विराटनगर । विराटनगर क्षेत्रमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा मोरङ प्रहरीले शनिबार साँझ एकैपटक छापा मारेर ३६ जनालाई नियन्त्रणमा लिएको छ ।
विराटनगर–१३, १४ र १५ का विभिन्न स्थानमा सञ्चालित स्पा केन्द्रहरूलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानीको समन्व्यमा ‘स्विप अपरेसन’ सञ्चालन गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अवैध गतिविधि भइरहेको सूचनापछि ती स्पा तथा मसाज सेन्टरहरू लामो समयदेखि निगरानीमा राखिएका थिए ।
सोही सूचनालाई आधार मानेर शनिबार साँझ एकैसाथ कारबाही अघि बढाइएको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा केही स्पा केन्द्रमा यौनजन्य गतिविधिको आशंका प्रहरीको छ । प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिक पनि छन् ।
विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि सञ्चालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सो स्पा आवश्यक अनुमति नलिई सञ्चालन गरिएको थियो भने त्यहाँ कार्यरत कर्मचारीको परिचयपत्रसमेत नबनाइएको भेटिएको छ ।
प्रहरीले किपु स्पाका सञ्चालक सुनसरी बर्जु–१ की ३० वर्षीया नीलमदेवी शर्मा र भारत बिहारको पटना दानापुर निवासी ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको जनाएको छ ।
स्पाबाट नियन्त्रणमा परेकामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी मापदण्डविपरीत सञ्चालन हुने यस्ता संस्थामाथि निगरानी तथा कारबाही निरन्तर जारी रहने प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्पा तथा मसाज सेन्टरहरूमा यौनजन्य गतिविधि हुने गरेको आशंकाका आधारमा आकस्मिक छापा अभियान चलाइएको हो ।
उनले नियन्त्रणमा लिइएकामाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।
View : 224
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved