Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

यस्तो छ शेख हसिनालाई सत्ताच्यूत गराउने बंगलादेशको विद्यार्थी आन्दोलनको अन्तर्य

उद्‌घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

प्रधानमन्त्री शेख हसिना र उनको सरकार विरुद्ध हालैको देशमा मारिएका पीडितहरूलाई न्यायको माग गर्दै प्रदर्शनकारीहरूले आगो लगाएको शपिंग सेन्टरको छेउमा दौडिरहेका पुरुषहरू । तस्वीर: एपी/रासस

विराटनगर । सार्क सदस्य राष्ट्र बंगलादेशमा विद्यार्थी आन्दोलनको बलमै शेख हसिनाको डेढ दशक लामो शासनसत्ता ढलेको छ । हसिना सोमबार पदबाट राजीनामा दिँदै भारततिर आश्रय लिन गएको  दाबी गरिएको छ । सन् २००९ देखि निरन्तर सत्तामा रहेकी हसिनामाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो ।

उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् । गत जनवरीमा भएको चुनाव विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टीले बहिस्कार नै गरेको थियो ।

अहिले आरक्षण विरूद्धको प्रदर्शनमा पनि प्रदर्शनकारीको आवाज नसुनि बल प्रयोग गर्दै जाँदा उग्र रूप लिएको हो। हालसम्म ३०० जनाले ज्यान गुमाएको प्रदर्शनमा आइतबार एकैदिन ९१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बंगलादेशमा पछिल्लो समय चर्केको प्रदर्शनको मुख्य कारण त्यहाँको आरक्षण सम्बन्धि व्यवस्था हो । 

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सैनिकका सन्ततीहरूलाई जागिरमा ३० प्रतिशत आरक्षण दिने नीति ल्याएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए ।

जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले पनि सरकारको पक्षमा फैसला गरेपछि आन्दोलन चर्किँदै हिंसात्मक बनेको थियो ।

जुलाई तेस्रो साता उच्चको आदेश उल्ट्याउँदै बंगलादेशको सर्वोच्च अदालतले ३० प्रतिशतको आरक्षणलाई ५ प्रतिशत  बनाउन आदेश गरेको थियो ।

त्यस्तै एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत अपांगता भएका वा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका रूपमा पहिचान गर्नेहरूका लागि छुट्याउन पनि आदेश दिएको थियो ।

९३ प्रतिशत भने मेरिटको आधारमा बनाउन आदेश दिइएको हो ।

सर्वोच्चले नै सरकारको निर्णयमा ब्रेक लगाइदिएपछि विद्यार्थीहरूलाई आन्दोलन फिर्ता लिन भनिएको थियो ।

आन्दोलनकारीलाई घर फर्किन भनेपनि  २०० जना भन्दा बढीको मृत्यु भइसकेको  थियो । सयौं घाइते र त्यही हाराहारीमा पक्राउ पनि परेका थिए ।

विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग  राख्दै आन्दोलनलाई निरन्तरता दिए ।

विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन् ।

सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए ।

उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान समेत गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्दै गएको  छ । 

उनीहरुको आन्दोलनमा अहिले विपक्षी दलसहित भुतपूर्व सैनिकहरू र नागरिकहरू पनि जोडिएका छन् । 

(विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा तयार पारिएको सामग्री)

View : 297

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved