झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले झापाका हात्ती प्रभावित क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेको छ ।
अभियानका क्रममा सन्देश लिएर सशस्त्र प्रहरीको गस्तीले हात्ती प्रभावित क्षेत्रमा निगरानी बढाएको हो ।
हात्तीको आवतजावत बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले सुरक्षा सतर्कता बढाउनुका साथै स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।
दशैंको बेला स्थानीय चाड मनाउन व्यस्त रहेका बेला सशस्त्र प्रहरीले भने हात्ती प्रभावित क्षेत्रमा गस्ती र जनचेतनामूलक गतिविधिलाई तीव्रता दिएको २ नम्बर गणले जनाएको छ ।
सशस्त्र प्रहरीले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन र हात्ती प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
चाडपर्वमा मानिसको चहलपहल बढ्ने तथा बिहान, बेलुका र रातिको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई दृष्टिगत गर्दै गाउँगाउँमा माइकिङमार्फत सचेत गराइएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिए ।
पाकेको धानबाली जोगाउने चिन्तामा रहेका किसानलाई हात्तीसँग जम्काभेट भए नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न र सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको उनले जानकारी दिए ।
गाउँमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल गर्न र उनीहरूलाई घरबाहिर एक्लै हिडडुल गर्न नदिन पनि सशस्त्रले आग्रह गरेको छ ।
झापाका भारतीय सीमावर्ति क्षेत्रमा भारतबाट आउने हात्तीको बथानले बर्सेनि धनजनको क्षति गर्दै आएकाले हात्तीको जोखिम कम गर्न यस्तो अभियान चलाइएको सशस्त्रले जनाएको छ ।
हात्तीको आवतजावत र सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जानकारी दिए ।
उनका अनुसार हात्तीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसगै स्थानीय बासिन्दालाई सचेत गराउने कामलाई निरन्तरता दिइएको छ ।
सशस्त्र प्रहरीले घर, गोठ तथा आगनवरिपरि हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, रातको समयमा घरआसपास उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न पनि अनुरोध गरेको छ ।
हात्ती प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणसँग समन्वय गर्दै सूचना आदानप्रदान तथा जनचेतनामूलक गतिविधि सञ्चालन भइरहेको गणले जनाएको छ ।
हात्ती गाउँमा प्रवेश गरेको देखिएमा वा कुनै समस्या परेमा तत्काल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउनसमेत सशस्त्र प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved