मानगढ खानेपानी निर्वाचन
विराटनगर । विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचन विराटनगर–१ पुष्पलालचोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा हुने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले जनता क्याम्पस भवन परिसरलाई मतदानस्थल तोक्ने निर्णय गरेको हो ।
खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते शनिबार गर्ने यसअघि नै निर्णय भइसकेको छ ।
अध्यक्ष पदका उम्मेदवार, खानेपानीको सेवा क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला पक्षहरू सहभागी भएको बैठकले १० गते विहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निर्वाचन गर्ने निर्णय गरेको जनाइएको छ ।
मतदानका लागि प्रत्येक वडाका मतदाताहरूको छुट्टाछुट्टै मतदान केन्द्र रहने र प्रत्येक केन्द्रमा महिला र पुरूषको छुट्टाछुट्टै लाइन बनाउने निर्णय गरिएको छ ।
६ हजार बढी उपभोक्ता रहेको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा भएको निर्वाचन विवादित बनेर स्थगित भएको थियो । सबै उपभोक्ताले मतदान गर्न नपाएपछि निर्वाचन नै स्थगित हुँदा उपभोक्ताहरूले नै अदालत गुहारेका थिए ।
उच्च अदालत विराटनगरले २०८१ फागुन २६ मा फैसला गर्दै २०८१ जेठ १५ गते विहान ५ बजेसम्म कायम रहेका उम्मेदवार र मतदाता कायम हुने गरी तीन महिनाभित्र पुनः निर्वाचन गराउन आदेश दिएको थियो ।
उच्च अदालतको फैसलाअनुसार २०८२ जेठ २७ गतेभित्र बाध्यकारी रूपमा खानेपानीको निर्वाचन गर्नुपर्ने भएपछि सर्वपक्षीय बैठकले आउँदो जेठ १० गते निर्वाचनको मिति तोकेको हो ।
बुधबार भएको बैठकले प्रत्येक मतदाताका लागि डिजिटल मतदाता परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । उक्त मतदाता परिचयपत्र विराटनगर–३ स्थित खानेपानी आयोजनाको कार्यालयबाट वितरण हुने जनाइएको छ ।
मतदानका लागि संस्थाबाट वितरित डिजिटल मतदाता परिचयपत्र र फोटो सहितको सरकारी परिचयपत्र अनिवार्य गर्ने निर्णय भएको जनाइएको छ ।
View : 264
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved