Biratnagar, Morang, Nepal
११ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

डिजे र उच्च ध्वनि रोक्ने पहलको थालनी

उद्‌घोष संवाददाता
११ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवमा प्रयोग हुने डिजे र लाउडस्पिकरको ध्वनिका कारण सामाजिक बिबाद भएर मानिसको ज्यानसम्म गएकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।

समाजका बिभिन्न क्षेत्रका अगुवाहरुले अनावश्यक ध्वनी प्रदुषणलाई व्यवस्थित बनाउन संवाद, स्पष्ट नियमन र स्थानीय सरकार तथा नागरिक समाजबीचको सहकार्य हुनुपर्ने बताए । 

विराटनगरमा मंगलबार पुरक एसिया काठमाडौले गरेको संवाद कार्यक्रममा धर्मका नाममा हुने उच्च ध्वनी रोक्न तिनै तहका सरकार सक्रिय हुनुपर्ने बताइयो ।

‘ध्वनि, सहअस्तित्व र स्थानीय शासन ः तनाव रोकथामका लागि संवाद पहल’ कार्यक्रममा गत साउनमा सुनसरीमा दुई समुदायका बीच झडप भएपछि गोली चल्दा चार जनाको ज्यान जानुको मुख्य कारण डिजे नै भएको बताइयो । 

डिजेको चर्को ध्वनीका कारण मानिसको हृदयघातसम्म भएको घटनाका बारेमा कार्यक्रममा जानकारी दिइयो ।

लेखक तथा समालोचक चन्द्रकिशोरले ध्वनि व्यवस्थापनलाई वातावरणीय वा प्राविधिक विषयमा मात्र सीमित नराखी स्थानीय शासन, नागरिक अधिकार, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता र सामाजिक सहअस्तित्वसंग जोडेर हेर्नुपर्ने बताए । 

धार्मिक तथा सांस्कृतिक उत्सव सामुदायिक जीवनका महत्वपूर्ण हिस्सा भए पनि ध्वनि उपकरणको अनियन्त्रित प्रयोगले विभिन्न समुदायबीच असमझदारी र विवाद उत्पन्न गर्न सक्ने भएकाले यसको व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको सुझाव छ ।

अत्यधिक र अनियन्त्रित ध्वनिका कारण सार्वजनिक स्वास्थ्य, सामाजिक सम्बन्ध र सामुदायिक सद्भावमा असर पर्न सक्ने भन्दै प्राध्यापक कृष्ण पोखरेलले ध्वनिसम्बन्धी विवादलाई समयमै संवाद र समन्वयमार्फत समाधान गर्नुपर्ने आवश्यकता आंैल्याए । 

जेनजी अभियन्ता लक्ष्मी घिमिरे, इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेललगायतले धर्मका नाममा प्रयोग हुने उच्च ध्वनी रोक्ने अभियानमा आफूहरु सहभागी हुने बताए ।

प्राडा भेषप्रसाद धमला, बुद्धिजीवी दिनेश श्रेष्ठ, पत्रकार यज्ञ शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, एनजीओ फेडेरेशन मोरङका अध्यक्ष विष्णु शर्मालगायतले धर्म भन्दा अरुको अधिकारलाई ध्यान दिएर संस्कार, संस्कृतिलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । 

सार्वजनिक स्थानमा डिजे, लाउडस्पिकर तथा अन्य उच्च क्षमताका ध्वनि उपकरणको प्रयोगलाई व्यवस्थित गर्न स्थानीय सरकार, नागरिक समाज, धार्मिक तथा सांस्कृतिक क्षेत्रका संघ संस्था, सञ्चार क्षेत्रबीच सहकार्य हुनु पर्ने उनीहरुको भनाइ छ । 

स्थानीय तहको नियमन तथा कार्यान्वयन क्षमता सुदृढ गर्नु, विभिन्न सरोकारवालाबीच विश्वास र समझदारी अभिवृद्धि गर्नु तथा ध्वनिसम्बन्धी विवादलाई सामुदायिक तनावमा परिणत हुन नदिन व्यावहारिक उपाय पहिचान गर्ने उद्देश्यले विराटनगर, राजविराज, जनकपुर र विरगञ्जमा यस्तो संवाद कार्यक्रम चलाइएको आयोजकले जनाएको छ ।

ध्वनि व्यवस्थापनका क्रममा नागरिकको स्वास्थ्य र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षणसगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने स्वतन्त्रतालाई समेत सम्मान गर्नुपर्ने आवश्यकता देखिएको छ । 

त्यसका लागि स्पष्ट मापदण्ड, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच नियमित संवाद महत्वपूर्ण हुने आयोजकले जनाएको छ ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved