आँप कि विष बिक्री ?
विराटनगर । विराटनगर–१० की सीता निरौलाले केही दिनअघि बजारबाट दुई केजी आँप किनेर घर ल्याइन् । गर्मी मौसममा आँप खानु उनका लागि सामान्य कुरा थियो । परिवारसँगै बसेर उनले पनि एउटा आँप खाइन् । तर केही समय नबित्दै उनको घाँटी खसखस हुँदै पेट दुख्न थाल्यो ।
‘पहिले त सामान्य होला भन्ने लाग्यो, तर वान्ता र पेट दुखाइ बढ्दै गएपछि अस्पताल नै जानुपर्यो,’ उनले भनिन् ।
चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाको परीक्षण गरे । अन्य कुनै विशेष कारण नदेखिएपछि उनले खाएको आँप नै समस्या निम्त्याउने सम्भावित कारणका रूपमा हेरियो ।
सीताको घटना एउटा उदाहरण मात्र हो । गर्मीयाम सुरु भएसँगै बजारमा विषादी वा रासायनिक पदार्थ प्रयोग गरेर पकाइएका आँपबारे चिन्ता बढ्न थालेको छ ।
फलफूलका राजा मानिने आँप स्वाद, सुगन्ध र पोषणका दृष्टिले उत्कृष्ट मानिन्छ । भिटामिन ए, सी, फाइबर र विभिन्न ‘एन्टिअक्सिडेन्ट’ ले भरिपूर्ण आँप स्वास्थ्यका लागि लाभदायक छ । तर यही आँप कृत्रिम रसायन प्रयोग गरेर पकाइएपछि स्वास्थ्यका लागि जोखिमपूर्ण बन्न सक्ने विशेषज्ञहरू चेतावनी दिन्छन् ।
विशेषगरी क्याल्सियम कार्बाइड र इथेफोनजस्ता पदार्थ प्रयोग गरेर आँप पकाउने गरेका पाइन्छ । यस्ता आँप बाहिरबाट हेर्दा पाकेको देखिए पनि भित्र भने फल पूर्ण रूपमा विकसित भएको हुँदैन ।
विराटनगरस्थित कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्का कृत्रिम रूपमा पकाइएका फलफूलले तत्काल र दीर्घकालीन दुवै प्रकारका समस्याहरू निम्त्याउन सक्ने खतरा औंल्याउँछन् ।
उनी भन्छन्, ‘यस्तो फल सेवन गरेपछि पेट दुख्ने–पोल्ने, वान्ता हुने, झाडापखाला लाग्नेजस्ता समस्या तत्काल देखिन सक्छ । संवेदनशील व्यक्तिहरूमा एलर्जी तथा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन सक्छ ।’
उनका अनुसार आँपमात्र होइन जनुसुकै प्रकारका अधिक कार्बोनाइटेड वस्तुको सेवनले स्वास्थ्यलाई गम्भीर नोक्सानी पुर्याउँछ ।
प्यांक्रियाज अर्थात अग्न्याशयले राम्रोसँग काम नगर्दा इन्सुलिन उत्पादन कम हुनसक्ने उल्लेख गर्दै डा. खड्का यसैका कारण रगतमा चिनी (ग्लुकोज) को मात्रा बढेर मधुमेह (डायबिटिज) हुने वा सुगर नियन्त्रण बाहिर जाने समस्या देखिन सक्ने बताउँछन् ।
उनका अनुसार नियमित रूपमा रसायनयुक्त फलफूल सेवन गर्दा शरीरका महत्वपूर्ण अंगहरू प्रभावित हुन सक्छन् ।
‘कृत्रिम रूपमा पकाउन प्रयोग गरिने केही रसायनमा आर्सेनिक र फस्फोरसका अंश हुन सक्छन् । लामो समयसम्म यस्ता पदार्थ शरीरमा जम्मा हुँदा कलेजो, मिर्गौला तथा स्नायु प्रणालीमा असर पर्ने सम्भावना रहन्छ,’ उनले भने ।
डा. खड्काले आँपझै अहिले बजारमा देखिएका इनर्जी ड्रिङको सेवनले पनि भयावह समस्या ल्याउन सक्ने बताए ।
उनका अनुसार उपभोक्ताले आँप मात्र होइन, अन्य फलफूल खरिद गर्दा पनि स्रोत र गुणस्तरबारे सचेत हुन आवश्यक छ । इनर्जी ड्रिङको सेवनमा अझ बढी सचेत हुनुपर्ने उनको सुझाव छ ।
विशेषज्ञहरूका अनुसार, प्राकृतिक रूपमा पाकेको आँपमा हरियो, पहेंलो र सुनौलो रङ मिसिएको हुन्छ । रसायन प्रयोग गरेर पकाइएको आँप भने प्रायः एकनासे चम्किलो पहेंलो देखिन्छ ।
यस्ता आँप काट्दा बाहिर पहेंलो भए पनि भित्रको भाग कडा, फिका वा काँचो हुन सक्छ । रुखमै पाकेको आँपबाट मीठो सुगन्ध आउँछ । कृत्रिम रूपमा पकाइएका आँपमा सुगन्ध कम वा अस्वाभाविक हुन सक्छ ।
प्राकृतिक आँप रसिलो र गुलियो हुन्छ । कृत्रिम रूपमा पकाइएको आँपमा स्वाद फिका वा अमिलो हुन सक्छ ।
प्राकृतिक र कृत्रिम रुपमा कसरी आँप पकाइएको हो, शतप्रतिशत निश्चित रूपमा छुट्याउन प्रयोगशाला परीक्षण नै आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।
केही संकेतले उपभोक्तालाई सचेत बनाउन सके पनि विषादी प्रयोग भए नभएको थाहा पाउन प्रयोगशालाकै भर पर्नुपर्ने उनीहरूको भनाइ छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा प्रमुख पुष्पलाल राई कार्यालयले आँपलगायतको फलफूल परीक्षण नियमित गरिरहेको बताउँछन् ।
कार्यालयले भर्खरैमात्र इटहरी र विराटनगरमा आँपको नमूना परीक्षण गरेको उल्लेख गर्दै उनले भने, ‘परीक्षण गर्दा विषादीको मात्रा तोकिएभन्दा माथि गएको पाएनौं ।’
नेपालमा आँप उत्पादनको प्रमुख केन्द्रका रुपमा मधेश प्रदेश मानिन्छ । यो प्रदेशले मात्र देशको कुल उत्पादनको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने अनुमान छ ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा मुख्य उत्पादन जिल्ला हुन् । कोशी प्रदेशमा भने सुनसरी, मोरङ, झापा र उदयपुरका तराई क्षेत्रहरूमा आँप उत्पादन हुन्छ ।
नेपालमा वार्षिक करिब ३.५ देखि ५ लाख मेट्रिक टन आँप उत्पादन हुने एक अनौपचारिक अभिलेखमा देखिन्छ । जसमा मधेश प्रदेशको योगदान सबैभन्दा ठूलो छ ।
यहाँ उत्पादन भएको आँपको अधिकांश हिस्सा काठमाडौं उपत्यका, पोखरा, चितवन, विराटनगर, इटहरी, वीरगञ्ज र जनकपुरजस्ता शहरहरूमा खपत हुने गर्छ ।
किसानदेखि संकलक, ठूला व्यापारी हुँदै खुद्रा बजारसम्म पुग्ने लामो आपूर्ति श्रृंखलामा गुणस्तर नियन्त्रण कमजोर हुँदा समस्या देखिने गरेको विज्ञहरूको भनाइ छ ।
कृषि तथा खाद्य विज्ञहरूका अनुसार किसानहरूले प्रायः बगैंचामा प्राकृतिक रूपमा नै आँप उत्पादन गर्छन् । रोग नियन्त्रणका लागि मात्र कृषि औषधि प्रयोग गर्छन् ।
तर समस्या प्रायः बजारमा ढुवानीपछि देखिने कृत्रिम पकाउने अभ्याससँग जोडिएको विज्ञहरूको भनाइ छ ।
छिटो बिक्री र आकर्षक देखाउनका लागि केही व्यापारीहरूले क्याल्सियम कार्बाइड, इथेफोनजस्ता रसायन प्रयोग गरेर काँचो आँपलाई छिट्टै पहेंलो बनाउने प्रवृत्ति बजारमा देखिएको छ ।
खाद्य प्रविधि विज्ञहरू केही सामान्य सावधानीले भने यसबाट हुने जोखिम केही हदसम्म कम गर्न सकिने बताउँछन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा प्रमुख तथा खाद्य प्रबिधि विज्ञ पुष्पलाल राई बजारबाट ल्याएको आँप सफा पानीले राम्ररी धोएर मात्र खान सुझाव दिन्छन् ।
उनका अनुसार, बजारबाट किनेर ल्याएको आँप नुनपानी वा भिगेनर पानीमा केही समय भिजाएर धुँदा सतहमा रहेका रासायनिक अवशेष कम हुन्छ ।
उपभोक्ता अधिकारकर्मीहरू बजारमा आउने सिजनल फलफूलको गुणस्तर परीक्षण र अनुगमन प्रभावकारी हुनुपर्नेमा जोड दिन्छन् । उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली गर्मीयाममा आँप, केरालगायतका फलफूलमा कृत्रिम पकाउने रसायन प्रयोग हुने सम्भावना बढी हुने भएकाले सरकारी निकायले नियमित अनुगमन गर्नुपर्ने बताउँछन् ।
उनी माछामासु, फलफूल लगायत हाटबजारको अनुगमन गर्ने क्षेत्राधिकार स्थानीय तहको भएकाले यसका लागि नगर तथा गाउँपालिका सक्रिय हुनुपर्ने बताउँछन् ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved