विक्रम संवत् नेपालको आधिकारिक र राष्ट्रिय पात्रो हो। यो केवल एउटा समय गणना गर्ने माध्यम मात्र नभई नेपाली सभ्यता, संस्कृति र गौरवको अटुट पहिचान पनि हो। विश्वका अधिकांश मुलुकहरूले औपनिवेशिक प्रभावका कारण विदेशी संवत् अपनाए तापनि नेपालले आफ्नो मौलिक विक्रम संवत्लाई अक्षुण्ण राख्न सफल भएको छ। यो प्राचीन वैदिक समय गणना पद्धतिमा आधारित 'शौर्य पात्रो' हो, जसले सूर्यको गति र प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्दछ।
विक्रम संवत् इस्वी संवत् (अंग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ। यस पात्रो अनुसार नयाँ वर्षको सुरुवात वैशाख १ गतेबाट हुन्छ। दक्षिण एसियाका भारत, बंगलादेश र श्रीलंका जस्ता मुलुकहरूमा यसलाई राष्ट्रिय संवत्को रूपमा प्रयोग नगरिए पनि वैशाख १ गतेलाई 'बैशाखी' वा नयाँ वर्षको पर्वका रूपमा विशेष हर्षोल्लासका साथ मनाइन्छ। यस संवत्को वैज्ञानिक पक्ष यो छ कि यो सूर्यसँग सम्बन्धित भएकाले यसका महिना र दिनहरूको गणना ग्रह-नक्षत्रको गतिसँग ठ्याक्कै मेल खान्छ।
नेपालमा विक्रम संवत्को प्रयोग आधुनिक समयमा मात्र भएको होइन। कतिपय इतिहासकारहरूले वि.सं. १९५८ मा चन्द्र शमशेरले यसलाई आधिकारिक बनाएको तर्क गरे तापनि यो संवत् नेपालको प्राचीन इतिहासदेखि नै अस्तित्वमा थियो। चन्द्र शमशेरले यसलाई प्रशासनिक सहजताका लागि 'तिथि' बाट 'गते' मा परिवर्तन गरी सरकारी कामकाजमा अनिवार्य गरेका हुन्। वि.सं. १९६१ सालको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाका दिनहरू निर्धारण गरिएका थिए।
ऐतिहासिक तथ्यहरूलाई केलाउँदा लिच्छवि काल, मल्ल काल, सेन वंश र शाह वंशका कैयौँ शिलालेख तथा तामापत्रहरूमा विक्रम संवत्को प्रयोग भेटिन्छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व र पछि पनि यसको प्रयोग व्यापक थियो। नेपाल-अंग्रेज युद्ध (सन् १८१४-१६) ताकाका अधिकांश सरकारी दस्ताबेजहरूमा विक्रम संवत् नै उल्लेख गरिएको पाइन्छ। पृथ्वीनारायण शाहदेखि भीमसेन थापा हुँदै कोत पर्व र राणा शासनसम्मका अधिकांश कागजातहरूले यसको निरन्तरतालाई पुष्टि गर्दछन्।
नेपालमा राजा विक्रमादित्यको अस्तित्व र उनले चलाएको संवत्का बारेमा विभिन्न वंशावलीहरूमा स्पष्ट उल्लेख छ। पुरातत्त्व विभागद्वारा प्रकाशित र नयनाथ पौड्यालद्वारा सम्पादित 'भाषा वंशावली' अनुसार, राजा धर्मागतको शासनकालमा राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी नारायणहिटी (जोडी धारा) बनाई तीर्थ चलाइएको थियो। सोही समयदेखि नेपालमा विक्रम संवत् प्रचलनमा आएको मानिन्छ।
काभ्रेपलाञ्चोक जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा राजा विक्रमादित्यले राज्य गरेको र त्यहाँ ऐतिहासिक मेला लाग्ने गरेको जनविश्वास अझै छ। त्यस्तै, काठमाडौँको साँखुस्थित बज्रयोगिनी मन्दिर परिसरको माथिल्लो भागमा राजा विक्रमादित्यको टाउकोको पूजा युगौँदेखि बज्राचार्य पुजारीहरूले गर्दै आएका छन्। यदि विक्रमादित्य केवल काल्पनिक पात्र हुन्थे भने उनको मूर्त स्वरूपको पूजा गर्ने परम्परा जीवित रहने थिएन। स्कन्द पुराणको 'हिमवत्खण्ड' मा उल्लेख भए अनुसार यिनै चक्रवर्ती राजाले नेपालको सीमा विस्तार गर्दै काशीसम्म पुगेका थिए र त्यहाँ विश्वनाथको मन्दिर स्थापना गरेका थिए।
योगी नरहरिनाथले 'देवमाला वंशावली' लाई उद्धृत गर्दै काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिर भएको ठाउँमा विक्रमादित्यको राजसिंहासन रहेको उल्लेख गर्नुभएको छ। पशुपति पुराणमा सूर्यवंशी लिच्छविहरूले किराँत राजालाई जितेपछि लिच्छवि वंश सुरु भएको र त्यसै बेलाका राजा धर्मपाल वा विक्रमादित्यको शासनकालदेखि यो संवत् सुरु भएको चर्चा गरिएको छ।
विक्रम संवत् अन्य प्रचलित संवत्हरू भन्दा प्राचीन छ:
यो शक संवत् भन्दा १३५ वर्ष जेठो छ।
यो नेपाल संवत् भन्दा ९३६ वर्ष जेठो छ।
यो इस्वी संवत् भन्दा ५७ वर्ष जेठो छ।
भारतको उज्जैनबाट यो संवत् सुरु भएको दाबी गरिए पनि सो समयमा उज्जैनमा 'विक्रमादित्य' नामका कुनै शासक रहेको ऐतिहासिक प्रमाण भेटिएको छैन। बरु, नेपालका लिच्छवि राजाहरूको पराक्रम र प्रभावका कारण पछि भारतीय राजाहरूले 'विक्रमादित्य' को उपाधि धारण गरेको देखिन्छ।
इतिहासविद् शंकरमान राजवंशी र नयराज पन्त जस्ता विद्वानहरूले विक्रम संवत् नेपालको मौलिक संवत् भएको धेरै प्रमाणहरू जुटाउनुभएको छ: १. लिच्छवि काल: हरिसिद्धि मन्दिरमा वि.सं. ७११ र वि.सं. ९४५ का अभिलेखहरू भेटिएका छन्। २. मल्ल काल: जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजवर्ष १४४८' उल्लेख छ। भक्तपुर दरबार, कुमारी चोक र डोलेश्वर महादेव मन्दिरमा वि.सं. १७३४, १७३५ र १७४१ का अभिलेखहरू छन्। ३. सेन वंश: मोरङका राजा हरिश्चन्द्र सेनको वि.सं. १७१९ को स्याहामोहर र मकवानपुरका राजा मानिक सेनको वि.सं. १७८४ को अभिलेख सुरक्षित छन्। ४. शाह वंश: पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा वसन्तपुर दरबारको अभिलेखमा विक्रम संवत् प्रयोग गरेका थिए। जंगबहादुर राणाले वि.सं. १९१० को मुलुकी ऐनमा यसै संवत्लाई आधार बनाएका छन्।
वि.सं. १९३७ मा भारतीय विद्वान् भगवानलाल इन्द्रजीले नेपालबाट २३ वटा अभिलेखहरू खोजी गरी लिच्छवि कालका संवत्हरूलाई विक्रम संवत् नै भएको ठहर गरेका थिए। कलकत्ता विश्वविद्यालयका प्राध्यापक राधागोविन्द बासकले पनि मानदेवको वि.सं. ३८६ को चाँगुको अभिलेखलाई विक्रम संवत् नै मानेका छन्। केही इतिहासकारहरूले यसलाई शक संवत् भन्ने भ्रम सिर्जना गरे तापनि शक संवत् चैत्रबाट सुरु हुने र यी अभिलेखहरू कार्तिकादि भएकाले ती विक्रम संवत् नै हुन् भन्ने पुष्टि हुन्छ।
उज्जैनका खण्डहरहरूको उत्खनन गर्दा ई.पू. ५८ ताका त्यहाँ विक्रमादित्यको कुनै चिन्ह नभेटिनुले यो संवत् हिमवत्खण्ड (नेपाल) बाटै विकास भएको देखिन्छ। पछि सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य' को उपाधि धारण गरेर सिक्का छापेका थिए, तर उनी संवत्का प्रणेता भने थिएनन्।
निष्कर्षमा विक्रम संवत् नेपालको केवल एउटा संवत् मात्र नभएर हाम्रो राष्ट्रिय स्वाभिमान र सांस्कृतिक एकताको प्रतीक हो। यसले नेपालका हिमाल, पहाड र तराईमा बस्ने सम्पूर्ण जाति, भाषा र धर्मका मानिसहरूलाई एउटै समयको सूत्रमा बाँधेको छ। तराईमा मनाइने 'सिरुवा' देखि पहाडमा मनाइने 'बिस्केट जात्रा' सम्म यसै संवत्सँग जोडिएका छन्। यो संवत् ब्रह्माण्डको वैज्ञानिक गणना पद्धतिमा आधारित भएकाले यसको महत्व विश्वव्यापी छ।
अतः विक्रम संवत्लाई विदेशी प्रभावको उपज मान्नु ऐतिहासिक भूल हुनेछ। यो हाम्रो आदि संवत् हो, जसले युगौँदेखि नेपाली माटोको सुगन्ध र यहाँका राजाहरूको पराक्रमलाई बोकेको छ। यसको संरक्षण र संवर्द्धन गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।
View : 642
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved