Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

सीसीक्यामरा जडानको प्रभाव

विराटनगरको पञ्चमुखी क्षेत्रबाट चार दिनमै चोरीमा संलग्न ५ पक्राउ

उद्‌घोष संवाददाता
३ वैशाख २०८३, बिहिवार

Advertisement

विराटनगरको पञ्चमुखी चोक क्षेत्रमा सीसीक्यामरा जडान गरिएसँगै सुरक्षा व्यवस्थामा उल्लेख्य सुधार आएको छ। पञ्चमुखी युवा समाजको सक्रियतामा जडान गरिएको सीसीक्यामराको सहायताले पछिल्लो चार दिनको अवधिमा मात्रै चोरी कार्यमा संलग्न ५ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ परेकाहरूको साथबाट चोरी भएका चार थान मोबाइल सेट, एक थान साइकल, एक थान ग्यास सिलिन्डर, एउटा कुखुराको भाले र ढक–तराजु समेत बरामद गरिएको छ।

पञ्चमुखी युवा समाजले आइतबार  (चैत २९ गते)  एक समारोहबीच चोक वरपरका १८ स्थानमा सीसीक्यामरा जडान गरी सेवा सुचारु गरेको थियो। उक्त सीसीटीभी प्रणालीको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए।

समाजका अध्यक्ष लाक्पा लामा ‘म्याकुरी’ का अनुसार सीसीक्यामरा जडान भएपछि चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न सहज भएको हो।

ती क्यामराहरूको मुख्य स्क्रिन बखरी प्रहरी चौकीमा राखिएको छ, जहाँबाट प्रहरीले चौबिसै घण्टा निगरानी गरिरहेको छ।

जडान गरिएका क्यामराहरू छोटो समयमै प्रभावकारी देखिएपछि अब यसलाई थप विस्तार गर्ने योजना बनाइएको छ।

अध्यक्ष लामाले विराटनगर वडा नं ११ र १२ का गरी कुल ५५ स्थानमा सीसीक्यामरा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए। सीसीक्यामराको प्रयोगले पञ्चमुखी क्षेत्रका  स्थानीयले सुरक्षित महसुस गरेको स्थानीय राजनीतिकर्मी रामसुन्दर राजवंशीले बताएका छन्।

View : 640

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved