Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

बर्खामा अझै पनि ‘बन्धक’ बन्छ कोशी पहाड

कोशी, तमोर र मेची करिडोरको जोखिमले कोशी पहाडी जिल्लाको यातायात जुनसुकै बेला ठप्प हुने अनिश्चय सधैं कायमै रहने गरेको छ ।
उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । जब मनसुनी प्रक्रिया सक्रिय बनेर पानी लगातार दर्किन थाल्छ, कोशी प्रदेशको पहाडी क्षेत्र अझै पनि बन्धक जस्तै बन्छ । शनिबार मात्रै कोशी प्रदेशका चार पहाडी जिल्ला प्रशासन कार्यालयहरूले एकै प्रकृतिको सूचना जारी गर्दै राति सवारी साधन नचलाउन निर्देशन दिए । 

धनकुटा, खोटाङ, पाँचथर र इलामले जारी गरेको सूचनाभित्रको समस्या कोशी पहाडका लागि प्रत्येक बर्खामा दोहोरिने सकस हो । 

अविरल वर्षाका कारण पहिरोको उच्च जोखिम र बाढीसँगै यातायात ठप्प हुने अवस्थाले कोशी पहाडमा प्रत्येक बर्खामा जनजीवन पूर्ण रूपमा प्रभावित हुने गरेको छ । 

यसरी कोशीका पहाडी जिल्लाहरू हरेक वर्ष मनसुन आउनासाथ ‘बन्धक’ बन्ने निरन्तरको प्रक्रिया हो । 

‘केही घन्टा मज्जाले झरी दर्कियो भने इलामसहित कोशी पहाड जोखिमको मुखैमा पुग्ने गर्छ, यो दशकौंदेखि चल्दै आएको प्रक्रिया जस्तो भएको छ,’ विपद व्यवस्थापनको क्षेत्रमा सक्रिय रहेका इलामका रेडक्रसकर्मी भक्तबहादुर खत्रीले भने ‘यसपालि साउन लाग्दै गर्दा सम्ममा ६–७ पटक बाटो छेकिने, पहिरो खसेर केहीको ज्यान लिने घटना भइसक्यो ।’

इलाममा मात्रै होइन, धनकुटामा पनि यस्तै समस्या छ । जिल्ला प्रशासन कार्यालयका अनुसार  शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोरअन्तर्गत मुलघाटदेखि पाँचथर सिमानासम्म तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको सूचना जारी भयो । 

खोटाङमा पनि मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र जिल्लाका अन्य सहायक सडकहरूमा आपतकालीन सवारीबाहेक सबै रोकिएका छन् । 

पाँचथर र इलाममा मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल राजमार्गलगायत मुख्य तथा भित्री सडकहरू पूर्ण रूपमा बन्द गरिएका छन् । 

प्रशासनहरूले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न, खोला–खहरे तथा नदी आसपासका बस्ती र पहिरोको उच्च जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । 

सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । 

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना रहेको औंल्याएपछि यो पूर्वसतर्कता अपनाइएको जिल्ला प्रशासनहरुको सूचनामा उल्लेख छ । 

कोशी पहाडको लाइफलाइन मानिने मेची राजमार्ग हरेक बर्खामा संकटको सबैभन्दा ठूलो कारण बन्दै आएको छ ।

खासगरी इलामको राजदुवाली खण्डमा सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध हुने क्रम बर्खामा पटकपटक दोहोरिन्छ ।

माई खोलासँग जोडिएको यो क्षेत्रमा बर्सेनि माटो भासिने मुख्य समस्या हो । 

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई भन्छन्, ‘मर्मतका प्रयासहरू जारी छन् तर वर्षाको पानीले गर्दा खण्डलाई सञ्चालनमा ल्याउन सधैं कठिन हुन्छ ।’ 

केही समयअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गरेर तत्काल निर्माणको निर्देशन दिए । तर, अहिले पनि सडकको अवस्था जस्ताको तस्तै छ । 

यसले पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका हजारौं बासिन्दाको जनजीवन कतिबेला ठप्प पारिदिने हो कुनै टुंगो हुन्न । 

बिरामीहरूलाई अस्पताल पु¥याउन निकै कठिनाइ हुने गरेको र दैनिक उपभोग्य सामग्रीको अभाव चुलिने खतरा सधैं उस्तै रहने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेल बताउँछन् ।

‘पहाडी क्षेत्रमा खाद्यान्न, पेट्रोलियम पदार्थ र एलपी ग्यासको ढुवानी सबै तराईबाट हुने हो, बाटो जुनसुकै बेला ठप्प हुनसक्छ । त्यसले उपभोग्य सामान रोकिदा बजार सधैं त्रासमा रहनुपर्छ,’ पौडेलले भने । 

झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटार जोड्ने मेची राजमार्ग वर्षायाममा समस्याग्रस्त बन्ने प्रक्रिया हरेक बर्खामा किन दोहोरिन्छ ? के यसको स्थायी समाधान खोज्ने उपाय छैन ? इलाम रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो पहाडी जिल्लाहरुको यातायात तथा सडक सुरक्षाका लागि गर्नुपर्ने आधारभूत काम नै हुन नसक्दा यस्तो अवस्था हरेक वर्ष दोहोरिने गरेको छ ।

‘जोखिम अध्ययन गर्ने, त्यसको सुरक्षाका लागि बेलैमा पर्याप्त तयारी थाल्ने अनि वैकल्पिक उपायहरुमा पनि लगानी गर्न राज्य अग्रसर बन्नुपर्ने हो,’ उनले भने ‘तर, बर्खा सकिनासाथ यहाँको समस्या भुल्ने र फेरि अर्को बर्खाले पहाडलाई बन्धक बनाउँदा मात्रै सम्झने कमजोरीले सास्ती कहिल्यै नसकिने अवस्था आएको छ ।’ 

मेची राजमार्गकै कुरा गर्दा विगतमा पाँचथरको पांग्रे्रेभिर, रमिते र हेवा खोला पुलका कारण सास्ती खेप्नुपरेको थियो भने पछिल्ला वर्षहरूमा राजदुवाली मुख्य समस्या बनेको छ ।

वैकल्पिक मार्ग तिलकेनी–सिमल गोलाई अत्यन्त कच्ची छ, जहाँ फोर ह्विल ड्राइभ जिप वा पिकअपले मात्र कष्टपूर्ण यात्रा गर्न सकिन्छ । 

जोगमाई खोलाको डाइभर्सन पानी पर्नासाथ बग्ने गरेको र भारतबाट बेलिब्रिज उपलब्ध नहुँदा पुल निर्माणमा ढिलाइ भएको छ । 

त्यस्तै तमोर करिडोरको नावा लगायतका खण्डमा पुल नहुँदा ठूलो वर्षा हुनासाथ यातायात ठप्प हुने गरेको छ । 

कोशी प्रदेशका पहाडी जिल्लाहरु धनकुटा, खोटाङ, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा भौगोलिक रूपमा अत्यन्त संवेदनशील छन् । हिमालबाट सुरु भएर तराईसम्म फैलिएको यो क्षेत्रमा खोला–नदीको घना सन्जाल छन् ।

खुला भीर–भञ्ज्याङ र कमजोर चट्टानी संरचनाले पहिरोको जोखिम सधैं उच्च हुने गरेको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गठन गरेको विपद् अध्ययन कार्यदलले औंल्याए अनुसार मनसुनको मुसलधारे वर्षाले माटो कमजोर हुँदा ढिस्को खस्ने, ठूला पहिरो जाने र सडक भासिने घटना सामान्य बन्ने गर्छन् । 

पाँचथरमा ३ हजार ५४० घरधुरी पहिरोको उच्च जोखिममा छन् भने इलाममा १ हजार २४३ घरधुरी प्रभावित छन् । 

खोटाङ, धनकुटा र भोजपुरमा पनि सयौं घरधुरी यो खतरा झेलिरहेका छन् । विगत एक दशकमा कोशी प्रदेशमा ११ हजार ९३७ प्राकृतिक विपद्का घटनाहरूमा १ हजार २८ जनाले ज्यान गुमाएका छन् र ७३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । 

२०८१ असोजमा अविरल वर्षाले कोशी प्रदेशमा चार अर्ब ६३ करोडभन्दा बढीको भौतिक संरचना क्षति पु¥याएको थियो । इलाममा त्यो वर्ष ३७ जनाको मृत्यु भयो भने सयौं परिवार विस्थापित भए । २०८२ मा इलाममा मात्र ११ अर्बभन्दा बढीको क्षति भएको थियो । 

सडक र पुलमा २ अर्बभन्दा बढी, खानेपानीमा करोडौं र कृषिमा ३४ करोडको क्षति  भएको थियो । रोङका अध्यक्ष स्याङ्बोका अनुसार बर्खामा पहिरो र बाढीले यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, औषधि र इन्धन ढुवानी रोकिन्छ । पर्यटन क्षेत्र प्रभावित हुन्छ ।

धनकुटाको भेडेटार, इलामको कन्याम, पाँचथरका पर्यटकीय स्थलहरूमा पुग्ने पर्यटक अलपत्र पर्छन् ।

किसानहरूको मेहनत बगेर जान्छ । बालीनाली नष्ट हुन्छ । स्थानीय अर्थतन्त्र मात्र होइन, समग्र प्रदेशको विकास गतिविधि प्रभावित हुन्छ ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनले वर्षाको ढाँचा परिवर्तन गरेको छ । 

छोटो समयमा मुसलधारे वर्षा बढेको छ भने भूकम्पपछि कमजोर बनेको भूसंरचना, अनियन्त्रित विकास, जथाभावी सडक निर्माण र वन फँडानीले जोखिम थपेको छ । हिमताल विस्फोटको खतरा पनि कोशीमा उच्च छ । 

झरीकै कारण पहाडी जिल्लाहरु बन्धक बन्ने अवस्था आइरहेका बेला हिमताल विष्फोटको जोखिम पनि थपिने अवस्था आए अवस्था भयावह बन्ने विपद् विज्ञ रामकुमार दाहालको भनाइ छ ।

‘पहिरो नियन्त्रणका लागि बायो–इन्जिनियरिङ (घाँस, बृक्षारोपण), रिटेनिङ वाल, ड्रेनेज प्रणाली सुधार, जोखिमयुक्त बस्ती स्थानान्तरण, वास्तविक समयको मौसम पूर्वानुमान र चेतावनी प्रणाली मजबुत बनाउनुपर्छ,’ उनले भने ‘सडक निर्माणमा भू–प्राविधिक अध्ययन अनिवार्य गर्नुपर्छ । स्थानीय समुदायलाई विपद् व्यवस्थापन तालिम दिनु र पूर्व तयारी बढाउनु जरुरी छ ।’

View : 42

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved