम आन्दोलनको वैचारिक र संगठनात्मक संकटका रुपमा चिताउँदै नचिताएका नयाँ दल देखा परेका छन् । यी नयाँ दलहरूले अभूतपूर्व रुपमा प्राप्त गरेको जनमत आफ्नै काम वा लोकप्रियताबाट होइन भन्ने धेरैलाई थाहा छ ।
पुराना पार्टी अझ त्यसमा पनि कम्युनिष्ट पार्टीको अकर्मण्यता र सत्ता लिप्साबाट आजित जनताको आक्रोश नयाँ पार्टीका लागि पुँजी बनेर प्रकट भएको छ । अब यो जनमतलाई कम्युनिष्टहरूले प्रतिक्रान्ति भने पनि देशी विदेशी पुँजीवादी खेल वा झेल भने पनि जनताले सत्ताबाट बेदखल हुनुको पीडा भनिदिन्छन् । आफैले निम्त्याएको दुर्गति भनिदिन्छन् ।
अब यो दुर्गति, यो संकटलाई टार्न वा धुलो टक्टकाएर उठ्न मौजुदा कम्युनिष्ट पार्टीमा ‘फेस भ्यालु’ भएका खासै नेता पनि देखिदैनन् ।
केही उमेर पुगेका तर आफूलाई अझै युवा भनेका नेताहरूले ‘मरेको होइन, ढलेको मात्र हो’ भने पनि उनीहरूको आफ्नै विगत र अतित, संगठनलाई पुनर्सगठित गर्ने सवालमा बाधक बन्ने देखिन्छ । उनीहरूको मौकापरस्त अविश्वसनीय छवि नै कम्युनिष्ट पार्टीका लागि जागरण वा आकर्षण पैदा गर्न प्रतिकूल छ । बरु उनीहरूले बेलैमा बुझेर कुनै उत्पादनमूलक काममा बाँकी जीवन बिताउनु राम्रो होला ।
हुन त माक्र्सवादी कम्युनिष्ट विचारधारा नेपाली समाजबाटै उत्पन्न भएको कुनै मौलिक दर्शन होइन । यसको वैचारिक आधार कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले उन्नाइसौं शताब्दीमा खडा गरेका थिए ।
यसै विचारधाराको प्रभावमा सन् १९१७ मा सोभियत क्रान्ति सम्पन्न भई सोभियत संघ विश्वको पहिलो समाजवादी राज्यका रूपमा स्थापित भएको थियो । दोस्रो विश्वयुद्धपछि सन् १९७० को दशकसम्म आइपुग्दा संसारका करिब १५ भन्दा बढी देशहरूमा कम्युनिष्ट शासन थियो ।
विश्व कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो धक्का सन् १९९१ मा सोभियत संघको विघटनबाट लागेका थियो । तर सोभियत संघ विघटनका बाबजुद पनि नेपालमा भने कम्युनिष्ट पार्टीले फल्ने फुल्ने मौका पाएको थियो ।
सम्भवतः नेपाली समाजको बनोट, वर्गीय, जातीय तथा सामाजिक विभेदका कारण पनि कम्युनिष्टहरू ह्वात्तै स्थापित भए । तर, समयअनुसार समाजको अपेक्षासँग मेल नखानु र पार्टी नेतृत्व विभिन्न कारणले बदनाम हुनु नै कम्युनिष्टहरूका लागि आजको नौबत खडा भएको हो ।
जहाँ लुँडो खेलजस्तै एकै चोटी ९९ बाट ९ को लहरमा झर्नुपर्दा चोट परेझै नेपाली कम्युनिष्टहरू अहिले चोटग्रस्त भएका छन् । एउटा गम्भीर ‘ट्रमा’मा परेका कम्युनिष्टहरूका लागि यो आंशिक क्षति हो या विसर्जनको यात्रा सोच्न बाध्य पारेको छ । अब कस्तो राजनीतिक बाटो समाउने हो, दबाबमा पारेको छ ।
View : 145
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved