Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा प्रदेश अध्यक्ष तामाङ नै पराजित

उद्‌घोष संवाददाता
२६ फागुन २०८२, मङ्गलवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा १७ सिट जित्दा पार्टीकी प्रदेश अध्यक्ष गोमा तामाङले भने पराजयको पीडा भोगेकी छन् ।

सुनसरी–१ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी लैंगिक अल्पसंख्यक समुदायकी तामाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग ८ हजार ४९२ मतान्तरले पराजित भएकी हुन् । तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।

उनी २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टीका अशोक राईसँग ४५३ मतान्तरमा पराजित हुन पुगेकी थिइन् ।

तामाङको पराजय पार्टीभित्र चर्चा र चासोको विषय बनेको छ । प्रदेशभर पार्टीले प्रभावशाली परिणाम ल्याउँदा पनि नेतृत्व तहकै उम्मेदवार पराजित हुनुलाई केहीले विरोधाभासपूर्ण अवस्था पनि भनेका छन् ।

रास्वपाको संगठन विस्तार र चुनावी अभियानमा तामाङको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । प्रदेशभर पार्टीको संरचना निर्माण, कार्यकर्ता परिचालन र चुनावी रणनीतिमा उनी सक्रिय रूपमा लागेकी थिइन् । तर, उनी पराजित भइन् ।

उनको यस पटकको पनि हारमा रास्वपाका नेता कार्यकर्ताहरू निराश देखिएका छन् ।

तामाङले भने आफू उपविजेता बनेपनि दुखित भने भएकी छैनन् । आफू जित्न नसकेपनि आफूले टिकट ल्याइदिएका सुनसरी २ मा लालविक्रम थापा र ३ मा अशोककुमार चौधरीलाई जिताएर पठाउन सकेकोमा खुसी व्यक्त गरिन् ।

‘आफू उपबिजेता हुँदैगर्दा रत्तिभर दुखी छुइन’ उनले भनिन्, ‘जितेर तीनैजना जान नसकेपनि दुई भाइले सुनसरीबाट जितेर जाँदैछन्, म एकदमै खुसी छु ।’ 

पार्टीले ऐतिहासिक सफलता हासिल गरे पनि कोशी प्रदेश अध्यक्ष तामाङ आफ्नै निर्वाचन क्षेत्रमा पराजित भइन् ।

तामाङले आफ्नो पराजयलाई बिर्सिन खोजेपनि कोशी प्रदेशबाट १७ सिट जिताएर पठाउने अध्यक्ष नै पराजित हुन पुग्दा कार्यकर्ताहरूले दुःख व्यक्त गरेका छन् ।

झापा ५ कै चुनावी कमाण्डर बनेका भेषराज भट्टराईले प्रदेश अध्यक्ष तामाङ नै पराजित हुनुपरेको प्रति दुखित बने । 

कोशी प्रदेशबाट अधिकांश उम्मेदवारले चुनाव जित्दा प्रदेश अध्यक्षको पराजयप्रति रास्वपाका आम कार्यकर्तासमेत दुखित बनेको बताए ।

View : 44

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved