वि.सं. २०८३ साल वैशाख १८ गते शुक्रबार बिहान ५ बजे हाम्रो टोली पोखरा–जोमसोम हुँदै मुक्तिनाथ दर्शनको अन्तिम बिन्दु पहिल्याउने तयारीमा थियो ।
हाम्रो तेस्रो दिनको तालिका अनुसार पोखराबाट लुम्ले, बागलुङको कालिका मन्दिर र सुनौलो झोलुङ्गे साँघु जाने कार्यक्रम थियो ।
त्यसपछि गलेश्वर शिवालय, म्याग्दी जिल्लाको बेनी नगरपालिका—९ मा रहेको तातोपानी कुण्ड, रूप्से झरना र मार्फा गाउँ हुँदै जोमसोम पुग्ने; अनि वैशाख १९ गते कागबेनीमा पितृ श्राद्ध सिध्याएर मुक्तिनाथ दर्शन गरी पोखरा फर्किने गरी यात्रा तय गरिएको थियो ।
बागलुङ जिल्लाको सदरमुकाम बागलुङ नगरपालिका जोड्ने भूपी शेरचन राजमार्गको लम्बाइ ७२ किमी रहेछ । बागलुङ भगवती कालिका मन्दिरमा दशैँको फूलपातीको दिनदेखि भक्तजनको ठूलो भीड लाग्ने गर्दो रहेछ । यहाँको सुनौलो झोलुङ्गे साँघु (गोल्डेन सस्पेन्सन ब्रिज) ले बागलुङको काठेखोला गाउँपालिका र भीमापोखरालाई जोड्ने गरेको रहेछ ।
सो पुलमाथिबाट कालीगण्डकी नदी बगेको मनमोहक दृश्य देखिँदो रहेछ । पुलभन्दा ४ किमी उत्तरमा रहेको शालिग्राम सङ्ग्रहालय भने हाम्रो यात्रा सूचीमा नपरेका कारण छुटाउनु पर्यो ।
म्याग्दीको बेनी–४ बाट ९ किमी उत्तर कालीगण्डकी किनारमा जमिनमुनिबाट निस्कने पानी ५० डिग्री सेल्सियसको तापक्रममा आउने रहेछ । यस तातोपानी कुण्डमा सात दिनसम्म स्नान गर्नाले हाडजोर्नी, चर्मरोग, ग्यास्ट्रिक, नशा र वाथ रोग निको हुने चर्चा स्थानीय स्तरमा पाइयो । सो ठाउँलाई प्राकृतिक उपचार केन्द्रको रूपमा विकास गर्ने बेनी नगरपालिकाको योजना रहेछ । तर, केही वर्षअगाडि आएको पहिरोले तातोपानी कुण्ड पुरिएकाले हाल पानीलाई ट्याङ्की (ड्वाङ) मा भरी नालाको माध्यमबाट नुहाउने व्यवस्था गरिएको पाइयो । यो तातोपानी कुण्ड विश्वकै एक नमुनाका रूपमा रहेको चर्चा गरिँदो रहेछ ।
बेनी–९ स्थित कालीगण्डकी किनारमा झन्डै नौ रोपनी क्षेत्रफलमा फैलिएको पत्रे चट्टानबाट बनेको एउटै शिलामा गलेश्वर शिवालयको मन्दिर अवस्थित रहेछ ।
भक्तजन, स्वदेशी तथा विदेशी पर्यटकहरू त्यही पत्रे चट्टान (शिला) को प्राकृतिक बनावट हेरेर मुग्ध हुने गरेको पाइयो । धर्मग्रन्थमा देवी सतीको गाला पतन भएकाले यसको नाम गलेश्वर शिवालय रहन गएको कुरा त्यहाँको शिलापत्रमा उल्लेख छ । खासगरी साउन महिनाको प्रत्येक सोमबार, बालाचतुर्दशी र शिवरात्रिका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
पूर्वमा कालीगण्डकी, उत्तरमा मुक्तिनाथ, दक्षिणमा बेनी बजार र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने ‘पुलस्त्य’ आश्रमको बीचमा गलेश्वर शिवालय रहेको देखियो ।
विश्वकै दुर्लभ चक्रशिला (ढुङ्गा) माथि अवस्थित सो मन्दिरको पौराणिक र आधुनिक दुवै दृष्टिकोणबाट ठूलो महत्त्व छ । अर्कोतर्फ, १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका साधुले त्यसै पत्रे चट्टानमा आफ्नो कुटी र मन्दिर निर्माण गरी बसेकाले पनि यसको नाम गलेश्वर शिवालय रहन गएको भन्ने भनाइ छ ।
रूप्से झरना म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ मा पर्दछ । मुस्ताङ जिल्लाको हिमाली क्षेत्रबाट बगेर आउने भिरुङ खोला यसको स्रोत रहेछ । यो झरना झन्डै ३०० मिटर (१००० फिट) तल कालीगण्डकी किनारमा खस्ने हुँदा बेनी–जोमसोम सडक खण्डमा यात्रा गर्ने पर्यटकहरूका लागि यो एउटा मनमोहक र रमणीय दृश्य बनेको छ ।
वर्षायाममा यो ठूलो छाँगाको रूपमा खस्ने भएकाले धेरै पटक यस वरिपरिको संरचना जोखिममा परेको र यसबाट अपेक्षित रूपमा ठूलो लाभ लिन नसकिएको स्थानीय बासिन्दाको भनाइ थियो ।
मुस्ताङको मार्फा नेपालकै एक ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गाउँका रूपमा परिचित छ ।
मार्फालाई ‘स्याउको गाउँ’ (मार्फा एप्पल) भनेर पनि चिनिन्छ । मार्फाको स्याउबाट बनेको जुस, जाम र विशेष गरी ब्रान्डी रक्सी निकै प्रख्यात रहेछ । स्याउलाई चाना बनाई सुकाएर तयार पारिएको सुकुटी (कोसेली) पर्यटकहरूको पहिलो रोजाइमा पर्ने रहेछ ।
शेर्पा भेषभूषा र त्यहाँको घरपालुवा जनावर चौँरीगाई (याक) पर्यटकहरूका लागि मुख्य आकर्षणका केन्द्र हुन् ।
यहाँ चौँरीको पुच्छर (चामर) को राम्रो व्यापार हुने रहेछ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा पर्ने यो ठाउँ थकाली समुदायको मूल थलो हो । याक खोलाको मौलिकता बोकेको यो गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्य हो । मार्फाबाट जोमसोम जम्मा ६ किमीको दूरीमा छ ।
पोखरा—जोमसोम सडकको दूरी १७० किमी रहेछ । मुस्ताङको सदरमुकाम जोमसोम समुद्र सतहबाट २,८०० मिटरको उचाइमा अवस्थित छ ।
जोमसोमबाट दक्षिणतर्फ देखिने धौलागिरि र नीलगिरि हिमाल बिहान घामको झुल्कोमा टल्किएको दृश्यले सबैको ध्यान खिच्दछ ।
हिउँदका महिनाहरूमा यहाँको मौसम अति चिसो भई तापक्रम शून्य डिग्रीभन्दा तल झर्ने गर्दछ । तथापि, यहाँ होम–स्टे, सरकारी कार्यालय र होटलहरू निकै भिडभाडका साथ सञ्चालनमा रहेको देख्न पाइयो ।
वैशाख १८ गते हाम्रो बेलुकाको बसाई निकै रमाइलो गरी बित्यो । जोमसोम बजार पनि घरपझोङ गाउँपालिकामै पर्दो रहेछ । यहाँबाट दैनिकजसो काठमाडौँ–जोमसोम हवाई यातायातको समेत व्यवस्था छ ।
२०८३ वैशाख १९ गते हाम्रो यात्रा कागबेनी हुँदै मुक्तिनाथतर्फ बिहानै सुरु भयो । मुस्ताङ जिल्लाको कागबेनी पितृ कार्य (श्राद्ध, तर्पण, पिण्डदान) का लागि नेपालकै सबैभन्दा पवित्र धार्मिक स्थल मानिन्छ । हिन्दु धर्मशास्त्र अनुसार कागबेनीमा गरिएको पितृ कार्यले दिवङ्गत पितृहरूले मोक्ष पाउँछन् र उनीहरूको उद्धार हुन्छ भन्ने जनविश्वास छ ।
यहाँ हजारौँको सङ्ख्यामा श्रद्धालुहरू श्राद्ध गर्न आउँछन् । यो स्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित छ । मुक्तिनाथबाट बगेर आउने मुक्तिगण्डकी र दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकीको सङ्गम स्थल नै कागबेनी हो ।
कागबेनीमा पिण्डदान गर्दा पितृहरूले जन्म–मृत्युको चक्रबाट मुक्ति पाई सिधै वैकुण्ठवास पाउँछन् भन्ने मान्यता छ ।
पौराणिक कथा अनुसार यहाँ दैवी शक्ति प्रकट भई कागहरू हाँसको रूपमा परिणत भएकाले यस ठाउँलाई ‘हाँस तीर्थ’ समेत भनिन्छ ।
मुक्तिनाथ दर्शन गर्नु अगाडि पितृकार्य गर्नाले उत्तम फल मिल्ने जनविश्वासका कारण भक्तजनहरू पहिले सङ्गम स्थलमा स्नान गरी पितृकार्य गरेर मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् ।
कागबेनी तीर्थ स्थललाई व्यवस्थित गर्न धेरै प्रयास भए पनि बर्खायाममा आउने भेलले संरचना बगाउने भएकाले खोलाकै बगरमा पितृ कार्य गर्नुपर्ने बाध्यता कायमै रहेछ ।
मुक्तिनाथ धाम जोमसोमबाट २६ किमी र पोखराबाट १९६ किमीको दूरी पार गरेपछि पुगिन्छ ।
माथिल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने यो धाम समुद्र सतहबाट ३,७१० मिटरको उचाइमा अवस्थित छ । माथिल्लो मुस्ताङमा पर्ने तीन गाउँपालिकामध्ये दुई वटा (लोमन्थाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिका) को सिमाना तिब्बतसँग जोडिएको छ ।
मुक्तिनाथ धाम हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यहाँ शाक्यमुनि बुद्धको प्रतिमा समेत प्रतिस्थापन गरिएको छ । साविक रानीपौवा गाविसमा रहेको यो पवित्र तीर्थस्थल भगवान् विष्णुलाई समर्पित मन्दिर हो, जसलाई 'मुक्तिक्षेत्र' पनि भनिन्छ ।
मुक्तिनाथ मन्दिरमा पूजा गर्न जानेहरू कागबेनीमा श्राद्ध कार्य सकेर धाममा रहेको १०८ धारामा स्नान गरी शालिग्राम र मन्दिरको दर्शन गर्दछन् ।
यसो गर्दा मोक्ष प्राप्त हुने जनविश्वास छ । यसलाई वैष्णव सम्प्रदायका १०८ दिव्य देशहरूमध्ये एक र भारतबाहिरको एक मात्र धामको रूपमा मानिन्छ ।
यस मन्दिरमा हरेक दिन हजारौँ तीर्थालुहरू आउँछन्, जसमा वृद्धवृद्धा र अशक्तहरू घोडा तथा डोली चढेर मन्दिर परिसरसम्म पुग्छन् ।
यहाँको मौसम छिनछिनमा बदलिने र चिसो हावा चल्ने भएकाले लेक लाग्ने (Altitude Sickness) डर हुन्छ, जसले गर्दा श्रद्धालुहरू मन्दिर परिसरमा धेरै बेर बस्न सक्दैनन् ।
हामीले मुक्तिनाथ र पोखराका रमणीय स्थलहरूको दर्शन पूरा गरेर सोही दिन पोखरा फर्कियौँ र भोलिपल्ट अर्थात् २०८३ वैशाख २० गते राति १ बजे पोखराबाट विराटनगर सकुशल आइपुग्यौँ ।
यस भ्रमणमा सहभागी सम्पूर्ण सहयात्रीहरू प्रति हार्दिक नमन व्यक्त गर्दछु । साथै, हामी सबैलाई यो सुनौलो अवसर दिलाएकोमा मकालु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विराटनगरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । सप्ताहन्त/समाप्त ।
विराटनगर—५
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved