विराटनगर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएको पाइएको छ । खसेका मतमध्ये प्रत्यक्षतर्फ बदर मतको प्रतिशत समानुपातिकतर्फ भन्दा उल्लेख्य रूपमा बढी देखिएको हो ।
निर्वाचन अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ बदर मत ६.२८ प्रतिशत रहेको छ । समानुपातिकतर्फ ४.६८ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार कोशी प्रदेशमा प्रत्यक्षतर्फ कुल २० लाख ८४ हजार २१९ मत खसेकोमा १ लाख ३० हजार ८४७ मत बदर भएको हो । त्यस्तै समानुपातिकतर्फ २० लाख ९९ हजार ७०९ मत खसेकोमा ९८ हजार ३३४ मत बदर भएको उनले जानकारी दिए ।
कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मोरङको ६ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।
मोरङ–५ मा ७८ हजार ४४९ मत खसेको मध्ये ७ हजार ८८९ मत बदर भएको हो । जुन कुल मतको १०.०६ प्रतिशत हो । यो बदर मतको संख्या कोशी प्रदेशमै सबैभन्दा उच्च हो ।
प्रत्यक्षतर्फ उदयपुर–२ मा ८.२७ प्रतिशत, सुनसरी–४ मा ७.८४ प्रतिशत, धनकुटामा ७.६२ प्रतिशत र मोरङ–२ मा ७.५१ प्रतिशत मत बदर भएको छ । इलाम–१, मोरङ–३, उदयपुर–१ लगायतका क्षेत्रमा करीव ७ प्रतिशत मत बदर भएको हो ।
समानुपातिक बदरतर्फ पनि मोरङ–५ नै अगाडि देखिएको छ । यहाँ ७८ हजार ५०५ मत खसेकोमा ६ हजार ३२९ मत (८.०६ प्रतिशत) बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मोरङ–५ पछि उदयपुर–२ मा ६.४० प्रतिशत, मोरङ–२ मा ६.०६ प्रतिशत, सुनसरी–४ मा ५.५६ प्रतिशत र धनकुटामा ५.५४ प्रतिशत मत बदर भएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा बदर मत बढी हुनुको पछाडि मुख्यतया धेरै उम्मेदवार हुनु या सही चिन्हमा मत लगाउन अलमलिनु वा एकभन्दा बढी चिन्हमा संकेत लगाउनुलाई प्रमुख कारण मान्नुपर्ने निर्वाचन सरोकारवालाहरूको भनाइ छ ।
त्यस्तै शिक्षाको अवस्था कम भएका गाउँवस्ती धेरै भएका क्षेत्रमा पनि मतदाता शिक्षाको अभावले बदर मतको प्रतिशत बढाउने सम्भावना देखिएको जनाइएको छ । मत बदर हुनबाट जोगाउन मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
मतदातालाई मतदान गर्ने तरिका, सही चिह्न लगाउने विधि र मतपत्र प्रयोगबारे पर्याप्त जानकारी गराउन सकिए बदर मत घट्ने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मोरङका सहसचिव वासु अधिकारीले बताए ।
उनका अनुसार ज्येष्ठ नागरिकले पनि मतदानमा संरक्षक प्रयोग गर्न पाउने अधिकार रहेको अवस्थामा समेत केही निर्वाचन क्षेत्रमा बदर मत निकै उच्च देखिनुमा निर्वाचन शिक्षाको अभाव हुनु नै मुख्य कारण रहेको बताए ।
‘यसपटक कतिपय मतदान केन्द्रमा अपरान्ह १ बजेसम्म मतदान केन्द्रमा निकै कम मात्रै मतदाता उपस्थित थिए । धेरैले विहानै मतदान गरेका थिए । यसले गर्दा मतदाताले हतारमा मतदान गरेको हुनसक्ने संकेत गर्छ’ उनले भने, ‘जिल्लाको दक्षिणी बेल्टमा धेरै मत बदर हुनुमा हतारमा मतदान गर्नु पनि कारण हुनसक्छ, यसपाली निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा चलाए पनि गाउँघरमा स्वयंसेकक नपुगेको जानकारी पनि पायौं, यो पनि बदर मत बढ्नुको प्रमुख कारण रहेको छ ।’
कतिपय मतदान केन्द्रमा मतदाताहरूले मतपत्रमा चिह्नको साटो ल्याप्चे पनि लगाएको जानकारी आएकोले त्यसलाई मतदाता शिक्षाकै कमीका रुपमा लिनुपर्ने उनले बताए ।
अन्य जिल्ला र क्षेत्रको तुलनामा सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा भने प्रत्यक्ष र समानुपातिकतर्फ दुवैमा सबैभन्दा कम मत बदर भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापाका अधिकांश क्षेत्रमा बदर मतको प्रतिशत तुलनात्मक रूपमा कमै देखिएको हो ।
सबैभन्दा कम मत बदर हुने क्षेत्र भने झापा–५ रहेको छ । यहाँ समानुपातिकतर्फ २.७२ प्रतिशत मात्र बदर भएको छ, जुन प्रदेशकै सबैभन्दा कम हो । त्यस्तै प्रत्यक्षतर्फ पनि झापा–५ मै ३.९६ प्रतिशत मात्र बदर भएको छ, जुन अन्य निर्वाचन क्षेत्रको तुलनामा न्यून हो ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved