विराटनगर । जिल्ला समन्वय समिति महासंघ कोशीले समितिका मौजुदा जिम्मेवारीहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्ययोजना अघि सार्ने भएको छ ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले वैशाख २८ र २९ गते तेह्रथुमको वसन्तपुरमा आयोजना हुने विशेष कार्यक्रमका बारेमा जानकारी दिंदै जिल्लाको समग्र विकास र सुशासनमा समन्वयको भूमिकालाई केन्द्रविन्दुमा राख्ने जनाएको हो ।
महासंघले जिल्लास्थित सङ्घीय र प्रादेशिक सरकारी कार्यालय, स्थानीय तह, गैरसरकारी संस्था तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय र विकास निर्माणका कार्यहरूको अनुगमन गर्ने मुख्य जिम्मेवारीलाई जोड दिने जनाएको छ ।
सो प्रक्रियालाई थप वैज्ञानिक बनाउन समितिका कामहरूलाई सुशासन, सामाजिक, आर्थिक, पूर्वाधार र वातावरण गरी पाँचवटा मुख्य सूचकहरूमा वर्गीकरण गरेर छलफल गरिने जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशका अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।
वसन्तपुरदेखि तीनजुरे, गुफापोखरी हुँदै ताप्लेजुङको दोभान जोड्ने सडक खण्डलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने बारेमा समेत तीन जिल्लाका पालिकाका प्रमुख समन्वय समितिका प्रमुखहरूको बीचमा छलफल हुने लामाले बताए । यो सडकले तेह्रथुम, संखुवासभा र ताप्लेजुङ गरी तीन जिल्लालाई प्रत्यक्ष जोड्ने मात्र नभई पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा मेरूदण्डको भूमिका निर्वाह गर्ने भएकोले समन्वय समितिका प्रमुखहरूको बैठकमा यो विषयले प्राथमिकता पाउने लामाको भनाइ छ ।
यो सडकको ट्य्राक खोलिए पनि अझै स्तरोन्नति र सहज आवतजावत हुन सकेको छैन ।
विशेषगरी लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रलाई समेट्ने भएकाले यस मार्गलाई पर्यटन सडकको रूपमा प्राथमिकतामा संघीय सरकारले नै राख्नुपर्ने उनको भनाइ छ ।
यसले कञ्चनजङ्घा पदमार्ग र तमोर करिडोरलाई समेत जोड्ने भएकाले व्यावसायिक र पर्यटकीय दुवै दृष्टिले यसको महत्व उच्च रहेको छ ।
समन्वय समितिका प्रमुखहरूको भेला जिल्लाको सूचना तथा अभिलेख केन्द्रलाई सुदृढ बनाउँदै प्रगति पोर्टल र सुत्र जस्ता डिजिटल प्रणालीहरूको अधिकतम उपयोग गरी अन्तर–सरकारी निकायबीच सूचना आदानप्रदानमा तीव्रता ल्याउने रणनीतिमा समेत केन्द्रित हुने जनाइएको छ ।
जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको दुईदिने कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अध्यक्षहरूसहित महासंघको केन्द्रीय पदाधिकारीहरू सहितको उपस्थिति रहने आयोजकले जनाएको छ ।
समितिको प्रशासनिक र प्राविधिक क्षमता अभिवृद्धिका लागि सूचना प्रविधि र लेखा परीक्षण क्षेत्रका कर्मचारीहरूको व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।
जिल्ला समन्वय समितिलाई केवल आलंकारिक मात्र नभई जिल्लाको विकासको मुख्य सेतुका रूपमा स्थापित गर्न सबै सरोकारवाला निकायहरूबाट नीतिगत र व्यावहारिक सहयोगको अपेक्षा महासंघले राखेको जानकारी दिइएको थियोे ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले अन्तर जिल्ला, अन्तरपालिकाका विषयहरूलाई समस्या समाधान गर्ने सेतुको रूपमा समेत यो भेलामा छलफल हुने बताए ।
पर्यटन प्रवद्र्धनका कुरादेखि राजस्व संकलन रोयल्टी तथा दुई पालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूको समेत छलफल हुने राईको भनाइ छ ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved