Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

गगनको राजिनामापछि विश्वप्रकाशको कथ्य

‘डढेलो निभाउनेलाई आगलागीको दोष दिन मिल्दैन’

उद्‌घोष संवाददाता
६ चैत २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका छन् । 

तर, उपसभापति विश्वप्रकाश शर्माले भने सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव आगामी केन्द्रीय कार्यसमिति बैठकमा पेस हुने जानकारी दिएका छन् । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार  दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

उपसभापति शर्माका अनुसार बैठकमा सभापति थापाले बुधबार उनलाई  बुझाएको राजीनामा पत्रलाई प्रारम्भिक समीक्षा गरिनेछ र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ । 

उपसभापति शर्माले भने ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । यसबारे  बैठकमा समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ ।’ 

निर्वाचनमा पार्टी पराजयको दोष सभापति थापालाई दिन नमिल्ने उपसभापति शर्माको भनाइ छ । 

‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,’ उनले भनेका छन् । त्यसो त सभापति थापा स्वयम्ले पनि विशेष महाधिवेशन नभई चुनावमा गएको भए अहिलेभन्दा कमजोर नतिजा आउने बताएका छन् । उनी आफै पनि  सर्लाही–४ मा प्रत्यक्षतर्फ पराजित भएका थिए । 

कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ । निर्वाचनको समीक्षा गर्न आह्वान गरिएको केन्द्रीय समिति बैठक अघि नै थापाले राजीनामा दिने निर्णय गरेका थिए । 

थापाले राजीनामा पत्रमा विशेष महाधिवेशनबाट सभापति बनेको एकदमै छोटो समयमै निर्वाचनको तयारी गर्नु चुनौतीपूर्ण र अवसर दुवै भएको उल्लेख गरेका छन् । 

‘विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र गरेको थिएन, पार्टीभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरुवात पनि थियो । 

यसले कार्यकर्तामा उत्साह जगाएको भए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश पुर्याउन  पर्याप्त समय भएन’ थापाले भनेका छन् । 

थापाले आफ्नो नेतृत्वमा निर्वाचनमा भाग लिएको र परिणामप्रति आफ्नो जिम्मेवारी स्वीकारेको पनि स्पष्ट पारेका छन् । 

उनले भनेका छन् ‘निर्वाचनसँग सम्बन्धित अन्य आवश्यक कामहरू पूरा गर्नासाथ मैले यो राजीनामा पेस गरेको हुँ । मेरो यो निर्णय पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको होइन । यो नेपाली कांग्रेसको आत्मसमीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको प्रारम्भिक कदम हो ।’ 

माघ १ मा सभापति बनेका थापाकै हस्ताक्षरबाट माघ ६ गते कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved