Biratnagar, Morang, Nepal
५ चैत २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

किताब जल्दा तात्तियो कूटनीति

मनमोहन विश्वविद्यालयमा भएको घटनाले नेपाल–चीन सम्बन्धमा तरंग उत्पन्न भएको छ ।
उद्‌घोष संवाददाता
४ चैत २०८२, बुधवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘सरसफाईका क्रममा’ चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र प्रशासनिक दुवै तहमा गम्भीर तरंग सिर्जना गरेको छ । 

प्रारम्भमा सामान्य सरसफाईका क्रममा भएको भनिएको यो घटना भिडियोसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चीनको उच्च चासोको विषय बनेको हो ।

विश्वविद्यालय परिसरभित्र सफाई कर्मचारीहरूले केही प्रति पुस्तक जलाइरहेको दृश्य बाहिरिएपछि नेपालस्थित चिनियाँ दूतावासले औपचारिक रूपमा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयमार्फत् चासो व्यक्त गरेको छ । 

दूतावासले घटनामा संलग्नमाथि छानबिन गरी आवश्यक कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । 

यो घटनासंगै एउटा शैक्षिक संस्थाभित्र भएको भनिएको ‘आन्तरिक गतिविधि’ अब द्विपक्षीय सम्बन्धसँग जोडिएको संवेदनशील मुद्दामा परिणत भएको छ ।

विश्वविद्यालय प्रशासनले भने यो घटनालाई नियतवश नभई सरसफाईका क्रममा भएको ‘अनपेक्षित घटना’ का रूपमा व्याख्या गरेको छ । 

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलका अनुसार स्टोरमा लामो समयदेखि थन्किएका केही पुस्तक पानीले भिजेको र धमिराले नष्ट गरिसकेको अवस्थामा थिए । 

त्यस क्रममा बिग्रिएका पुस्तकहरू मात्र सफाईका क्रममा जलाइएको बताउँदै उनले कुनै प्रकारको पूर्वाग्रह वा नियतले यस्तो काम नभएको उल्लेख गरेका छन् । उनका अनुसार प्रयोगयोग्य पुस्तकहरू अझै सुरक्षित रूपमा राखिएका छन् । 

मनमोहन विश्वविद्यालय स्थापना हुनुअघि सो स्थानमा पोलिटेक्निक सञ्चालनमा थियो । 

त्यही समयमा मनमोहन स्मृति प्रतिष्ठानमार्फत् विभिन्न संघ–संस्था तथा क्लबहरूमा वितरण गर्नका लागि उक्त पुस्तक ल्याइएको बताइएको छ । वितरणपछि बा“की रहेका केही प्रति स्टोरमा थन्किएका थिए । 

तिनै पुस्तक व्यवस्थापन गर्ने क्रममा यो घटना भएको विश्वविद्यालयको दाबी छ । 

साथै, उक्त कोठामा विद्यार्थीका लागि प्रयोगशाला निर्माण गर्ने तयारी भइरहेका कारण सरसफाई गरिएको पनि प्रशासनले जनाएको छ ।

प्रशासनको यस्तो दाबीबीच घटनाले सरकारी संयन्त्रलाई समेत सक्रिय बनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विश्वविद्यालयलाई २४ घण्टाभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।  

‘घटनाको यथार्थ विवरण अझै स्पष्ट भइसकेको छैन, अनुसन्धान जारी छ’ उनले भने । 

प्रजिअका अनुसार कति पुस्तक जले, ती कस्ता अवस्थाका थिए भन्ने विषयमा आधिकारिक विवरण आउन बाँकी छ ।

गृह मन्त्रालयले पनि घटनालाई गम्भीर रूपमा लिँदै नेपाल प्रहरीलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको छ । 

परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त कूटनीतिक पत्रलाई आधार मानेर गृहले आवश्यक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो । 

यसले घटनालाई अब केवल स्थानीय तहको विषयमा सीमित नराखी राष्ट्रिय सुरक्षा र कूटनीतिक संवेदनशीलतासँग जोडिएको मुद्दाका रूपमा हेर्न थालिएको संकेत गर्छ ।

काठमाडांैस्थित चिनियाँ दूतावासबाट आएको कूटनीतिक पत्रपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई औपचारिकरूपमा पत्राचार गरेको थियो । 

त्यसपछि गृह मन्त्रालयले सम्बन्धित प्रशासन र प्रहरी निकायलाई सक्रिय बनाएको हो । 

स्रोतका अनुसार नेपाल–चीन सम्बन्धमा नकारात्मक असर पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले घटनालाई उच्च प्राथमिकतामा राखेको छ । 

यस्ता घटनाले नियतवश नभए पनि प्रतीकात्मक रूपमा ठूलो अर्थ राख्न सक्ने भन्दै सरकारी संयन्त्र चनाखो बनेका हुन् । 

विशेषतः कुनै विदेशी राष्ट्रप्रमुखसँग सम्बन्धित सामग्री नष्ट भएको सन्दर्भमा त्यसले कूटनीतिक संवेदनशीलता बढाउने सम्भावना रहन्छ । 

त्यसैले तथ्य के हो भन्नेभन्दा पनि त्यसको सन्देश के जान्छ भन्ने पक्ष महत्वपूर्ण बन्ने कुटनीतिक वृत्तका व्यक्तिहरूले बताइरहेका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले घटनालाई अझै जटिल बनाएको छ । 

कतिपयले यसलाई साधारण लापरबाहीभन्दा गम्भीर गल्तीको रूपमा व्याख्या गरेका छन् भने कतिपयले प्रशासनको स्पष्टीकरणलाई नै समर्थन गरेका छन् ।

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved