विराटनगर । भुजेल समाज सेवा समिति, विराटनगर महानगरपालिका समितिले आफ्नो भाषा, संस्कृति र समुदायको सीपलाई सम्मान गर्दै एक विशेष समारोह सम्पन्न गरेको छ।
शुक्रबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सांस्कृतिक संरक्षण र सामाजिक उत्थानका विविध गतिविधिहरू प्रस्तुत गरिए।
समाजको उत्थानमा योगदान पुर्याउने ५१ जना आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
यसैगरी, समुदायभित्रको कला र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर–६ की प्रतिमा भुजेललाई सिलाई मेसिन प्रदान गरियो। सोही अवसरमा समाजले आगामी २०८३ सालको भित्ते पात्रो समेत विमोचन गरेको छ।
"आफ्नो मौलिक संस्कृतिलाई भुलेर जन्मदिनमा केक काट्ने जस्ता बाह्य चलन बढ्नु चिन्ताको विषय हो," प्रमुख कोइरालाले भन्नुभयो, "भाषा, लिपि र संस्कारलाई जोगाउन वर्षको एक दिन कार्यक्रम गरेर मात्र पुग्दैन, यसलाई दैनिक व्यवहार र चलनचल्तीमा ल्याउनु आवश्यक छ।"
कार्यक्रममा भुजेल संस्कृति र लिपिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलले ऐतिहासिक र पुरातात्विक प्रमाणहरूको संकलनमा सक्रिय हुन समुदायलाई आग्रह गर्नुभयो।
त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ विराटनगरका संयोजक सुरेश सिंह गन्गाईले आदिवासी समुदायका लागि पूजा स्थल र सामुदायिक भवनको अभाव रहेको भन्दै महानगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो।
महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापनरत विजयहरि खतिवडाले यस्ता कार्यक्रमले पुस्तान्तरणमा सहयोग पुग्ने बताउँदै यसलाई जीवनशैलीकै रूपमा अपनाउन सुझाव दिनुभयो।
View : 290
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved